चन्दा आतंक मच्चाएकाले प्रकाण्ड पक्राउ परे : गृहमन्त्री बादल

भरतपुर- गृहमन्त्री रामबहादुर थापा बादलले चन्दा आतंक मच्चाएकाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरेको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले विश्वकर्मा अपराधमा संलग्न भएकाले उनी पक्राउ परेको र अब कानून बमोजिम कारबाही गर्ने बताए ।

अपराध नियन्त्रणका लागि सरकारले आफ्नो काम गरेको बताउँदै थापाले गैरकानुनी क्रियाकलाप गर्ने कसैलाई पनि सरकारले नछोड्ने जिकिर गरे ।

‘म गृहमन्त्री हुँ। मेरो काम अपराध नियन्त्रण गर्ने हो। त्यसैअन्तर्गत प्रकाण्ड समातिएका हुन्’, उनले भने  ।

थापाले कानुन र विधि उल्लघंन गरेकाले प्रकाण्ड अपराधी भएकाे बताए  ।

पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मालाई प्रहरीले मंगलबार राति काठमाडौँबाट पक्राउ गरेको थियो। उनीसँग बरामद् भएका कागजात हेर्दा सात करोड रूपैयाँ चन्दा असुलेको देखिएको प्रहरीले दाबी गरेको छ ।

विश्वकर्मामाथि अदालतबाट म्याद थपेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गृहमन्त्री थापा र विश्वकर्मा तत्कालीन माओवादी पार्टीमा सँगै काम गरेका नेता हुन् ।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्