गुल्मीकी पत्रकार खड्कालाई १ लाखको पुरस्कार

पत्रकार गंगा खड्का।

गुल्मी- गुल्मीकी महिला पत्रकार गंगा खड्का एकलाख राशीको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारका लागि छनौट भएकी छन्।

पत्रकारितासँगै सामाजिक रुपान्तरणको क्षेत्रमा क्रियाशील खड्कालाई युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गर्नेछ। उनी अन्नपूर्ण पोस्ट् दैनिकसँग पनि आवद्ध छिन्।

खड्का पाँचवर्षदेखि सुरक्षित महिनावारी अभियानको क्षेत्रमा पनि क्रियाशील छन्। सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले खड्कालाई सम्मान गर्न लागेको मन्त्रालयका सूचना अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

पाँच वर्षदेखि गुल्मीसहित पाल्पा, सुर्खेत र बैतडी जिल्लामा पुगेर खड्काले विद्यालयका किशोरीहरुलाई सुरक्षित महिनावारीको विषयमा अभिमुखीकरण गर्दै आइरहेकी छिन्। महिनावारी भएको बेला किशोरी छात्राहरुले विद्यालयमा भोग्नुपरेको पीडालाई देखेर खड्काले देशभर अभियान सञ्चालन गर्ने उद्देश्यले गुल्मीबाट सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जालसमेत गठन गरेकी छन्।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्