खोइ कुष्ठरोग लोप भएको?

विर्तामोड- नेपालबाट कुष्ठरोग लोप भइसकेको भनेर घोषणा गरिएको बर्ष सन् २०१० यता उक्त रोगबाट ग्रसितहरुको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

पुराना मात्र नभएर प्रत्येक बर्ष उल्लेख्य मात्रामा कुष्ठरोगी भेटिएको जनस्वास्थ्यकर्मीहरु बताउँछन्।

कुष्ठरोगीहरुको संख्या बढेपछि अहिले कुष्ठरोग प्रभावित जिल्लाहरुमा घर घर गएर कुष्ठरोगीहरु पत्ता लगाएर उपचार गर्ने काम भइरहेको राष्ट्रिय कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ।

केही दिन अघि झापामा कुष्ठरोगका १६ जना नयाँ कुष्ठरोगी पत्ता लागेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ।

तर सन् २०१० मै नेपालबाट कुष्ठरोग लोप भइसकेको घोषणा भएको थियो। तर त्यस यता बर्षेनी कुष्ठरोगीको संख्या घट्नुको सट्टा बढ्दै गएको स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाका कुष्ठरोग अधिकृत मिठाराम थापाले बताए।

थापाले भने, ‘जुन बेला कुष्ठरोग लोप भयो भनेर घोषणा भयो त्यसयता बर्षेनी रोगीको संख्या बढ्ने क्रममा छ। गत साल तीन हजार २ सय १५ नयाँ रोगी भेटिएका थिए। यो बर्ष पनि त्यो संख्या कायम हुने संभावना छ।’

थापाले जनाए अनुसार विश्व स्वास्थ्य संठनको प्रावधानले १० हजार व्यक्तिमा १ जना भन्दा कम कुष्ठरोगी भेटिए उक्त रोग लोप भएको मानिन्छ। तर नेपालमा उक्त संख्या नाघेको त छैन तर रोगीको संख्या भने बढ्ने क्रममा छ।

महाशाखाका अनुसार अछाम, मुगु, सुर्खेत, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन, पर्सा, बारा,  रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, सप्तरी, मोरङ तथा झापा कुष्ठरोग प्रभावित जिल्लाहरु हुन्। अहिले ति जिल्लाहरुमा महिला तथा पुरुष स्वास्थ्यकर्मी खटाएर घर घरमा कुष्ठरोगी छ छैनन् हेर्न थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले जानकारी दिए।

गाउँ गाउँ गएर खोजेर ल्याइएका रोगीहरुको उपचारको प्रावधानका बारेमा कुष्ठरोग नियन्त्रण महाशाखाका कुष्ठरोग अधिकृत थापाले भने, ‘सामान्य अवस्थाका लागि त गाउँ घरका स्वास्थ्य चौकी वा अस्पतालमा उपचार भइहाल्छ। तर अवस्था गम्भीर छ भने तोकिएका विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार हुन्छ।’

चिकित्सकहरु भन्छन् शरीरमा देखिएका अनौठा किसिमका दाग कुष्ठरोग हो कि होइन भनेर परीक्षण गराउनुपर्ने बताउँछन्। थप लक्षणका बारेमा मेची अञ्चल अस्पतालका फिजिसियन डा पिताम्बर ठाकुरले भने, ‘सेता दाग शरीरमा आएको छ, दाग आएको ठाउँमा छाम्दा थाह हुँदैन, छाला बाक्लो भए, नशा बाक्लो भए तुरुन्त अस्पताल गएर जचाउँनुपर्छ।’

सन् २०१० मा नेपालबाट कुष्ठरोग लोप भयो भनेर घोषणा गर्दा औसत मूल्यांकनका आधारमा घोषणा गरिएको कुष्ठरोग नियन्त्रण महाशाखाका अधिकारीहरु बताउँछन्। तर अहिले कुष्ठरोगीको संख्या बढ्दै जाँदा सन् २०२० सम्ममा सबै जिल्लाबाट कुष्ठरोग लोप भएको घोषणा गर्ने लक्ष्य प्रभावित हुने जनस्वास्थ्यकर्मीहरु बताउँछन्।

साउन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्