नक्कली ‘मुठभेड’

विगत केही वर्षमा फिरौतीका लागि बालबालिका अपहरणका घटना बेलगाम जारी छन्। यी घटना प्रहरी अनुसन्धान या अदालतबाट दोषी ठहर भएकाहरुलाई दण्ड दिएर टुंगिएका छैनन्। या त अपराधी या अपहरणकर्ताबीचको लेनदेनबाट या अपहरित बालबालिकाको हत्यामा टुंगिएका छन् यी घटना। राज्यको उपस्थितिको अनुभूति कमैलाई भएको छ।

११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या भएको छ राजधानीमै। सामान्य चिया पसल चलाई आफ्नो वा स्वयं निशानको गुजारा र अध्ययनमा होमिएकी चमेलीका लागि यो असह्य वज्रपात हो। त्यो सँगै यो प्रहरीको असफल र अदूरदर्शी कदमको प्रमाण पनि हो केही हदसम्म।

निशानका पिता मलेशियामा सामान्य श्रमिक हुन् र आमाको त्यो आर्थिक हैसियत छैन भन्ने बुझ्दाबुझ्दै पनि अपहरणकारी गोपाल तामाङ र अजय तामाङले ४० लाख रुपैयाँको फिरौती किन मागे र फिरौती रकमबारे छलफल नहुँदै निशानलाई गला दबाएर किन हत्या गरे उनीहरुले?
प्रहरीले बालकलाई जिउँदै उद्धार गर्न नसकेको आक्रोशमा, या उसको संस्थागत पूर्व दृष्टान्तहरुबाट निर्देशित भएर अपहरणकर्ताहरुको समेत हत्या गरेको देखिन्छ ‘मुठभेड’का नाममा। गैर कानूनी प्रवृत्ति प्रदर्शनले प्रहरीलाई ‘रक्षक’ हैन ‘भक्षक’ र अपराधी संस्थाका रुपमा प्रस्तुत गर्दछ। विगतमा समेत यस्ता गतिविधिहरुमा लिप्त अधिकृतहरुले प्रहरीको नेतृत्वदायी भूमिका पाएकाले या यस्ता व्यक्तिहरु पुरस्कृत भएकाले प्रहरीमा गैरन्यायिक प्रवृत्ति बढेको देखिन्छ।

गैरन्यायिक प्रवृत्तिलाई प्रहरी संस्थाले अंगालेमा त्यसले कानूनी राज्यको अवधारणालाई कमजोर पार्छ। राज्य कानूनबाट नभएर महत्वपूर्ण ओहदामा बसेकाहरुको हैकमबाट चल्ने गर्छ। अवाफदेहितामा आधारित राज्यव्यवस्था समाप्त भइसकेको वर्तमान अवस्थामा कानून हातमा लिनेहरु राज्य र कानूनबाट डराउनुपर्ने स्थिति समाप्त भएको छ।

सूर्यविनायक ‘मुठभेड’ प्रकरणको छानबिनलाई एकल घटनाका रुपमा हैन, कमसेकम विगत ५ वर्षका यस्ता शंकास्पद घटनाहरुको गम्भीर अनुसन्धान योसँगै गरेमा नेपाल प्रहरीलाई मानवीय र सार्वजनिक सुरक्षामा विश्वसनीय रुप दिन के कस्ता नीति र कार्यक्रम अपनाउनु पर्छ, त्यो स्पष्ट गर्न सकिन्छ। प्रहरीले नै अापराधिक छवि कमाएमा त्यो मुलुकको छवि बन्ने छ, अन्तर्राष्ट्रिय जगतमा समेत।

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्