गोलकिपरका लागि तिरियो विश्व कीर्तिमानी मूल्य

चेल्सीले विश्व कीर्तिमानी मूल्यमा गोलरक्षकलाई क्लब भित्र्याएको छ । इंग्लिस क्लब चेल्सीले एथ्लेटिको बिल्बाओका किपा एर्रिजाबालागालाई ७१ मिलियन पाउण्ड तिरेर क्लब भित्र्याएको हो ।

यो कुनै पनि गोलकिपरका लागि तिरिएको सबैभन्दा ठूलो रकम हो । योसँगै किपा विश्वका सबैभन्दा महंगा गोरकिपर बनेका छन् ।

यसअघि लिभरपुलले गएको जुलाईमा रोमाका ब्राजिलियन गोलरक्षक एलिसनलाईलाई ६६.८ मिलियन पाउण्ड तिरेर क्लब भित्र्यायो । लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका एलिसन विश्वका महंगा गोलरक्षक बने एक महिनाका लागि ।

तर उनको नामबाट सबैभन्दा महंगा गोलरक्षकको पगरी हटेको छ । अब यो पगरी किपाको नाममा जोडिएको छ । २३ वर्षका किपा स्टामफोर्ड ब्रिज आएका छन् ।

किपाले चेल्सीसँग सात वर्षको सम्झौता गरेका छन् । उनले चेल्सीका अहिलेका गोलकिपर थिबाउट कोउर्तोइसलाई प्रतिस्थापित गर्ने छन् ।

थिबाउटलाई स्पेनिस क्लब रियल मड्रिडले भित्र्याउने तयारी गरेको छ । उनका लागि रियल मड्रिडले कति रकम तिर्ने तयारी गरेको भन्ने खुलेको छैन ।

२६ वर्षका बेल्जियन थिबाउट रुसमा भएको विश्वकप फुटबलमा सर्वोत्कृष्ट गोलरक्षक हुँदै गोल्डेन ग्लोब अवार्ड जित्न सफल भएका थिए ।

किपा स्पेनका दोस्रो रोजाइका गोलरक्षक हुन् । म्यानचेस्टर युनाइटेडमा रहेका डेविड डी जिया स्पेनिस राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलकिपर हुन् । किपा गएको दुई सिजन एथ्लेटिको बिल्बाओमा रहे ।

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्