छुवाछुतमा परेकी बुद्धमायालाई न्याय दिलाउन सांसदको माग

जनकपुरधाम- प्रदेश नम्बर २ का नेकपा सचेतक सुन्दर विश्वकर्माले छुवाछुत तथा उत्पीडनमा परेकी दलित महिला बुद्धमाया विश्वकर्मालाई समाजमा पुनः स्थापना गराउन माग गरेका छन्।

शुक्रबार बसेको प्रदेसभाको बैठकमा नेता विश्वकर्माले जातीय विभेदमा परी महोत्तरीकी बुद्धमाया गाउँ छोड्न बाध्य भएर विष सेवन गरेकाले उनको उपचार खर्च दिन सरकारसँग माग गरेका छन्।

बुद्धमायालाई पुनःस्थापना गराउनु पर्ने माग गर्दै प्रदेशसभा सदस्य विश्वकर्माले भने,‘स्वतन्त्र रुपमा बाँच्नुपर्ने अधिकारबाट बञ्चित भएपछि जातीय विभेदको पीडाले उनी गाउँ छोड्न बाध्य भएकी छिन्’ र यस्तो घटनाले पुरै प्रदेशको बदनामी हुन्छ।’

बर्दिवास नगरपालिका ७ की बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनिषालाई सार्वजनिक धाराको पानी छोएको भन्दै स्थानीय कमला गिरी र उनको आफन्त पर्ने रामबाबु दाहालले कुटपिट गरेका थिए।

गत बैशाखमा भएको उक्त घटनाका आरोपीहरुलाई महोत्तरी जिल्ला अदालतले ६ महिना कैद सजाय सहित १० हजार जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्