नेपालमा समृद्धिको लागि उत्साहजनक वातावरण

विश्व बैङ्कको मुख्यालयमा अर्थमन्त्रीको सम्बोधन

अमेरिका – अर्थमन्त्री डा युवराज खतिवडाले विश्व बैङ्कको मुख्यालयमा नेपालका विकास आवश्यकता सम्बोधन गर्न विश्व बैङ्क र नेपाली राजदूतावास द्वारा आयोजित नेपाल दिवस कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका छन् ।

उक्त कार्यक्रममा विश्व बैङ्क, अन्तर्राष्ट्रिय वित्त निगम, बहुपक्षीय लगानी प्रत्याभूति संस्थाका उपाध्यक्षहरू, विश्व बैङ्कका नेपाल हेर्ने कार्यकारी निर्देशक लगायत नेपालका अन्य विकास साझेदारहरूको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालको संविधानले अङ्गीकार गरेको जनताका अधिकारहरूलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । संघीयता कार्यान्वयन र पूर्वाधार विकासको लागि विश्व बैङ्क लगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता रहेको उनले बताए ।

नेपालमा अहिले विकास र समृद्धिको लागि उत्साहजनक वातावरण रहेकोले सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संस्थाहरू, गैर सरकारी सङ्घ संस्था तथा विकास साझेदारहरू मिलेर अगाडि बढ्ने कुरा बताए ।

उनले सघीयताको कार्यान्वयन गर्न थप श्रोतको आवश्यकता रहेको र प्रदेश, स्थानीय तहमा संविधान प्रदत्त अधिकार उपयोग गर्न सक्षम बनाउन क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा विश्व बैङ्कका विभिन्न विभागहरूमा कार्यरत विषय विज्ञहरू र नेपालका अन्य विकास साझेदारहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए ।

अर्थ मन्त्रीले ती प्रश्नहरूको उत्तर दिँदै प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धि अत्यावश्यक रहेको, व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिदैँ निर्यात प्रबर्द्धन गरिने कुरा बताए ।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्