मुटु रोगी गोमा श्रेष्ठको उपचार खर्च जुटाइ दिन श्रीमान्‌को आग्रह

‘मेरो ज्‍यालाले घर खर्च चलाउनै धौ-धौ छ, श्रीमतीको मुटुको भल्भ फेर्ने पैसा कहाँबाट ल्‍याऊँ?’

मुटु रोगबाट पीडित भोजपुरकी २६ वर्षाीया गोमा श्रेष्ठ। उनको मुटुको एउटा भल्भ फेर्नु पर्ने चिकित्सकले बताएका छन्। तस्बिर-बिन्दु शर्मा/देश सञ्‍चार

भनिन्छ, दुनियाँमा रोग, शोक र भोगबाट अछुतो कोही हुँदैन। किनकि यो कुनै बाजा बजाएर आउने कुरा होइन। अझ गरीब परिवारमा यसले आफ्नो डेरा जमाएपछि उसको सामाजिक, आर्थिक, मानसिक र शारिरीक स्थितिलाई तहसनहस पारिदिन्छ। यस्तै आर्थिक संकटको अवस्थाबाट आफ्नो जीवनलाई गुजार्न बाध्य भएकी छिन् भोजपुर नगरपालिका वडा नं १२ मोहरया की २६ वर्षीय गोमा श्रेष्ठ।

गोमाको एउटा मुटुको भल्बले काम गर्न छोडेको छ। उनलाई चिकित्सकले समयमै उपचार र आराम गर्न भने पनि उपचार खर्च जुटाउन दैनिक ठेलामा फलफूल बेच्‍न बाध्‍य छिन्। उनका श्रीमान् एकाबिहानै ज्‍यामी काममा जान्छन् उनकै उपचार खर्च र घरको जोहो टार्नका लागि। त्‍यही पनि उनीहरुसँग मुटुको भल्भ फेर्ने पर्याप्त रकम भने जुटिसकेको छैन।

कलिलै उमेरमा दिपेन्द्र श्रेष्ठसँग प्रेम बिवाह गरेकी गोमाले आफ्नो जीवनलाई हाँसीखुसी बनाउन नपाउँदै मुटुको रोगको सिकार हुन पुगिन्। एक्कासी उनको नाक र मुखबाट सहनै नसकिने गरी रगतको धारा चुहिन थाल्‍यो। विवाहपछि घरमा बुहारीको जिम्‍मेवारी सम्‍हालेको दुई वर्षमै उनको जीवनका रंगहरु फिक्‍कामा परिणत भए। उनले यो कुरा आफ्ना श्रीमान्‌लाई सुनाइन्। श्रीमानँसँगै भोजपुरको एउटा क्लिनिकमा चेकअप गराइन्। तर चेकअपले सामान्‍य होइन यो त एकदमै जटिल प्रकारको समस्‍या देखाइदियो अर्थात उनको एउटा मुटुको भल्बले काम गर्न छाड्यो।

श्रीमतीको रोगको उपचारका लागि उनका श्रीमान् दीपेन्द्र श्रेष्ठ अहोरात्र लागिपरे। धरानस्थित बीपी मेमोरियल अस्पतालको आकस्मिक कक्षमा बसे। तर त्‍यहाँ पनि डाक्टरले उनलाई शहीद गंगालाल मुटु अस्पताल जान सुझाव दिए। गोमा र उनका श्रीमान ठूलो संकटमा परे।

उनीहरु जीवन बाँच्‍ने आशाले काठमाडौं हान्‍निए। तर काठमाडौँ सहर दिपेन्द्रलाई सोचे र सुने भन्दा बेग्लै लाग्यो। उनीहरुलाई यहाँको शहरिया जीवनमा मानवीयता हराएको अनुभव गरायो।

गोमाका श्रीमान् दीपेन्द्रलाई कोठमाडौँमा कोठा पाउनै समस्‍या। पाए पनि कतै पानीको समस्या, कतै कोठामा एउटा पलङ अट्ने ठाँउ मात्रै हुने। कतै घामै नलाग्‍ने कोठा। जसोतसो पाटनढोकाको पोखरी नजिकै एउटा कोठा पाए उनीहरुले।कोठमा पाएसी अब काम पनि त चाहियो। दैनिक हातमुख जोर्न दिपेन्द्रले ज्यामीको काम गर्न थाले। तर गोमालाई भने उसको रोगले दिन प्रतिदिन सताउन थाल्‍यो। अस्पतालले मुटुको भल्भको उपचारका लागि ११ लाख जुटाउन भन्‍यो तर उनीसँग त्‍यो पैसा जुटाउने सामर्थ्य नभएको उनका श्रीमान् दिपेन्द्र बताउँछन्।

उनी निराश हुँदै भन्छन्, ‘कलिलै उमेरमा हाम्रो प्रेम विवाह भयो।त्‍यतिबेला हामी आर्थिक रुपले सबल थिएनौ। अझ श्रीमतिले आर्थिक समस्‍याले नै सानैमा कक्षा ७ पछि पढ्‍न पाइन। म एउटा ज्‍यामीले त्‍यत्रो ११ लाख रुपैँया कहाँबाट ल्‍याउने। अब मसँग श्रीमतिको मुटुको भल्भ फेर्ने पैसा छैन।सरकारले केही रकम दिन्छ भनेको सुनेको छु।तर कस्ले भनिदिने ? हाम्रो पहुँच छैन। त्‍यति पैसाले पनि पुग्‍दैन।’

यता, रोगबाट पीडित गोमाले आफूले हरेक २१ दिनमा सुइ लगाउनै पर्ने बताउँछिन्।उनी उपचारकै लागि भनेर आफै ठेलामा फलफूल बेच्‍न बाध्‍य छिन्। उनी भन्छिन्, ‘ एक त साँघुरो कोठा, श्रीमान्को कमाइले खर्च चलाउनै गाह्रो। त्‍यसमाथि मलाई यस्तो जटिल प्रकारको रोग। जीवन साह्रै चलाउन गाह्रो रहेछ। ‘गरीबलाई यस्तो रोग कहिल्‍यै नलागोस। ‘

नगरपालिकाको सिफारिसबाट सरकारले मुटु रोगीलाई केही प्रतिशत सहयोग गर्ने भएता पनि उक्त पैसाले उपचारमा अपुग हुने उनका श्रीमान दिपेन्द्र।उनले भने, ‘डाक्टरले श्रीमतीको अपरेशन यही असोज २३ गते तोकिदिएको छ।तर आर्थिक अभावकै कारणले कतै अपरेशन रोकिने पो हो कि ! सबैसँग सहयोगको आशा लिएको छु।’

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्