साहित्यकार दाहाल यज्ञनिधिको निधन

दाहाल यज्ञनिधि।

काठमाडौँ- साहित्यकार दाहाल यज्ञनिधिको शुक्रबार साँझ राजधानीको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छ। उनी ‘मस्तिष्काघातका कारण केही दिनदेखि उक्त अस्पतालमा भर्ना भएका थिए। उनी मिर्गौलारोग पीडित थिए।

 रेडियो नेपालका चर्चित कार्यक्रम प्रस्तोता दाहालको ११ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी ६५ वर्षका थिए। अस्पतालले शुक्रबार साँझ उनको निधन भएको जानकारी दिएको छ।

उनी २०१० सालमा खोटाङमा जन्मेका थिए। उनले चलाएको रेडियो नेपालको साहित्य संसार कार्यक्रम प्रसिद्ध थियो। वि. सं. २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाएका थिए। 

दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना , अन्तर्वाता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्‍याएका छन्। तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शव्दको सर्वव्यापी प्रयोगलाई उनले व्यापकता दिएका थिए।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्