यौन सम्बन्ध र स्वास्थ्य

खतरनाक बन्न सक्ने यौन रोग एमजी : लक्षण र जोगिने उपाय

माइकोप्लाज्मा जेनिटालियम अर्थात एमजी, ब्याक्टेरियाको एक प्रकार–जसका कारण यौनजन्य संक्रमक रोग लाग्न सक्छ । एमजी पछिल्लो समय विश्वव्यापी स्वास्थ्य खतरा बन्ने क्रममा रहेको स्वास्थ्य विशेषज्ञले बताएका छन् ।

एमजी ब्याक्टेरिया रहेको व्यक्तिसँग यौन सम्बन्ध कायम गर्दा मात्रै होइन यौनजन्य छुवाई तथा घर्षणबाट पनि संक्रमण फैलिन सक्ने स्वास्थ्य विशेषज्ञले बताएका छन् ।

यो ब्याक्टेरियाका बारेमा वैज्ञानिकले सन् १९८० को दशकमा थाहा पाएका हुन् । तर पछिल्लो समय भएको अनुसन्धानबाट १०० मा एक वयश्कमा यो ब्याक्टेरिया रहेको देखिएको छ । अहिले नै यसको रोकथामका लागि थ्यान नदिइएमा एमजी ‘सुपरबग’ अर्थात चाँडै फैलिने संक्रामक ब्याक्टेरिया साबित हुने खतरा छ ।

सामान्य रुपमा एमजीको सुरुवाति लक्षण हुँदैनन् । तर यसका कारण महिला तथा पुरुषको यौन अंगमा संक्रमण हुन सक्छ । यसले महिलामा बाँझोपन पनि ल्याउन सक्छ । तर पुरुषका कारण हुने बाँझोपनमा एमजीको सम्बन्ध कस्तो छ भन्ने बारे वैज्ञानिक स्पष्ट हुन सकेका छैनन् ।

सुरुवाति लक्षण सजिलै थाहा नहुने भएकाले यसको उपचारमा पनि मुश्किल हुने गरेको छ । उपचार सही तरिकाले नभएमा एन्टिबायोटिकले पनि काम नगर्ने खतरा हुने स्वास्थ्य विज्ञले बताएका छन् ।

एमजी : पुरुष र महिलामा


माइकोप्लाज्मा जेनिटालियम, एमजी एक प्रकारको ब्याक्टेरिया हो, जसका कारण पुरुषको मुत्र नलीमा संक्रमण भइ सुन्निने हुन्छ । यसका कारण लिंगमा रक्तश्राव हुने तथा पिसाब गर्ने बेला पीडा हुन्छ ।

महिलामा यौन अंग (गर्भाशय र फेलोपियन ट्युब) मा एमजीका कारण सुन्निने हुन्छ । यसले गर्दा पीडा हुने, रक्तश्राव हुने तथा ज्वरो पनि आउन सक्छ । समयमै उपचार गर्न नसकेमा बाँझोपनको कारण पनि बन्न सक्छ ।

महिलामा यौन सम्बन्धका बेला वा त्यसपछि योनीबाट रक्तश्राव हुने, महिनावारी भन्दा पहिले नै रक्तश्राव हुने तथा तल्लोपेटको ठिक्क मुनि दुख्ने हुन सक्छ ।

एमजीका कारण क्लमेडिया जस्ता अरु यौन रोग लाग्ने खतरा पनि रहन्छ ।

उपचार


एमजीका लागि हालै केही परीक्षणहरु हुने गरेका छन् तर सबै अस्पतालमा यो सेवा उपलब्ध छैन । विशेष गरी एमजीकै लागि भने आधिकारिक वा सर्वमान्य परीक्षण स्थापित हुन बाँकी नै छ ।

तर आफूमा एमजी रहेको शंका लागेमा डाक्टरको सल्लाहमा न्युक्लिक एसिड एमप्लिफिकेसन टेस्ट, एनएएटी गर्न सकिन्छ । यसका लागि पिसाबको नमुना दिनु पर्छ । यस्तै यौन अंगको क्षेत्रबाट केही नमूना पनि लिन सक्छन् ।

एमजीको उपचारका लागि औषधि तथा एन्टिबायोटिकले काम गर्ने गरेका छन् । तर समयमै उपचार नभएमा एन्टिबायोटिकको प्रभाव नदेखिने गरेको छ ।

यसको उपचारका लागि प्रयोग गरिने एन्टिबायोटिक म्याक्रोलिड्सको प्रभाव घट्दै गएको देखिएको छ । यस्तै यसका लागि पेनिसिलिन जस्ता एन्टिबायोटिक पनि प्रयोग गरिन्छ ।

यौन सम्पर्कका बेला कण्डमको प्रयोगले एमजीको संक्रमणको जोखिम कम गर्ने डाक्टरले बताएका छन् । तर शतप्रतिशत रोक्छ भन्न सकिने अवस्था भने नरहेको डाक्टरले बताएका छन् ।

आफूमा एमजीको संक्रमण रहेको थाहा भएमा उपचार सुरु गर्ने र उपचार सुरु गरेको सात दिनसम्म यौन सम्बन्ध कायम नगर्न सुझाव दिइएको छ । यसले गर्दा आफ्नो यौन साथीमा संक्रमण फैलिँदैन ।

– बेव एमडी र बिबिसीको सहयोगमा

साउन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू