प्रिमियर लिग नयाँ सिजन

सिजनको पहिलो खेलमा चेल्सीको जित, अरु टिमले के गरे ?

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । सिजनको आफ्नो पहिलो खेलमा जित निकाल्दै चेल्सीले लिगमा राम्रो सुरुवात गरेको छ । नयाँ प्रशिक्षक माउरिजिओ सारीले लिगमा विजयी सुरुवात गर्न सफल भए ।

अवे मैदानमा भएको खेलमा चेल्सीले हडर्ल्सफिल्ड टाउनलाई ३–० ले हराएको हो । चेल्सीको जितमा एन’गोलो कान्टे, जर्जिन्हो र पेड्रोले गोल गरे ।

३४ औँ मिनेटमा कान्टेले भली गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको अन्तिम समयमा पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको चेल्सीका लागि ८० औँ मिनेटमा पेड्रोले गोल गर्दै ३–० को जित दिलाए ।

यस्तै राति नै भएको खेलमा वाट्फोर्डले पनि जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा ब्राइटनलाई २–० ले हराउँदै वाट्फोर्डले लिगमा विजयी सुरुवात गरेको हो ।

त्यसअघि शनिबार बेलुका भएको खेलमा टोटनह्यामले न्युक्यासललाई २–१ ले हराउँदै विजयी लिगमा विजयी सुरुवात गर्‍यो । माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामको जितमा भेर्टोन्घेन र डेल अलिले गोल गरे । न्युक्यासलका लागि जोसेलुले एक गोल फर्काए ।

राति भएका अरु खेलमा बोर्नमाउथले नव प्रवेशी कार्डिफलाई २–० तथा क्रिष्टल प्यालेसले नव प्रवेशी फुलह्यामलाई पनि २–० ले नै हरायो । अर्को खेलमा एभर्टन र वुल्भसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

साउन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्