भरै नहुने सम्बन्ध

ब्रान्जेलिना : फेरि आरोप प्रत्यारोपमा

एक समय थियो, वा भनौँ दशक भन्दा बढी समय उदहारणको रुपमा प्रस्तुत हुन्थ्यो यो जोडी । हलिउडमा सम्बन्ध जोडिने र तोडिनेको केही भर हुँदैन ।

तर यी दुईको सम्बन्ध जोडियो, सबैले रुचाए र उनीहरु पनि एक अर्कामा मसिनोगरी मिसिए । प्रेम बाँचे र प्रेम नै सञ्चार गरे पनि । तर अवस्था फेरिएको छ पछिल्लो वर्षमा ।

कुरा हलिउडका स्थापित अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको । यी दुईको जोडीलाई ‘ब्रान्जेलिना’ भनियो । लामो समयको प्रेम सबन्ध र सन्तान सुखपछि ब्रान्जेलिनाले सम्बन्धलाई औपचारिक नाम दिए, बिहे गरे । तर बिहे लामो समय टिक्न सकेन ।

सन् २०१६ मा एन्जेलिनाले ब्राडसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरिन् । कारण बताइयो, ब्राडको छोराछोरीसँगको सम्बन्ध । ब्राड र एन्जेलिना सन् २००५ देखि साथमा थिए र उनीहरुले सन् २०१४ मा विवाह गरेका हुन् ।

सम्बन्ध विच्छेदको मुद्दा चलिरहेका बेला अदालतले ब्राडले भेट्न पाउने गरी सन्तानको कस्टडी (पालन पोषणको जिम्मा) एन्जेलिनालाई दिएको छ । तर बिचमा एन्जोलिनाले छोराछोरीलाई बुवा ब्राडका बारेमा खराब इमेज बनाइएको आरोप पनि लाग्यो ।

पछिल्लो समय एन्जेलिनाले छोराछोरीलाई सहयोग तथा साथ दिन ब्राड असफल भएको आरोप लगाएकी छन् । तर ब्राडले भने आफूबाट पराई हुँदै गएकी वा टाढिन खोज्दै गरेकी श्रीमती एन्जेलिनाको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लागेका सबै आरोपको खण्डन गरेका छन् ।

ब्राडको मुद्दा हेरिरहेका वकिलले बुधबार अदालतमा पेश गरेको कागजातमा एन्जेलिनाको आरोपको खण्डन हुने दाबीसहितको प्रमाण सामेल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्राडले जोलीलाई घर किन्नका लागि १३ लाख अमेरिकी डलर दिएको तथा ८० लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको उल्लेख गरिएको छ ।

यसअघि मंगलबार जोलीका वकिलले ब्राडले छोराछोरीका लागि अर्थपूर्ण हुने खालको केही सहयोग नगरेको दाबी गरेका थिए । सम्बन्ध विच्छेदको मुद्दा दायर भएयता ब्राडले छोराछोरीका लागि चाहिने जति सहयोग नगरेको जोलीका वकिलको दाबी छ ।

तर ब्राडका वकिलले अदालतमा पेश गरेको कागजातमा जोलीले छोराछोरीका लागि ब्राडको तर्फबाट सहयोग नआएको भन्ने आरोप सञ्चारमाध्यममा आउने कभरेजलाई प्रभावित पार्नका लागि रहेको दाबी गरिएको छ । यस सम्बन्धमा जोलीका प्रतिनिधिले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

जोलीले सन् २०१६ मा आफू र ब्राडबिच गम्भीर भिन्नता रहेको भन्दै सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी थिइन् ।

त्यसपछि ब्राड र जोलीबिच छोराछोरीको कस्टडीलाई लिएर गम्भीर आरोप प्रत्यारोप हुँदै आएको छ। ब्राडमाथि छोराछोरीलाई हात उठाएको आरोप पनि लागेको थियो । तर अनुसन्धानपछि ब्राड आरोपबाट मुक्त भए ।

ब्रान्जेलिनाको रुपमा चिनिएको यो जोडीको पहिलो भेट सन् २००५ को चलचित्र मिस्टर एण्ड मिसेज स्मिथको सेटमा भएको थियो ।

जोलीसँगको बिहे ब्राडको दोस्रो बिहे हो । त्यसअघि ब्राडले जेनिफर एनिस्टनसँग बिहे गरेका थिए । यस्तै जोलीको भने तेस्रो बिहे हो, उनले ब्राड भन्दाअघि बिली बब थोर्नटन र जोनी ली मिलरसँग बिहे गरेकी थिइन् ।

जोली र ब्राडका ६ सन्तान छन् ।

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्