करुणानिधिको निधन र तमिलनाडु राजनीति

एक नेताको निधन र अन्त्येष्टि स्थलबारे विवाद : अदालतले गर्नेछ फैसला

भारतीय राजनीतिमा लामो समय प्रभावशाली व्यक्तिको रुपमा रहेका तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डिएमके पार्टीका अध्यक्ष एम करुणानिधिको मंगलबार बेलुका चेन्नईको एक अस्पतालमा निधन भयो ।

उनको ९४ वर्षको उमेरका निधन भएको हो । उनको नेपाली समय अनुसार मंगलबार बेलुका ६ बजे २५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।

करुणानिधिको निधनसँगै उनको अन्तिम संस्कारलाई लिएर विवाद सुरु भएको छ । करुणानिधिको शवलाई नजलाईने र चिहानमा गाडिने पक्का भएको छ । तर कहाँ भन्ने तय भएको छैन ।

जयललिताको पार्थिव शरीर पनि गाडिएको थियो । तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनका बेला उनको दाह संस्कार नगरेर किन गाडियो भन्ने कुरा उठेको थियो । तर करुनानिधिको पार्थिव शरीर गाड्ने विषयमा विवाद नभए पनि कहाँ गाड्ने भन्ने बारेमा भने विवाद भएको छ ।

अदालतमा पुग्यो विषय


करुणानिधिको पार्थिव शरीर मरीना बिचमा गाड्ने तयारी छ । तर अहिले तमिलनाडुको सत्तामा रहेको एआईएडिएमके सरकारले भने त्यहाँ करुणानिधिको पार्थिव शरीर गाड्नका लागि अनुमति दिएको छैन ।

यो मुद्दा तमिलनाडु उच्च अदालतमा पुगेको छ । मंगलबार राति उच्च अदालतका मुख्य न्यायाधीशको घरमा सुनुवाई सुरु भयो । राति अबेससम्म सुनुवाई भएपछि बुधबार बिहानसम्मका लागि स्थगित भएको छ । अदालतले राज्य सरकारसँग करुणानिधिको पार्थिव शरीर मरीना बिचमा गाड्न नदिनुको कारण मागेको छ ।

तमिलनाडुका वरिष्ठ राजनीतिज्ञको पार्थिव शरीर गाडिएको मरीना बिचमा करुणानिधिका लागि पनि ठाउँ मिल्नु पर्ने डिएमकेको भनाई छ । तर प्रदेशमा रहेको एआईएडिएमके सरकारले यसमा अवरोध सिर्जना गरेको छ ।

डिएमकेले सरकारको विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो । बेलुका अदालतमा मुद्दा दायर भयो, अबेर राति मुख्य न्यायाधीशको घरमै सुनुवाई सुरु भयो ।

२८ जुलाईमा स्वास्थ्यमा समस्या देखिएपछि करुणानिधिलाई अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार बेलुका निधन भएपछि पार्थिव शरीर गोपालपुरममा रहेको घर लगिएको छ ।

बुधबार उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राजाजी हालमा राखिनेछ । डिएमकेका कार्यकारी अध्यक्ष तथा करुणानिधिका छोरा एमके स्टालिनले आफ्नो बुवाको नाममा एक भावुक पत्र ट्वीट गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले हजुरलाई पिता भन्दा बढी एक नेताको रुपमा बोलाएको छु । अब एकपटक, मेरा श्रद्धेय नेता के म हजुरलाई पिता भनेर बोलाउन सक्छु ।’

करुणानिधिको शव मरीना बिचमा गाड्न नहुने भन्दै अपिल दायर गरेका वलिक एक दुराईसामीले आफ्नो अपिल फिर्ता लिने बताएका छन् । आफ्नो अपिललाई यो सन्दर्भमा गलत तरिकाले पेश गरिएको उनको भनाई छ ।

करुणानिधिको पार्थिव शरीर मरीना बिचमा गाड्ने अनुमति दिन डिएमकेले तमिलनाडु सरकारसँग अनुरोध पनि गरेको थियो । तर प्रदेश सरकारले बयान जारी गर्दै अस्वीकार गरेको छ ।

सरकारले मरीना बिचबाट ८ किलोमिटर पर रहेको अन्ना विश्वविद्यालयको अगाडि करुणानिधिको सामाधिका लागि ठाउँ दिने बताएको छ । तर डिएमके भने अन्ना दुरैको समाधिस्थलको नजिकै करुणानिधिको पनि समाधिस्थल होस् भन्ने चाहन्छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले करुणानिधिको अन्त्येष्टि मरीना बिचमा हुनुपर्ने कुरामा समर्थन गरेका छन् । यस्तै अभिनेता रजनीकान्तले पनि करुणानिधिको निधनमा दुःख व्यक्त गर्दै मरीना बिचमा अन्त्येष्टिका लागि ठाउँ दिन आग्रह गरेका छन् ।

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्