विराटनगरमा बस्दै छ १८ वर्षमूनिका फुटबलरहरुको क्याम्प

भदौ पहिलो सातादेखि विराटनगरमा १८ वर्षमूनिको राष्टिय फुटबल टोलीको क्याम्प बस्दैछ।

३५ जनाको सो क्याम्पपछि छनौट हुने खेलाडीले भारतमा हुने एशियन स्कुल फुटबल प्रतियोगिताको ४६ औं संस्करणमा सहभागिता जनाउने छ। नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले मौसमअनुकूल खेलाडीलाई विराटनगरमा क्याम्प राखेको हो।

यस क्याम्पमा मोरंगका तीन जना खेलाडी पर्न सफल भएका छन्। क्याम्पमा परेका अरुण लिम्बु, छिरिग तामांग र नविन गुरुग बेलबारीस्थित एम्ब्रियो युवा क्लबको उत्पादन हुन्।

तीनै खेलाडी यतिबेला भारतको सिक्किममा हुने फुटबल प्रतियोगिताका लागि पुगेका छन्। एन्फाको सोच अनुरुप नै यस क्लबले आफ्नो गतिविधि गर्दै आएको छ। २०५१ साल क्लबको स्थापना भएपनि, एकेडेमीका रुपमा २०७२ सालबाट सञ्चालनमा आएको हो।

एकेडेमीमा हाल १० देखि १४ वर्षका ३४ जना विद्यार्थी खेलाडी छन्। उनीहरु बिहान र बेलुका नियमित प्रशिक्षणमा रहन्छन्। एन्फाले आफ्नो एकेडेमीहरुलाई स्तरीय बनाउन नसकेको अवस्थामा यस एकेडेमीले खेलाडी उत्पादनमा जोड दिइरहेको छ।

क्लबका अध्यक्ष नारायण लिन्थेपका अनुसार क्लब चलाउन र खर्चको जोहो गर्न स्थानीय संघसंस्था तथा विदेशमा रहेका साथीभाइहरुको सहयोग रहँदै आएको छ। त्यसैगरि क्लबले समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दछ र दीपावलीमा देउसी भैलोबाट रकम जोड्ने गर्दछ। क्लबको आफ्नै भवन छ। जिल्ला फुटबल संघ मोरंगसँग धेरै अपेक्षा नगरेको एम्ब्रियो एकेडेमीले खेलाडीसँगै प्रशिक्षक समेत राखेको छ।

डाँगीहाट फुटबल क्लबका पूर्व खेलाडी विक्रम लिम्बुलाई मासिक पारिश्रमिकसहित खेलाडी प्रशिक्षणमा जुटाएको क्लबका संस्थापक अध्यक्ष रविन थापाको भनाइ छ। उनी भन्छन्, ‘क्लब र फुटबल संघबीच कार्यक्रमबारे मौखिक सहमति र प्राविधिक सरसहयोग मात्र हुन्छ। कार्यक्रमका बेला उहाहरुसँग छलफल गरिन्छ, त्यतिमात्र हो।’

एन्फाले विविन्न चारवटा एकेडेमीलाई स्तरीय रुपमा चलाउन नसकिरहेको अवस्थामा ग्रामीण क्षेत्रमा फुटबल एकेडेमी सञ्चालनमा आउनु आफैँमा पनि सुखद भएको उनी बताउँछन्।

हाल एकेडेमीमा खेल्न आउने विद्यार्थी खेलाडीलाई क्लब नजिकै रहेको सिंहदेवी विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ जहाँ विद्यार्थीलाई निशुल्क पढाइन्छ। क्लबका अध्यक्ष लिन्थेप भन्छन्, ‘मुख्य त यहाँका बालबालिका कुलतमा नफसून् भन्ने उदेश्य क्लबका हो। त्यसैका लागि पनि क्लबले दुइवर्ष अघिबाट आफनै एकेडेमी जोडेको हो।’

 

एन्फाको १८ वर्षमूनिको क्याम्पमा एकेडेमीका ३ जना खेलाडी पर्नु आफैँमा पनि खुशीको कुरा भएको उनी बताउँछन्। त्यसविपरीत जिल्ला फुटबल संघ मोरंगका सचिव प्रकाश मास्के भने ती खेलाडी एकेडेमीको नभएको दाबी गर्छन्। उनी भन्छन्, ‘अरुण लिम्बु बुटवल एकेडमीबाट निस्किएका हुन्। त्यसैगरी अन्य खेलाडी पनि स्थानीय डाँगीहाट फुटबल क्लबका खेलाडी हुन्।’

यद्धपि एकेडेमीले खेलाडीका लागि फिटनेसका लागि करिब डेढ लाख रुपैयाको खर्चमा व्यायमशालाको पनि ब्यवस्था गरेको छ। त्यसैगरी क्लबले सो क्षेत्रमा स्वास्थ्य उपचारका लागि एम्बुलेन्सको समेत ब्यवस्था गरेको छ।

संस्थापक अध्यक्ष थापा भन्छन्, ‘अरुतिर एकेडेमी राम्ररी चल्न नसकिरहेको अवस्थामा कम्तीमा यसलाई एन्फाले सहयोग र सम्बर्धन गर्न सके राम्रो हुन्थ्यो।’ यद्धपि यस विषयमा एन्फाका केन्द्रीय सदस्य दीर्घबहादुर केसी भन्छन्, ‘एन्फाको नया कमिटीले केन्द्रबाहिर सञ्चालनमा आएका वा आउने पक्षको विषयमा चाँडै नै सकारात्मक सन्देश दिने जमर्को गरिरहेको छ। चाडै नै एकेडेमीलाई राम्रो हुने निर्णय गर्नेछौ।”

३४ जना खेलाडीलाई एकेडेमीमा राख्दा वार्षिक करिब ५ लाख खर्च हुने आउने गरेको छ। क्लबले खेलाडीका लागि जर्सी, बुट, बल उपलब्ध गराउँछ। यद्धपि, विद्यार्थी खेलाडी क्लबमा खेल्न र पढ्नका लागि जोडिएका छन्। उनीहरु प्रशिक्षण र पढ्नका लागि एकेडेमी पुग्छन्। बेलुका फेरि आफ्नै घर फर्कन्छन्। क्लबको आफ्नै फुटबल मैदानमा पनि छ।

एन्फाको एकेडेमी

एन्फाले फुटबलको विकासका लागि केही वर्षअघिदेखि चारस्थानमा एकेडेमीको सुरुआत गर्‍यो। विडम्बना चारमध्ये हाल दुईवटा एकेडेमीमात्र सञ्चालनमा छन्। खेलाडीको क्षमतालाई पहिचान गर्दै एन्फाले खेल र पढाइसँगै एकैस्थानमा राखेर कार्यक्रम अघि बढाएको हो। तर, विडम्बना हाल दुइ वटा एकेडेमी मात्र जीवित अवस्थामा छन्।

एन्फा आफैँले यतिबेला सातदोबाटोस्थित एन्फा एकेडेमी चलाइरहेको छ। तर, त्यसबाहेकका अन्य एकेडेमीको अवस्था दयनीय नै छ। एन्फा केन्द्रीय सदस्य एवं जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीका अनुसार केन्द्र बाहेक हाल बुटवल एकेडेमी सञ्चालन अवस्थामा छ। उनी भन्छन्, ‘एकेडेमीलाई जीवित राख्न हामी जिल्ला संघ आफैँ लागि परेका छौँ। एकेडेमी चलाउन गाह्रो छ, तरपनि हिम्मत हारेका छैनौँ।’

सातदोबाटोस्थित एन्फा एकेडेमी र बुटवल एकेडेमीबाहेक धरानमा रहेको एन्फा टेक्निकल सेन्टर र काठमाडौंमै रहेको च्यासल भ्याली एकडेमी बन्द अवस्थामा छ जसको नतिजा लगभग शून्य छ।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू