रियल मड्रिडले युभेन्टसलाई हरायो, रोनाल्डोले खेलेनन्

नयाँ सिजनको तयारीमा रहेको युरोपेली च्याम्पियन रियल मड्रिडले इटालीयन च्याम्पियन युभेन्टसलाई हराएको छ ।

अमेरिकाको मेरिल्याण्डमा रहेको फेडएक्स फिल्ड रंगशालमा आइतबार बिहान भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गतको खेलमा रियल मड्रिडले युभेन्टसलाई ३–१ ले हराएको हो ।

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोडेर युभेन्टस गएपछि दुई क्लबबिच भएको यो पहिलो खेल हो । यसमा नतिजा रियल मड्रिडको पक्षमा गयो ।

तर यो खेलमा रोनाल्डो खेलेका थिएनन् । ११२ मिलियन युरोमा रियल मड्रिडबाट गएका ३३ वर्षे रोनाल्डोको युभेन्टसबाट पहिलो खेल सिरी ए को उद्घाटन खेल हुनेछ ।

मेरिल्याण्डमा भएको खेलमा १२ औँ मिनेटमा डानी कारभाहालले आत्मघाती गोल गरेपछि युभेन्टसले सुरुवाति अग्रता लिएको थियो । तर ३९ औँ मिनेटमा ग्यारेथ बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा रियल मड्रिडले थप दुई गर्‍यो । ४७ औँ मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै अग्रता दिलाए । एसेन्सिओले नै ५६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिडले ३–१ को जित निश्चित गरेको हो ।

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्