रोजिता बुद्धाचार्य। तस्बिरहरु: सुलभ श्रेष्ठ
सगरमाथा जित्ने छाेरीहरु–५

सगरमाथा शिखरमा उनले भेटिन् बालखैमा गुमेकी आफ्नी आमा

कुरा सन् २०१७ को हो, जाडो महिना थियो। यलमाया केन्द्रमा ‘द डायरी अफ आना फ्रांक’ नाटकमा रोजिता आना फ्रांकको पात्रमा उभिएकी थिइन्।

साँच्चै जीवनपनि रंगमञ्च जस्तै हो। त्यो दिन साँझ नाटक शुरु हुनै लागेको थियो। ‘हामी सबै तयार थियौँ, दर्शक रंगमञ्चमा भरिइसकेका थिए, नाटकको क्यू म्यूजिक बजिइसकेको थियो,’ रोजिता सुनाउन थालिन्, ‘मञ्चमा आना फ्रांकको बुबा अटो फ्रांकको इन्ट्री पछि मेरो पालो। कोरिडोरमा हामी कुरिरहेका थियौ। त्यतिबेला मलाई थाहा भयो, मेरो बाबाले संसार छोड्नुभयो।’ बाबाको वीर अस्पतालमा उपचार भइरहेको थियो।

विज्ञापन

मानिससँग आफ्नो अनुभूति बयान गर्ने शब्दहरु धेरै छन्। कमै समयमा मात्र भाव शून्य अवस्था हुन्छ। रोजिताले त्यस्तै अनुभूति गरिन्।


‘मलाई केही थाहा भएन, दिमाग खाली थियो।’ के गर्नु के नगर्नु भयो। मैले लगाएको कपडाहरु थाहै नपाई फेर्न थालेँ।’ उनले तत्कालै दिदीलाई फोन गरिन्। निर्देशकसँग कुरा भयो र नाटक गरेर मात्र अस्पताल जाने मनसाय बनाइन्। ‘मलाई लाग्यो कि म यदि यो नाटक चटक्क छोडेर गए भने मेरो दुख मेरो दर्शकलाई जान्छ। सबै आफ्नो काम छोडेर आको छ, भरिएको हलका सबैमान्छे ‘ल… यस्तो भएछ, बिचरा…’ भनेर जानु एकदमै दयनीय हुन्छ जस्तो लाग्यो।’

‘बाबालाई क्यान्सर भएको थियो।’ अनुहारको रंग थोरै बदलियो, आँखा अलिअलि रसाएजस्तो देखियो। रोजिताले भनिन्, ‘कतिपय कुरा हाम्रो नियन्त्रणमा नहुँदो रहेछ, बाबाको मृत्यु अकस्मात भयो।’ मञ्चमा आना फ्रांक बनेर बाबा पात्रसँग अभिनय गर्न गइन्, आफ्नै बाबा गुमाएको खबर थाहा नै नपाए जसरी। उनी दर्शकसामु नाटकसमय भर प्रस्तुत भइरहिन्, बाबाको मृत्युले मनमा दुखाएको पीडालाई अलिकति पनि नदेखिने गरी। नाटक सकियो, उनी संसार छाडेका बाबालाई हेर्न घाटमा पुगिन्।

वसन्तपुर झोँछेको एउटा चोक। उज्यालो थियो तर घामले धर्ती छुन भ्याएको छैन। स्पोर्टस् जुत्ता, जिन्सको पाइन्ट अनि सेतो रंगको टिसर्ट। विनसिटरको चेन खुलेको छ। पछाडि व्याग बोकेकी एक युवती चम्किलो अनुहार लिएर लम्किरहेकी थिइन्। उनका आँखाले खोज्दै थिए केही अपिरिचत अनुहार, भेटिन् र किपाज् क्याफेमा छिरिन्।

रोजिता बुद्धाचार्य, एकाबिहानै उनी त्यहाँ पुगिन्। आफ्नो कथा सुनाउन। उनको कथा, उनको सगरमाथा यात्राको कथा।

‘बिहानै हामीले बोलायौँ है?’

‘हैन, केही छैन।’

समय सबैको लागि खास हुन्छ, हरेक पल हर घडी, हरेक एक मिनेट, हर एक सेकेण्ड। २५ वर्षकी बुद्धाचार्य आफ्नो समयलाई रति भर खेर जान दिँदिनन्। उनले बिताएका हरेक क्षणमा २०७५ सालको जेठ ९ कोशे ढुंगा बन्यो, मेटाउनै नसक्ने गरी सधैँभरीलाई। त्यो दिन उनी सगरमाथाको चुचुरोमा पुगेकी थिइन्।

सगरमाथा यात्राका क्रममा अनिता लामाले लेखेको कविता संग्रह पढ्दै रोजिता।

‘सगरमाथा मलाई मेरो आमा बाबाले दिएको जस्तो लाग्छ।’ सगमाथाप्रतिको आफ्नो लगावको कारण प्रस्टाउन थालिन् उनी।

रोजिता नाटक सकेर घाटमा जान हतार गरेकी थिइन्। त्यसपछि नाटक हेर्न पुगेका दर्शक, सबैले थाहा पाए उनको बाबाको बारेमा। सगरमाथा आरोहण टोलीका सदस्य रोशा बस्नेत र प्रियालक्ष्मी कार्की पनि त्यो नाटक हेर्न गएका थिए। रोजिताले त्यतिबेला देखाएको समझदारी र मन बाँध्ने प्रयासले रोशालाई प्रभाव पार्‍यो।

रोशाले मण्डला थिएटरका राजन खतिवडासँग रोजिताको बारेमा कुराकानी गरेछन्। अनि उनी नेपाल टेलिभिजनमा काम गर्ने थाहा भयो र महिला पत्रकारको समूहमा जोडिन्। ‘रोशा दी ले मलाई फोन गर्नुभयो, आधा घण्टा फोनमा कुरा गर्‍यौँ। बाबा बित्नुभएको भर्खर दुई हप्ताजति भएको थियो।’ घरमा भन्न सक्ने अवस्था थिएन, ‘हामी इमोसनल्ली धेरै नै ट्रमामा थियौ तर मलाई लाग्यो त्यो नै सही समय थियो।’

उनी अन्तर्मुखी स्वाभावकी छिन्, झ्वाट्ट नबोली हाल्ने। बाबा आफूसँग सधैँको लागि टाढा भएको पीडाको समयमा चुरो निर्णय लिन उनलाई मन लाग्यो। ‘मैले सगरमाथाको सपना सानैदेखि देखेको हुँ तर कहिल्यै कसैलाई भनेको थिइन्।’

नले भनिन्, ‘सायद यो नै सही समय थियो, बाबा भएको भए सायद मलाई कहिल्यै सगरमाथा जान दिनुहुँदैन थियो होला।’ हुन पनि आफ्नो सन्तानलाई ज्यान जोखिममा राख्ने काममा कुनै अभिभावकले अनुमति दिन्छ होला? रोजिताले बाबो मृत्युलाई सगरमाथा यात्राको ‘ढोका खोलिनु’ मानेकी छन्। किनभने यो भन्दा अगाडि उनलाई धेरै ठाउँमा जान बाबाले रोकेका थिए।

लुकी लुकी खुसी खोजेको बाल्यकाल

उनी पुरातन सोच भएको नेवार परिवारमा जन्मेकी, हुर्केकी हुन्। पुरानो नेवार परम्परामा विश्वास गर्ने परिवार उनको। ‘परिवारको, मेरो बाबाको स्वाभाव अलि साँघुरो नै थियो।’

‘केटी मान्छे भएर पढ्नु हुँदैन, केटी मान्छे भएर जब गर्नु हुँदैन।’ उनले त्यतिबेलाका पुरातन सोचको बारेमा भनिन् जसले उनलाई पनि छुन भ्यायो। ‘केटी मान्छेले कमाएको पैसा घरमा ल्यायो भने अपसगुन हुन्छ, भन्ने गर्थे। मैले पहिलो पटक साइकल चढेर चोकमा गुडाउँदा माथिबाट अजीले पानी खनाइदिनुभएको थियो।’ किन भने छोरीले साइकल चलाई, इज्जत गयो। त्यतिबेला रोजितालाई ‘इज्जत’ शब्दको अर्थ पनि थाहा थिएन।

उनका ४ दिदीहरु छन् र एउटा भाइ। दिदीहरुको पहलमा स्कूल गइन्। ‘केटाहरुसँग बोल्ने अनुमति थिएन।’ सायद त्यो समय नै त्यस्तै थियो, जति धेरै बाहिर एक्सपोजर भयो बिग्रन्छ भन्ने मानसिकता।

छोरी भएर जन्मिएकोमा प्रगतिको बाधा बन्ने कारणहरु रोजिताको जीवनमा कमी थिएन।

‘गाह्रो भएन, सबै ठाउँमा अनुमति नपाई नपाई अगाडि बढ्दा?’

भिडियो हेर्नुहोस्:

‘सबैभन्दा ठूलो कुरा यदि तपाईले चाहेको काम हो भने तपाईले जसरी पनि गर्नुहुन्छ, किनभने त्यो काममा तपाई इन्जोय गर्नुहुन्छ।’ साथीको समूह, सिक्न खोज्ने बानीले सहज बनायो सबै। उनले भनिन्, ‘यदि तपाईलाई त्यो काम मन परेको छैन भने अरुले देख्दा जति सजिलो भएपनि गार्‍हो हुन्छ।’ तर ‘खाने मुखलाई जुंगाले छेक्दैन।’ उनले एउटा सूत्र अपनाइन्, ‘तपाईँ सही हुनुपर्‍यो बिस्तारै अरु सबै सही हुँदै आउँछ।’

यो जीवनको गोरोटोका घुम्ती पार गर्ने उनी एक्लैको यात्रा हैन। रोजिताका दिदीहरुले उनलाई हरबखत सहयोग गरिरहे। ‘म जे छु, उनीहरुको कारणले छु, मेरो दिदीहरुले आफ्नो करियर मेरो लागि स्याक्रिफाइस गरेका छन्।’ रोजितालाई सिर्जना गर्ने नै दिदीहरु हुन् भन्छिन्।

पहिलो पटक बाबाबाट पाएको ‘कदर’
उनी कक्षा ८ मा पढ्थिन्। बंगलादेशमा इन्टरनेशनल चिल्ड्रेन कन्फ्रेन्स भएको थियो। ‘म नेशनल स्पिच, डिबेट र एस्से कम्पिसिसनमा फस्ट भएको थिएँ।’ त्यो बेलामा उनी बंगलादेश जाने टोलीमा परिन्। यो भन्दा अगाढि काठमाडौँ बाहिर जाने अवसर मिलेको थिएन। ‘बंगलादेशमा जानको लागि बाबालाई धेरै फकाउन पर्‍यो, स्कूलको टिचर आएर सम्झाउनु पर्‍यो’, एकदम धेरै झमेला भयो तर अन्त्यमा अनुमति मिल्यो।

प्रिजेन्टेसन भयो, नेपाल टेलिभिजनले लाइभ गरेको थियो। बाबाको पनौतीका आफन्तले हेरेका रहेछन्। उनले भनिन्, ‘तिम्रो छोरीलाई मैले टिभीमा देखेको थिएँ नि भनेछन् र बाबा एकदमै खुसी भएर आउनुभएको थियो रे।’ उनको अनुहारले फेरि रंग फेर्‍यो। केही चमक थपियो। सायद स्नेहको अनुभूतिले यस्तै प्राकृतिक श्रृंगार थप्छ। उनको अनुहार अझै उज्यालिँदै गयो, ‘टोलमा भएको सानो सानो कार्यक्रममा म होस्ट गर्थेँ, बाबा सबैभन्दा पछाडि बसेर एकदमै ध्यान दिएर सुन्नुहुन्थ्यो, उहाँको अनुहारको भावले नै म उहाँ खुसी भएको अड्कल काट्न सक्थेँ।’

सबैले सोध्ने प्रश्न, ‘दश ठाउँमा हात हालेर के गर्छस्?’

रोजिता बुद्धाचार्यको परिचयसँगै एकदुईओटा अरु कुरा पनि जोडिएको छ।

देख्नेले दशतिर हात हाली भनेर सोध्छन्। उनको बुझाइ ‘एउटा ठूलो रुख बन्नलाई जरा धेरैतिर फैलाउन जरुरी छ’ भन्ने छ।

उनलाई उचाइसँग मोह थियो। साढे दुई वर्ष उमेरमा उनले आमा गुमाइन्। ‘म मेरो आमाको अनुहार सम्झिन सक्दिन।’ उनले भनिन्, ‘हजुरआमा हजुरबाबासँग हुर्किए, बाबासँग एकदमै धेरै डर लाग्थ्यो।’ धेरैजसो समय हजुबाबाको साथमा हुन्थिन्। हजुरबुवाको प्यारी। कहिँ जाँदा होस् अथवा केही खाँदा नै उनी हजुरबाबाको साथ छुटाउँदिनथिइन्। स्वाभाविक रुपमा हजुरबाबालाई धेरै कुरा सोध्ने नै भइन्, ‘मलाई एउटै उत्सुकता थियो, मेरो आमाको अनुहार कस्तो थियो होला? उहाँसँगको सम्झना केही पनि छैन।’

अहिले उनीहरु असनमा बस्छन् तर भक्तपुर उनी हुर्किएको ठाउँ हो। गल्लीमा एउटा सानो घर, घरको कौसीबाट परको पहाड प्रस्ट देखिन्थ्यो। हजुरबुवासँग उनले सधैँ आमालाई देख्ने भेट्ने रहर सुनाउँथिन् र हजुरबुवा फकाउन यस्सै भनिदिन्थे, ‘तिमी तिम्रो आमालाई भेट्ने हो भने त्यो चन्द्रमामा जानु पर्छ।’ हाँस्दै उनले भनिन्, ‘मेरो मनले कसरी त्यो डाँडामा पुग्ने भनेर सोच्यो, नेवारहरुको सबैजसो घर जोडिएको हुने। मलाई लाथ्यो, म घरको छतैछत फड्केर डाँडामा पुग्छु, अनि डाँडाबाट हिमाल अनि हिमालबाट त चन्द्रमामा सजिलै जान सकिन्छ।’ त्यो

बालमष्तिस्कले त्यतिबेला जे सोच्यो, त्यसैले उनको भविष्यको गोरेटो कोर्‍यो। उनी विज्ञानको विद्यार्थी हुन्, उनले ‘एस्ट्रो फिजिक्स’ पढिन्, भर्खरै तारा र आकाशगंगाको विषयमा थेसिस् सकिन्।

उनी खगोलशास्त्रको विद्यार्थी हुन्। यो भन्दा अगाडि ‘ग्यालेक्सी, ब्ल्याक होल र स्टार इभ्यालुएटिङ्ग सम्बन्धि खगोलशास्त्रीय अध्ययनको लागि इटाली, पोल्याण्ड र संयुक्त राज्य अमेरिका पनि पुगिसकेकी छन्।

उनी सञ्चारकर्मी हुन्। नेपाल टेलिभिजनमा आजको विज्ञान कार्यक्रम सञ्चालन गर्छिन्। ‘यो कार्यक्रम चलाउन थालेको ६ वर्ष भयो।’
स्नातक पढ्दा उनी अन्तरिक्ष सम्बन्धी एउटा कार्यशालामा सहभागी भइन्। त्यसैले उनलाई रोजगार पनि बनायो। ‘विपी कोइराला मेमोरियल प्लेनेटेरियम अबजरभेटरी विज्ञा संग्रहालय विकास समिति’ मा आवद्ध छिन्।

‘हजुरबुवाले त्यो बेलामा के सोचेर भन्नुभयो मलाई थाहा छैन तर त्यसले मेरो जीवनको ग्राफ कोरिदियो।’ उनी आभारी पनि छिन्, ‘उहाँले त्यस्तो नभन्नु भएको भए मेरो ध्यान अन्त हुन्थ्यो, म आकाशलाई हेरेर रातदिन बस्दिनथे होला, खेल्नमा नै धेरै ध्यान लगाउथे होला।’

सगमाथा जानु अर्कै जीवनको स्वाद चाखेको जस्तो

सगरमाथाको यात्रा भइरहेको जीवनको भन्दा फरक स्वाद चाखेको जस्तो भयो। एक वर्षको समयमा उनले अर्को रोजिताको जीवन जिइन्।

‘हुन त स्पन्सरसिपको लागि कुद्न, घरपरिवारलाई बुझाउन, शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सारै गाह्रो भएको थियो।’ उनी अनुभूति सुनाउन थालिन्, ‘काठमाडौँको संघर्ष छुट्टै छ, तर काठमाडौँबाट लुक्ला सम्मको जीवन छुट्टै छ।’

त्यहाँ जीवनको संघर्ष, भारी बोक्ने गधा, खच्चर, चौरी देखि तिनका गोठाला, तिनले भाषा बुझेर हाम्रो तालमा हिँडेको, दुईओटा खुट्टामात्र अट्ने राम्ररी हिड्न नमिल्ने साँघुरो बाटोमा लय र ताल मिलाएर निकालेको ट्वाकटुक आवाजले रोजिताको मनलाई गुञ्जायो। चाखलाग्दो कुरा हिमालमा आफूलाई धेरै हेरिने रहेछ। बेसक्याम्प सम्मको संसार छुट्टै। त्यो भन्दा माथिको संसार छुट्टै। ‘कथामा वर्णन गरिएको एलियनको सुन्दर संसार जस्तो हाहाहा।’

उनको अनुहारमा हिमालले छरेको उज्यालो प्रस्ट देखियो। खुसीले मस्त हाँसिन् उनी।

सगरमाथा यात्राका क्रममा रोजिता।

लोबुचेसम्म अलिअलि सेवा सुविधा छ। त्यो भन्दा माथि छ वास्तविक जीवन। त्यो भन्दा माथि गएपछि अरुले हेरचाह गर्छु भनेर पनि नहुँदो रहेछ। ‘दिमागी रुपमा आफूलाई स्वस्थ्य राखेन, आत्मविश्वास कम गर्‍यो वा आफूलाई त्यो अवस्थामा अड्याउन सकेन भने ज्यान जानलाई एक क्षण नै काफी छ।’ उनले यात्रा स्मरण गरिन्। उनीसँगै गएकी प्रियालक्ष्मी कार्की स्वास्थ्य अवस्था ठीक नभएकोले चुचुरोमा पुग्न सकिनन्। अर्को साथी कल्पना महर्जन बिरामी भएकी थिइन् पछि उनलाई सञ्चो भयो, उनी चुचुरोमा पुगिन्।

‘स्वास्थ्य हाम्रो हातको कुरा होइन, माथि जाँदा एकदमै तालिमप्राप्त शेर्पा पनि बिरामी हुन सक्छ।’ उनले ज्यान जोखिमका पाटाहरु सुनाइन्, ‘हाम्रो टिमका ३ जना शेर्पा बिरामी हुनुभएको थियो। यो सबै हाइ अल्टिच्युटसँग हाम्रो फोक्सोले कसरी ग्रहण गर्छ भन्नेमा भर पर्दो रहेछ।’ उनको एक्पेडिसनको लिडर फूर्वा तेञ्जिङ्ग शेर्पाले भनेका थिए रे, ‘तिमीले आफ्नो बेस्ट दिने हो, माथि के हुन्छ त्यसमा कसैको नियन्त्रण हुन्न, कसैलाई थाहा हुन्न।’

रोजिताले बेस क्याम्पबाट नुप्से र लोलाङ हिमाल भुईँबाटै उठेको नै देखिन्। उनी हिमालसँग कुरा गर्थिन्, ‘माथि हिमालमा पहिरो आयो भन्छन्, तिम्लाई कस्तो लाग्छ होला त्यो बेलामा। तर हिँड्न थालेपछि ‘वाउ’ भन्ने भावना नै आउँदैन, मात्र हिँड्नु पर्ने हुन्छ, फोकस धेरै हुनुपर्ने।’ त्यो बेला हरेक क्रियाकलापमा शक्ति सञ्चय गर्नुपर्ने हुन्छ। समूहकी अर्की साथी देउराली चाम्लिङले भनेकी थिइन्, ‘हिमाल चढ्नु साधना गर्नु हो।’ यो कुरा साँच्चै हो जस्तो लाग्यो। ‘हुन पनि जति सुकै फराकिलो बाटो भएपनि दुई पाइला अट्ने बाटोमा मात्र ध्यान हुने रहेछ।’

उनले हिमालको सुन्दरता अझै वर्णन गरिन्। उनीहरु भन्दा अगाडि हिँडेका चिनियाँ टोलीहरु रातको समयमा आरोहणमा निस्किए। खुम्बु आइसफल नजिकै थियो। त्यो टोलीले टर्च बालेर हिमाल उक्लिरहँदा मानिसको आकृति होइन, टाउकोमा भएको टर्चलाईमात्र देखिन्थ्यो। ‘माथिपट्टी शुक्र, अनि चन्द्रमा अनि त्यो टर्चलाइटहरु तारा जस्ता देखिएका थिए। त्यो पृथ्वीको भाग नभई आकाशको एक छेउ जस्तो देखिएको थियो, असाध्यै दामी।’

उनलाई चुचुरोमा पुग्नलाई ९ घण्टा लाग्यो। उनी शेर्पा फुर्वा र एक चिनियाँसँग चुचुरोमा पुगिन्। फुर्वाले उनलाई राम्ररी हिँडाए, आराम गरेर बस्न दिएनन् रे। ‘म भोक लाग्यो, तिर्खा लाग्यो भन्थे, तर उनलाई थाहा थियो, कहाँ खान दिनुपर्छ कहाँ आराम गर्न दिनुपर्छ।’ हाँस्दै उनले भनिन्, ‘मलाई बाल्कुनी भन्ने ठाउँमा आराम गर्न दिनुभयो र एउटा हल्स मात्र दिनुभयो। कुनै बेला म रिसाए पनि।’

उज्यालो नहुँदै पुगे। ‘म त इमोशनल हुन थालिसकेको थिएँ, एक वर्षदेखिको जे हेर्न खोजेको त्यही मेहनत अब एकछिनमा देखिँदै थियो। सायद अब फेरि त्यो समय आउला नआउँला।’

हेरिरहेकी थिइन्, जब घाम लाग्यो, त्यसपछिको संसार अर्कै थियो, ‘स….ब आफूभन्दा तल’ उनी अलि बेर रोकिइन्, ‘पर घामको एक रेखाले छोयो, त्यो असाध्यै अद्भुत थियो। शब्दले त्यसको बयान नै गर्न सक्दैन।’

रोजितालाई जब शेर्पाले ‘यही हो पिक’ भने, तब उनी थ्याच्च बसेर घ्वाँघ्वाँ रोइन् रे। शेर्पाले सगरमाथाको चुचुरोलाई लगाइदिने खादा दिए, उनले लगाइदिइन्। त्यहाँ शून्यता छायो, ‘कोही एक शब्द बोलेनन्।’

त्यसपछि विस्तारै साथीहरु आइपुगे, रोशा, कल्पना र देउराली। पाँच जनामा ४ जना पुगे। अनिसँगै समूहलाई सफल बनाए। रोजिताले आफ्नो मनभरी साँचेको माया आँखाबाट सगरमाथा सामु पोखिन् र जीवनभरलाई पुग्ने सम्झनाका तरेलीलाई मनभरी साँचेर फर्किइन्।

‘एउटा यात्रा सकियो, तर अरु बाँकी छ। सगमाथा आरोहणपछि हामीले गर्नुपर्ने कामहरु अझै बाँकी छन्।’ उनले आफ्नो यात्राको कडी महिला पत्रकारको समूहलाई नै मानेकी छन्। ‘हामी एक नभएको भए हाम्रो अस्तित्व नै रहने थिएन। ट्रेनिङको समयदेखि हाम्रो समूह नै सफल होस् जस्तो लाग्थ्यो, भयो।’

जीवनमा लगनशीलता र कडा परिश्रम ठूलो कुरा जस्तो लाग्थ्यो। भाग्यमा उनलाई त्यति विश्वास थिएन। तर सगरमाथाको लागि भाग्यले पनि साथ दिनुपर्ने रहेछ। रोजिता क्याम्प–२ मा पुग्दा दुई दिन बेस्सरी बिरामी भएकी थिइन्।

‘शेर्पा दाइहरुको अनुभव र स्याहारले म बिरामी भएर काठमाडौँ आउनुको साटो निको भएर सगरमाथा उक्लिएँ।’ शेर्पाले गरेको सहयोगको सम्मान गरिन् उनले, ‘१०,१० मिनेटमा मलाई भोक लाग्यो, मलाई ट्वाइलेट जान मन लाग्यो भन्थे, झिँजो नमानी सहयोग गरेँ, समिटको बेलामा मेरो रजस्वला भएको थियो, म कमजोर थिएँ। मलाई दुखाइ पनि धेरै थियो र रगत पनि धेरै भइरहेको थियो।’ औषधिले पनि २० मिनेट भन्दा धेरै काम गरेन। उनले शेर्पालाई भनिन्। क्याम्प टु पुग्नु अगाडि ९० डिग्रीमा उक्लने बेलामा उनले हार मानेकी थिइन्।

‘शेर्पाले मलाई पछाडिबाट धकेल्छु भनेर आत्मविश्वास दिलाउनुभयो। म उक्लदै गर्दा पछाडि हेरेको त उहाँ आउनु नै भएको रहेनछ।’ उनले भनिन्, ‘माथि जाँदा मेरो ‘ब्लिडिङ्ग रोकियो, म तन्दुरुस्त भएँ। त्यो मेरो भाग्यले मलाई साथ दिएको हो।’

सगरमाथको काखमा लडिबुडी गरेर, मनको बह पोखेर धेरै उतारचढावलाई सम्हाल्दै उनी फर्किइन्, ‘सगरमाथा आरोही रोजिता भएर, तर उनले यो यात्राबाट त्यो चिज पाइन् जसको लागि उनी सानैबाट तड्पिएकी थिइन्। मुसुक्क मुस्कुराएर उनले भनिन्, ‘सगरमाथामा मैले मेरो आमा पाएँ।’


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

साउन २६, २०७५ मा प्रकाशित