धनुषामा फेरि ट्रिपरले लियो एक युवकको ज्यान

जनकपुरधाम – ट्रिपरको ठक्करबाट धनुषामा एकजनाको ज्यान गएको छ । शनिबार दिउँसो जनकपुर–ढल्केबर सडकखण्डमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा धनुषाधाम नगरपालिका–५ नौंसय बिघा बस्ने २६ वर्षीय उमेश दासको ज्यान गएको हो ।

क्षिरेश्वरनाथ नगरपपालिका–५ महेन्द्रनगरस्थित पुल नजिकै ढल्केबरबाट जनकपुरतर्फ आउँदै गरेको बा ८ ख ११७० नम्बरको ट्रिपरले विपरित दिशातर्फ जाँदै गरेको ज १० प ८४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उमेशको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र चालकलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको जनाइएको छ । ट्रिपरको गति नियन्त्रण गर्न धनुषाका सम्पूर्ण ट्रिपर चालकलाई टाइम कार्ड लागु गरिएको छ तर टाइमकार्ड कार्यान्वयन हुन सकेको छैन् ।

साउन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्