सेफ्टी ट्यांकी खोल्ने क्रममा एकको मृत्यु, निस्सासिएर दुई जना बेहोस

जनकपुरधाम- धनुषामा निर्माण हुँदै गरेको सेफ्टी ट्यांकी खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु भएको छ भने दुईजना सिकिस्त भएका छन् ।

धनुषाको विदेह नगरपालिका ६ स्थित तीनकौरियामा स्थानीय रामशोभित महतोको घरमा सेफ्टी ट्यांकी खोल्ने क्रममा स्थानीय राजमिस्त्री ३० वर्षका दिनेश चौधरीको निस्सासिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा स्थानीय शुभनारायण दास र फुलगेन दास निस्सासिएर सिकिस्त भएका छन् । प्रहरीका अनुसार शुभनारायणको उपचार जनकपुर अञ्चल अस्पताल र फुलगेनको उपचार धनुषा अस्पतालमा भइरहेको छ ।

तीनकौरिया प्रहरीचोकीका अनुसार मंगलबार बिहान दिनेश चौधरी सेफ्टी ट्यांकी खोल्न भित्र पस्दा निस्सासिएर सिकिस्त भएपछि उनको उद्धारका लागि शुभनारायण र फुलगेन पालैपालो छिरेका थिए ।

तर उनीहरु पनि निस्साएिर सिकिस्त भएपछि प्रहरी टोली पुगेर तीनैजनाको उद्धार गरी उपचारको लागि जनकपुर पठाएको थियो । जनकपुर ल्याउँदै गर्दा मिस्त्री दिनेश चौधरीको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्