दुई बुँदे माग राख्दै सरकारलाई अल्टिमेटम

प्रदेश २ का समाजिक परिचालकहरु आन्दोलित

जनकपुरधाम-सामाजिक परिचालकहरुले दुई बुँदे माग पुरा गर्न प्रदेश नं. २ सरकारलाई पाँच दिने अल्टिमेटम दिएका छन्।

नेपाल सामासिजक परिचालक कर्मचारी संघ प्रदेश नं. २ ले जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश २ सरकारलाई दुई बुँदे माग अघि सार्दै पाँच दिन भित्र पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।

लामो समयसम्म जनताको सेवा गरेपनि गत असारबाट प्रदेश नं. २ का ८ सय ५४ जना सामाजिक परिचालकलाई नेपाल सरकारले कामबाट निकालेको भन्दै उनीहरु पाँचदिन भित्र प्रदेश सरकारले माग पुरा नगरे आफुहरु कडा संघर्षमा उत्रिने चेतावनी दिएका हुन्।

नेपाल सरकारको पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्ने लगायतका दुई बुँदे माग सामाजिक परिचालकहरुको छ।

लामो समय सामाजिक परिचालकमा कार्यरत्त आफुहरुलाई सरकारले कामबाट हटाउँदा उमेर हद लगायतका विभिन्न कारण रोजगारी पाउन समेत असम्भव भएकाले माग सम्बोधन नभए सडक संघर्ष लगायतको चरणबद्ध आन्दोलनको कर्यक्रम घोषणा गर्ने समाजिक परिचालक कर्मचारीसंघ प्रदेश २ का
अध्यक्ष शिवशंकर मेहताले चेतावनी दिएका छन्।

यता, सप्तरीका एक समाजिक परिचालक अविनाश आर्दश मिश्रले भने,‘बिगत ८ बर्षमा हामीहरु सरकारको निर्देशन अनुरुप राष्ट्रको निर्धारित अधिकारबाट बञ्चित रहेका समुदाय, दलित, जनजाति, मुस्लिम, महिला, बालबबालिकालाई तत्कालिन प्रतिनिधि विहिन रहेको निकायमा अधिकार दिलाउन सफल भयौँ।’ तर, अहिले आएर त्यही समाजिक परिचालकको अवस्था बारे बुझ्न सरकारले आलटाल गरि रहेको उनको भनाई छ।

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्