ओस्कारमा थपियो नयाँ विधा

चलचित्र क्षेत्रको सबैभन्दा सम्मानित पुरस्कार अर्थात अवार्ड ओस्कारमा नयाँ विधा थपिएको छ । ओस्कार कमिटिले अबदेखि लोकप्रिय चलचित्रका लागि प्रदान गरिने अवार्डको नयाँ विधा थप परेको हो ।

अबदेखि वर्षभरमा सबैभन्दा सफल अर्थात दर्शकको माया पाएको चलचित्रलाई आउटस्ट्याण्डिङ्ग अचिभमेन्ट इन पपुलर फिल्म अवार्ड प्रदान गरिने भएको छ । नयाँ विधा थप्ने सम्बन्धी प्रस्तावलाई ओस्कार एकेडेमीको बोर्ड अफ गभर्नसको बैठकले अनुमोदन गरेको हो ।

अब यो विधामा समीक्षकबाट राम्रो प्रतिक्रिया नपाए पनि व्यवसायिक रुपमा सफल भएको चलचित्रले पनि ओस्कार अवार्ड पाउन सक्ने छन् । अबको समारोहका लागि ब्ल्याक प्यान्थरसहितका सुपरहिरो चलचित्र यो अवार्डका लागि सम्भावित छन् ।

तर आउँदो फेब्रुअरीमा हुने ओस्कार समारोहदेखि नै यो विधाको अवार्ड प्रदान हुने वा नहुने भन्ने स्पष्ट भएको छैन । अहिलेसम्म व्यवसायिक रुपमा सुपरहिट भएका धेरै चलचित्र ओस्कारमा लगभग अस्वीकृत जस्तै देखिएका छन् ।

तर नयाँ विधाले व्यवसायिक रुपमा सफल चलचित्रले पनि ओस्कार पाउने बाटो खुलेको छ । नयाँ विधाले दर्शकले रुचाएका चलचित्रलाई अस्वीकार गर्ने गरेको भन्दै ओस्कारमाथि लाग्ने गरेको आरोप पनि मत्थर हुने देखिएको छ ।

ओस्कारमा अहिले २४ विधामा अवार्ड दिने गरिएको छ ।

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्