भक्तपुर- साउन शुक्ल चतुर्दशीका दिन गठेमंगल अर्थात घण्टाकर्ण पर्व नेवार समुदायले मनाएका छन्। दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो।

यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्।

सो अवसरमा बिहीबार बिहानैदेखि विभिन्‍न शक्तिपीठमा पूजाआजा गरी घण्टाकर्ण मनाइएको हो। शक्तिपीठहरुमा विहानै भक्तजनको घुइँचो लागेको थियो।

आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन छ।

नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ।