जलवायु परिवर्तन

पृथ्वी ‘हटहाउस’ बन्ने खतरा : प्राकृतिक मित्र शक्ति नै शत्रु बन्न सक्छन्

जलवायु परिवर्तनका कारण अहिले भइरहेको तापक्रम वृद्धि तीब्र गतिमा नियन्त्रणमा लिन नसकिए पृथ्वीका त्यस्ता प्राकृतिक शक्ति जसले अहिले मानवसहित प्राणीको रक्षा गरिरहेका छन् तिनीहरु नै गम्भीर खतरा बन्ने वैज्ञानिकले बताएका छन् ।

अहिलेकै अवस्था रहने हो भने पृथ्वी चाँडै नै ‘हटआउस अर्थ’ बन्ने अनुसन्धानकर्ताले बताएका छन् । तापक्रम बढ्दै जाने र समुद्रको सतह पनि उच्च हुँदै जाने खतरा उच्च रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौता अनुसार देशहरुले कार्बनडाइअक्साइडको उत्सर्जन कम गर्न सफल भए पनि केही दशकमा पृथ्वी ‘हटहाउस अर्थ’ बन्ने जोखिम रहेको अनुसन्धानले देखाएको छ ।

विश्वको तापक्रम दुई डिग्री सेन्टिग्रेडले बढेमा हामी बस्दै आएको ग्रह (पृथ्वी) हटहाउस अर्थ बन्ने खतरा रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेजका लागि जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गरिरहेका अन्तर्राष्ट्रिय वैज्ञानिकको समूहले तयार पारेको अनुसन्धानात्मक जर्नलमा अहिले तोकिए भन्दा पनि तीब्र गतिमा कार्बन उत्सजर्न कम नगरिएमा केही दशक भित्रै पृथ्वीको तापक्रम मानवसहितका प्राणीले थेग्न नसक्ने गरी बढ्ने उल्लेख गरिएको छ ।

बढ्दो तापक्रमसँगै अहिले मानव तथा प्राणीको मित्र रहेका केही प्राकृतिक शक्तिहरु शत्रु बन्दै जाने अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हरेक वर्ष पृथ्वीको जंगल, समुद्र तथा जमिनबाट ४.५ बिलियन टन कार्बन लिने गरेको छ । यो कार्बन यसरी जंगल, समुद्र र जमिनमा बिलय नभएको भए हाम्रो वायुमण्डलको ताक्रम बढ्ने थियो ।

तर विश्वले तापक्रमण वृद्धिको अनुभव गरिरहेका बेला प्राकृतिक स्रोतमा बिलय भएको यो कार्बन पुनः कार्बन उत्सजर्नको स्रोत बन्ने र यसले जलवायु परिवर्तनलाई थप गम्भीर बनाउने खतरा रहेको वैज्ञानिकले बताएका छन् ।

तापक्रम बढ्दै गएकाले अमेजन रेन फरेस्टसहितका प्राकृतिक स्रोत जसले अहिले कार्बन लिइरहेका छन् उनीहरुले कार्बन उत्सार्जन गर्ने सम्भावना रहेको वैज्ञानिकले बताए ।

सन् २०१५ यता विश्व समुदाय तापक्रम वृद्धि दुई डिग्री सेन्टिग्रेड भन्दा कम गर्न प्रतिबद्ध रहेका छन् । उनीहरुले यसलाई १.५ डिग्रीमा सीमित गर्ने प्रयास पनि गरिरहेका छन् । यसका लागि काबर्न उत्सर्जन कम गर्न लागेका छन् । तर अहिलेको प्रयास मात्रै काफी नहुने वैज्ञानिकले बताएका हुन् ।

अनुसन्धान प्रतिवेदनका लेखक तथा स्टकहोम रिसाइलेन्स सेन्टरका प्राध्यापक जोन रकस्ट्रोमले भने, ‘यदी तापक्रम वृद्धि २ डिग्री पुग्यो भने पृथ्वीको कन्ट्रोल मेकानिजममा हाम्रो पकड रहने छैन ।’

अहिले पृथ्वीको तापक्रम वृद्धि झण्डै एक डिग्री रहेको छ र यो हरेक दशकमा ०.१७ डिग्रीका दरले बढ्दै गएको छ ।

साउन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्