इरानलाई बाध्य पार्ने ट्रम्पको चाह

गाडी तथा सुनसहितका बहुमूल्य धातुमा लाग्दै छ प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लगाइएका नयाँ प्रतिबन्ध पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् । सन् २०१५ मा इरानको परमाणु कार्यक्रमका सम्बन्धमा अमेरिकासहितका देशबिच सम्झौता भएको थियो ।

तर त्यो सम्झौताबाट अमेरिका अलग भएको राष्ट्रपति ट्रम्पले घोषणा यसअघि नै गरिसकेका छन् । सम्झौताबाट अलग भएको घोषणासँगै ट्रम्प प्रशासनले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ।

अमेरिकाले इरानको अटोमोबाइल क्षेत्र तथा सुन तथा बहुमूल्य धातुको व्यापारमा पनि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध नेपाली समय अनुसार मंगलबार बिहान पौने १० बजेदेखि लागु हुनेछ ।

सन् २०१५ मा भएको सम्झौता अनुसार इरानले परमाणु कार्याक्रम सीमित गर्दै लैजाने तथा अमेरिकासहितका देशले उसमाथिको प्रतिबन्ध फुकाउँदै जानु पर्ने थियो ।

तर ट्रम्प प्रशासनले इरानले सम्झौता अनुसार परमाणु कार्यक्रम सीमित नगरेको भन्दै बाहिरिने घोषणा गरेको हो । तत्कालीन राष्ट्रपति बाराक ओबामाको पहलमा भएको सम्झौताबाट ट्रम्पले अमेरिकालाई अलग्याएका हुन् ।

नयाँ प्रतिबन्धले इरानलाई नयाँ सम्झौताका लागि बाध्य पार्ने ट्रम्पको भनाई छ । यसले अरुलाई नोक्सान पुग्ने खालको इरानी गतिविधि पनि रोकिने ट्रम्पले दाबी गरेका छन् ।

तर इरानका राष्ट्रपति हसन रुहानले अमेरिकाको कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिएका छन् । रुहानीले अमेरिकासँग तत्काल वार्ताको सम्भावना नरहेको पनि सष्ट पारेका छन् ।

आफूहरु कूटनीति र वार्ताको पक्षमा रहे पनि तत्काल त्यसको सम्भावना नरहेको र वार्ताको सम्भावनाका लागि प्रभावकारी इमानदारिताको खाँचो पर्ने रुहानीले बताएका छन् ।

हप्तादिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कुनै पनि बेला इरानका नेतासँग भेट्न तयार रहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै पनि पूर्व शर्त वा अवस्था बिना तथा इरानले चाहेको बेलामा आफू भेटवार्ताका लागि तयार रहेको बताएका थिए ।

ट्रम्प प्रशासनले इरानमाथि लगाएको प्रतिबन्धको बेलायत, फ्रान्स, चीन, रुस तथा जर्मनीले विरोध गर्दै आएका छन् । सन् २०१५ को परमाणु सम्झौतामा अमेरिका तथा इरानसँगै यी देशले पनि हस्ताक्षर गरेका थिए ।

साउन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्