जापानको हिरोसिमामा बम हमलाको ७३ वर्ष

टोकियो- जापानको हिरोसिमा शहरमा आजभन्दा ७३ वर्षअघि दोस्रो विश्वयुद्धका क्रममा विश्वमै पहिलो पटक भएको आणविक बम हमलाको सोमबार स्मरण गरिँदैछ।

सोमबार बिहान हिरोसिमा शहरमा घण्टा बजेर उक्त नरसंहारको स्मरण गरिएको थियो । जापानभर आज उक्त नरसंहारको स्मरण गरिएको छ ।

हिरोसिमामा सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले गरेको आणविक बम आक्रमणबाट भएको नरसंहारको स्मरण गर्न हिरोसिमामा रहेको शान्तिपार्कमा हजारौँ नागरिक जम्मा भएका थिए।

सन् १९४५ मा आजकै दिन बिहान अमेरिकी सैनिकको एक युद्धक विमानले बी–२९ नामको आणविक बम जापानको बन्दरगाह शहर हिरोसिमामा खसालेको थियो।

त्यस बमको असरबाट कम्तीमा पनि १ लाख ४० हजार हिरोसिमाबासी नागरिकको ज्यान गएको थियो। बमको असरले अरु हजारौँ व्यक्ति नराम्ररी प्रभावित भएका थिए।

सोमबार बिहान हिरोसिमा शान्ति पार्कमा उक्त नगरका नगर प्रमुख काजुमी मात्सुइ वार्षिक समारोहमा उभिए आणविक अस्त्र बिनाको विश्वको लागि विश्व समुदायसँगै अपिल गरे।

संसारका देशहरुमा बढ्दो राष्ट्रियतावादको नारा आणविक अस्त्र विनाको विश्वको लागि एक चुनौती बन्दै गएको बताए।

कुनै पनि देशको नाम नलिई उनले भने, ‘विश्वका कतिपय देशहरुले आत्मकेन्द्रित रुपमा नै राष्ट्रियतावादको नारा दिएका छन् र यसको संरक्षणका लागि भन्दै आणविक अस्त्रहरुको आधुनिकीकरण गरिरहेका छन्।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस्ता आणविक अस्त्रहरुको बृद्धि गर्ने कुरा गरेको एक वर्षपछि हिरोसिमाका नगर प्रमुख मात्सुइले विश्वबाटै यस्ता हतियारहरुको उन्मूलन गर्न आग्रह गरेका हुन्।

उनले भने, ‘आणविक अस्त्र उन्मूलन गर्ने प्रयासहरुलाई निरन्तरता दिइनैपर्छ। यस्ता हतियारहरु निर्माण नगर्ने र त्यस्ता देशलाई पनि सहयोग नगर्ने जापान सरकारको नीति छ ।

दोस्रो विश्वयुद्धको उत्तरार्धतिर अमेरिका र जापानबीच युद्ध भएको थियो। त्यस क्रममा अमेरिकाले जापानको हिरोसिमामा अगष्ट ६ र नागासाकीमा अगष्ट ९ मा अणु बम हानेको थियो।

नागासाकीमा गरिएको सो हमलाबाट ७४ हजार जापानी नागरिकको ज्यान गएको थियो। अरु हजारौँ नागरिकमा यस बमको प्रभावले स्वास्थ्यमा नकारात्मक प्रभाव परेको थियो।

हिरोसिमामा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन। उनी उक्त शहरमा सन् २०१६ को मे महिनामा पगेका थिए।

साउन २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्