दलाई लामाले मागे माफी

भारतमा रहेका तिब्बती धार्मिक नेता दलाई लामाले माफी मागेका छन् । भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुलाई आत्म केन्द्रित अर्थात आफ्नो बारेमा मात्रै सोच्ने व्यक्ति भनेकोमा तिब्बती धार्मिक नेता दलाई लामाले शुक्रबार माफी मागेका हुन् ।
लामाले गएको बुधबार नेहरुको आफ्नो बारेमा बढी सोच्ने बानीका कारण उनी नै भारतको पहिलो प्रधानमन्त्री बनेको बताएका थिए ।
त्यो बेला उच्च पदका लागि महात्मा गान्धी मुहम्मद अलि जिन्नाको पक्षमा रहे पनि नेहरुको आत्म केन्द्रित बानीकै कारण उनी प्रधानमन्त्री बनेको धार्मिक नेता लामाले दाबी गरेका थिए । जिन्नालाई प्रधानमन्त्री बनाउने महात्मा गान्धीको इच्छा पूरा भएको भए भारतको विभाजन पनि नहुने लामाले दाबी गरेका थिए ।
धार्मिक नेता लामाले आफ्नो यो अभिव्यक्तिप्रति माफी माग्दै भनेका छन्, ‘मेरो अभिव्यक्तिले विवाद सिजर्ना भयो । मैले केही गल्ति भनेको भए माफी चाहन्छु ।’
नेहरुलाई आत्म केन्द्रित भनेको बारे स्पष्ट पार्न पत्रकारले गरेको आग्रहमा लामाले भने, ‘महात्मा गान्धी विभाजनको विपक्षमा रहेको कुरा थाहा पाउँदा मलाई त्यो किन भएन भनेर दुःख लाग्यो, पाकिस्तानमा भन्दा भारतमा धेरै मुस्लिम छन्, बितेको कुरा बितिसक्यो ।’
लामाले गएको बुधबार गोवामा भएको कार्यक्रममा जिन्नालाई प्रधानमन्त्री बनाउने गान्धीको इच्छा पूरा भएको भए वा नेहरु आत्म केन्द्रित नभएको भए अहिले भारत र पाकिस्तान विभाजित अवस्थामा नरहने बताएका थिए ।