छताछुल्ल भयो जुट मिलको विवाद

लामो समयदेखि बन्द हुँदै खुल्दै आएको विराटनगर जुट मिल्सको विवाद छताछुल्ल भएको छ। जुट मिल्सको अध्यक्षका लागि दुई पक्षबीचको लडाइ मङ्गलबार सतहमा आएको हो।

मिल्सको सञ्चालन समितिको अध्यक्ष पदमा मङ्गलबार मुकुन्द नेपालले आफ्नो दाबी गरेसँगै विवाद बाहिर आएको हो। यसअघ गत बुधबार अध्यक्ष पदमा बसन्त वनले आफ्नो दावेदारीसहित पत्रकार सम्मेलन गरेका थिए। साथै नेपालको पक्षमा यतिबेला समितिका सदस्य फुलकुमार लालवानीले वनको पदीय हैसियत नभएको आरोप लगाएका छन्।

पत्रकार सम्मेलनका क्रममा लालवानीले आइतबारदेखि वन समिति अध्यक्ष पदमा नरहेको दाबी गरे। यद्यपि वन पक्षधरले समितिमा जालसाजी र किर्ते कार्य गरिरहेको आरोप लगाए।

सञ्चारकर्मी माझ नेपाल पक्षधरले हाल मिल्समा सरकारको शेयर ६८ प्रतिशत कायम भइनसकेको स्पस्ट पारेका छन्। यसअघि अध्यक्षका दाबी गरिरहेका वनले भने सरकारको पक्षमा सो शेयर भएको बताएका थिए।

वनको यस दाबीप्रति अचम्भित रहेको बताउँदै सदस्य लालवानीले भने, ‘सरकारको शेयर अझै ४८ प्रतिशत बाँकी छ।’

सञ्चारकर्मी भेलाका क्रममा मिल्सका पूर्वअध्यक्ष निलहरि काफ्लेको पनि सहभागिता थियो।

साउन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्