राजधानीमै सुस्त मनस्थितिकी बालिका घरबेटीबाट बलात्कृत

सांकेतिक तस्बिर

काठमाडौं : देशका विभिन्न भागमा भएका बलात्कारका घटना बाहिर आइरहेका बेला राजधानीमै सुस्त मनस्थितिकी एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ।

काठमाडौंको जोरपाटीमा गत शनिबार (१९ गते) ५९ वर्षीय हरिप्रसाद तिमिल्सिनाले आफ्नै घरमा कोठा भाडामा लिएर बस्ने १४ वर्षिया बालिकालाई बलात्कार गरेका हुन्। दिउँसो घरका अन्य सदस्यहरु आराम गरिरहेको बेलामा बाथरुम गएकी पीडितलाई नजिकै अर्को कोठामा बस्ने घरबेटीले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पीडित परिवारका अनुसार बालिका सुस्त मनस्थितिकी छिन्। साउन १९ गते दिउँसो घटना भएको र त्यस लगत्तै महानगरीय प्रहरी वृत्त बौद्धले दोषी तिमिल्सिनालाई पक्राउ गरेको छ।

पीडित परिवारका अनुसार उनीहरु १२ वर्षदेखि त्यही घरमा कोठा भाडामा लिएर बस्दै आएका छन्। महानगरीय प्रहरी वृत्त बौद्ध डिएसपी श्याम राईले घटनाको अनुसन्धान भइरहेको देश सञ्चारलाई जानकारी दिए।

राईले टेलिफोनमा भने, ‘दोषीलाई हामीले त्यसै दिन पक्राउ गरेर अदालतमा पेश गरिसकेका छौं। म्याद थप भएर अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

घटनापछि बालिकाको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ। स्वास्थ्य परीक्षणको रिपोर्ट आइनसकेको डिएसपी राईले जानकारी दिए।

साउन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्