‘ट्रेकिंङ ट्रेल’ मा टिप्पणी: ‘चार पाङ्ग्रा गुड्ने बाटोमा के दुई खुटाले हिड्नु ?’

काठमाडौँ- सडक सञ्जालसँग मनाङ जोडिएपछि त्यहाँ पर्यटकको संख्या बढ्नु पर्ने हो। तर स्थानीयको अनुभवमा मनाङ सडकसँग जोडिएपछि विदेशी पर्यटकको संख्या घट्दो क्रममा छ।

‘ट्रेकिंङ ट्रेल’ बाटै सडकका ‘ट्रयाक’ खुल्दा पदयात्राका लागि मनाङ पुग्ने पर्यटकको संख्यामा गिरावट आएको स्थानिय बताउँछन्।

‘पर्यटक हिड्ने बाटो बाटै सडक बन्यो’, नेस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले भने, ‘धुलो उडाउँदै गाडी गुड्दा पर्यटकलाई हिड्न अहसज भएको छ। विगतमा सडक चाहिन्छ भन्ने मात्रै सोचियो, अहिले ‘ट्रेकिंङ ट्रेल’बाटै सडक बनेर गल्ती भयो कि भन्‍ने लागेको छ।’

‘योजना बनाउनेले पनि ‘ट्रेकिङ ट्रेल’बाटै सडक बन्दा पर्यटनमा पर्ने असर बारे सोचेनन्। बाटो पुर्‍याउने मात्रै सोचियो जसले गर्दा पुराना पुराना ‘ट्रेकिङ ट्रेल’हरु बिग्रेका छन्।’

७ बर्षअघि लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जाल सँग जोडिएपछी १६–१७ दिनको मनाङ/मुस्ताङको ट्रेकिङ ६–७ दिनमा छोट्टिएको छ।

बेसीसहर चामे सडकखण्डमा गाडी चलाउने चालक अनिल गुरुङ विगतमा बेसिशहरबाट ट्रेकिङ सुरु गर्ने पर्यटकहरुले आज भोलि चामेसम्मै गाडीमा जाने गरेको बताए।

‘‘ट्रेकिङ रुट’ मा सडक बन्यो पहिले जस्तो हिडन् रमाइलो नै हुँदैन। चार पाङ्ग्रा गुड्ने बाटोमा के दुई खुटाले हिड्नु भनेर पर्यटक गुनासो गर्छन’, गुरुङले भने।’

राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालय मनाङ गाउँका अनुसार पछिल्ला वर्षमा मनाङ पुग्ने विदेशी पर्यटक बढ्न नसके पनि आन्तरिक पर्यटकको वृद्धि उच्च रहेको छ।

मनाङ जिल्लामा नाशोङ्ग‌, चामे, नार फू र नेस्याङ गरी चार गाउँपालिका रहेको छन्। हाल मनाङका धेरै ठाउँमा कच्चि सडक बनिसकेमा छन्। यस्तै केही ठाउँमा ट्रयाक खोल्ने काम पनि भइरहेको स्थानीय बताउँछन्।

अध्ययन नगरी ‘ट्रेकिङ रुट’बाटै सडक बनाउँदा मनाङको ट्रेकिङ पर्यटनमा नकारात्मक असर परेको छ।

मनाङमा ट्रेकिङ ट्रेलबाटै गाडी गुडेपछि शान्त वातावरणमा ‘ट्रेकिङ’ गर्न रुचाउने विदेशी पर्यटक मनास्लु तर्फ जाने गरेको स्थानीय जिमी गुरुङले जानकारी दिए।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय सरकारले ‘ट्रेकिङ’ क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गरिरहेको दाबि गर्छन् । सडक पुगेपछि धेरै ठाउँहरुका ‘ट्रेकिङ रुट’मा असर परेको स्वीकार गर्दै उनले भने, ‘हाललाई ‘ग्रेट हिमालयन ट्रेल’को व्यवस्थापनको जिम्मा नेपाल पर्यटन बोर्डलाई दिएका छौँ।

‘अब ‘ट्रेकिङ रुट’हरुमा एउटै मापदण्ड कायम गर्दै देश भरका ‘ट्रेकिङ ट्रेल’ व्यवस्थापनको जिम्मेवारी पर्यटन बोर्डबाट दिने मन्त्रालय योजना छ।’

सडकका सम्बन्धमा मनाङ उपल्लो पिसाङका होटल व्यवसायी लालु गुरुङको फरक छ। उनी भन्छन्, ‘स्वास्थ्य सेवाको लागि सुबिधा सम्पन्न अस्पताल, बालबालिका लागि गुणस्तरीय र व्यवस्थित विद्यालय त्यसैगरी नियमित एयरपोर्ट संचालन हुने हो भने मनाङमा सडक आवश्यक नै छैन।’

गुरुङले भने, ‘सडक बनाउनु नै थियो भने पनि ‘ट्रेकिङ ट्रेल’बाट नभएर अन्यत्रबाट बनाउनु पर्दथ्यो। शान्त र रमणीय वातावरणको खोजीमा पर्यटक मनाङ पुग्ने गर्दछन्। यदि मनाङमा पनि अन्यत्र जस्तै यहाँ पनि गाडीको धुलो धुँवा भयो भने पर्यटक किन मनाङ आउने?’

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले ग्रामिण पर्यटन, दिगो  पर्यटन, स्थानीय श्रोत साधनको उपयोग, ईको पर्यटन, सहभागी मुलक पर्यटन लगायतका विषयमा कयौँ उत्कृष्ट कागजी योजना बनाएको छ । तर, योजना कार्यान्वयनमा एक्याप र राष्ट्रिय प्रकृति संरक्षण कोष, पर्यटन मन्त्रालय उदासिन छन्।

मनाङका प्राय होटल र रेष्टुरेन्ट खाजामा चाउचाउ, चिया बिस्कुट दिने गर्छन। स्थानीय उत्पादन र परिकार पर्यटकलाई बिक्रि गर्ने भनेर लेखिएका योजना योजनामै सीमित छन्।

व्यापार गर्नेले कमाउने  तर स्थानीयलाई प्रत्यक्ष लाभ नहुने हो भने कुनै दिन स्थानीयले पर्यटकलाई अवरोध गर्ने अवस्था पनि आउन सक्ने नेस्याङ गाउँपालिका वार्ड नम्बर ६ का वडाअध्यक्ष सोनाम गुरुङ बताउँछन्।

‘ढल र पानी व्यवस्थापनमा चुनौती छ, उनले भने,  ‘हाम्रो जोड होटलहरुले स्थानिय उत्पादन प्रयोग गर्नु पर्छ भन्नेमा छ।’

पर्यटन मन्त्रालयका प्रवक्ता उपाध्याय, स्थानीय जनतालाई लाभ होस् भनेर नै राज्यले होमस्टेलाई प्रमोट गर्न खोजेको बनाउँछन्। स्थानीय संस्कृति र सम्पदाको संरक्षण बिना दिगो पर्यटनको लक्ष्य आत्मसात गर्न सकिदैन।  उपाध्यायले भने, ‘त्यसैले सरकारले स्थानीय श्रोतको संरक्षणलाई प्राथमिकतामा दिएको छ।’

जर्मनबाट ‘एक्याप ट्रेकिङ’को लागि आएका एक पर्यटकलाई उद्दृत  गर्दै गरुङले भने, ‘यहाँको प्राकृतिक सुन्दरताले हामीलाई हिड्न लोभ्याउँछ । स्थानीयको सुविधाको लागि सडक आवश्यक होला तर सडक’बाटै ‘ट्रेकिङ’ गर्न रमाइलो हुदैन।मनाङका धेरै होटलहरुमा स्थानीय परिकार खोज्दा पाइन्‍न । हामीहरु स्थानीय परिकार खान चाहन्छौँ।’

स्थानीय मुन्जीमा करीब २० वर्षदेखि होटल सञ्चालन गर्दै आएका मुखिया घलेले स्थानीय परिकारहरुको प्रयोग घट्नु बारे भन्छन्, ‘स्थानीय परिकार बनाउन समय धेरै लाग्छ त्यसैगरी सबैसँग स्थानीय परिकार बनाउने सिप पनि हुदैन । यहाँ स्थानीयको संख्या घट्दो छ। होटलमा काम गर्न अन्यत्रबाट मानिसहरु आएका हुन्छन्। अनि कसरी स्थानीय परिकार बन्छन्?’

नेस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले मनाङको उत्पादन पर्यटकका लागि प्रर्याप्त नहुने भएकाले पनि सबै ठाउँमा स्थानीय परिकार नपाएको हुन् सक्ने बताउँछन्। उनले भने, यहाँ एक सिजन मात्र खेति हुन्छ, हिउँदमा पुरै हिउँले नै ढाकेको हुन्छ। एक सिजनको उत्पादनले बाह्रै महिना नपुग्ने हुँदा पनि स्थानीय परिकार नपाएको हुन सक्छ।’

गाउँपालिकाले हरेक रेस्टुरेन्टमा स्थानीय परिकारको मेन्यू कसरी राख्‍न सकिन्छ भनेर अध्ययन गर्ने घलेले बताए।  नेपाल सरकारको आन्तरिक पर्यटन पवर्द्धन गर्ने नीतिले मनाङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ।

नेपाली पर्यटकको गन्तव्य संसारको उचाईमा रहेको तिलिचो ताल हुने गरेको स्थानीय बताउँछन्। मनाङमै संसारको दोश्रो उच्च स्थानमा रहेको आईस लेक (किचो ताल) पनि रहेको छ तर पर्यटनलाई आईस लेकबारे जानकारी छैन।

गाउँपालिका अध्यक्ष घलेले पर्यटन विकास र व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताए। उनले भने, ‘गत आर्थिक वर्षमा तिलिचो ताल जाने ‘ट्रेकिङ ट्रेल’का हिमपहिरो आउने जोखिम भएका क्षेत्रमा सुधार गरेका थियौ। यस वर्ष, मनाङको कला र संस्कृति संरक्षणको लागि पनि बजेट छुट्याएका छौँ।’

मनाङको ट्रेकिङ ट्रेलमा मात्रै नभएर देशमा धेरै ट्रेकिङ ट्रेलकम सडकमा ट्रयाक खोलिएको पर्यटन मन्त्रालयकै अधिकारी बताए।  एक अधिकारीले भने, ‘बाटो पुगे पर्यटक बढ्छन् भनियो। तर नेपालको पर्यटनको प्रोडक्ट नै ट्रेकिङ हो भन्‍ने बुझिएन। सडक विभागले पनि सर्भै गर्न सजिलो ठाउँ रोज्यो। न पर्यटन मनत्रालयले रोक्यो न स्थानीयले। अहिले धेरैलाई ट्रेकिङ ट्रेलबाट सडक ट्रयाक बनाएकोमा पछुतो छ। ‘

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्