जिल्ला प्रशासन कार्यालयले टेरेनन् प्रदेश सरकारलाई, आज भएन सार्वजनिक बिदा

विश्व आदिवासी दिवसका अवसरमा १ नम्बर प्रदेश सरकारले बिहीबार दिएको सार्वजनिक विदा १ नम्बर प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले कार्यान्वयन नगर्ने भएका छन्।

एक नम्बर प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको सूचना नआएको भन्दै जिल्ला प्रशासन कार्यालय खुल्ला रहने बताएका छन्।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज अर्थात साउन २४ गते विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने सूचना जारी गरेको थियो। तर त्यो सूचनालाई जिल्ला प्रशासन कार्यालयहरुले अवज्ञा गरेका छन्।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले बिहीबार जिल्ला प्रशासन कार्यालय झापा पूर्ववत खुल्ने बताए। उनले आफ्नो कार्यालयका लागि गृह मन्त्रालयको सूचना आउनुपर्ने बताए। उनले भने, ‘हामीलाई गृह मन्त्रालयले कुनै सूचना गरेको छैन। त्यहाँको आदेश नआइ हामी कार्यालय बन्द गर्न सक्दैनौँ।’

पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गृह मन्त्रालयबाट केही पनि नभनिएका कारण जिल्ला प्रशासन कार्यालय खुल्ने बताए। उनले भने, ‘प्रदेश सरकार मातहतका कार्यालयमा विदा होला, स्थानीय तह बन्द होलान्। तर जिल्ला प्रशासन कार्यालयका काम यथावत चालु अवस्थामा हुनेछन्।’

प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ्बोले संघीय कार्यान्वयनमध्ये यो एउटा जटिलता भएको प्रतिक्रिया दिएका छन्। तर उनले संघीय सरकारसंग समन्वय रहेको दाबी गरे।

उनले भने, ‘हामी संघीयताको कार्यान्वयनको चरणमा छौँ। यस प्रकारको अवस्था आउँछ नै। सार्वजनिक बिदाको सन्दर्भमा संविधानले प्रदेश सरकारलाई प्रदान गरेको अधिकार क्षेत्रभित्रको कुरा भएकाले आदिवासी समुदायको सम्मानमा विदा दिएको हो।’

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्