कर्मचारीले भत्ता नपाउने भएपछि संसद बैठक स्थगित

धनगढी- कर्मचारीले भत्ता नपाउने भएपछि प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ । शनिबार विहान ८ बजे बोलाईएको बैठक अन्तिम समयमा प्रदेशसभा सदस्यलाई एसएमएस पठाएर स्थगित गरिएको हो ।

शनिबारको प्रदेश सभा बैठकमा मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र सेवा सुविधा तय गर्न बनेको विधेयकबारे छलफलपछि पारित गर्ने र केही सासदले शून्य समयमा बोल्ने कार्यसूची थियो ।

तर, बैठक किन स्थगित भयो भन्नेबारे प्रदेश सभा सदस्यलाई जानकारी गराईएको थिएन ।

‘शनिबार कर्मचारीको विदा हुन्छ । विदाका दिन काम गर्दाको उनीहरुलाई भत्ता पनि हुँदैन ।’ एक प्रदेशसभा सदस्यले भने, ‘कर्मचारीको आग्रहमा सभामुखले बैठक स्थगित गरेको भन्ने बुझिएको छ ।’

प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माका अनुसार प्रदेशसभा सदस्यले बैठक भत्ता दैनिक ७ सय ५० रुपैया पाउने गरेका छन् । उनका अनुसार कर्मचारीका लागि भने भत्ताको व्यवस्था गरिएको छैन ।

साउन १ गतेदेखि खाजा खर्च शिर्षकमा दिईने एक सय रुपैया पनि कटौती गरिएको छ । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सरकार गठन भएको ६ महिनामा शनिबार वा सार्वजनिक विदाका दिन ४ पटक संसद बैठक बसेको छ ।

स्रोतका अनुसार विदाका दिन बैठकमा काम गरेवापत सेवा सुविधा नपाईने भन्दै कर्मचारीले शनिबार वा सार्वजनिक विदाका दिन बैठक नराख्न सभामुखलाई दवाव दिने गरेका छन् ।

साउन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्