क्रिकेटर करणलाई गण्डकी प्रदेश सरकारको एक लाख

नेपाल अब सगरमाथा मात्रै होइन क्रिकेटको देशले पनि चिनिएको छ- करण केसी

पोखरा- क्रिकेटर करण केसीलाई गण्डकी प्रदेश सरकारले एक लाख नगदसहित सम्‍मान गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले क्रिकेटर करन केसीलाई प्रदेशकोतर्फबाट १ लाख नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

सम्‍मान कार्यक्रममा बोल्‍दै मुख्यमन्त्री सुब्बाले खेलकुदमा अथाह पर्यटनको सम्भावना रहेको भन्दै प्रदेश सरकार खेलकुद विकासकालागि विशेष योजनाकासाथ अघि बढ्ने बताए। उनले भने, ‘ करण जस्ता खेलाडीलाई प्रदान गरिएको एक लाख नगद थोरै भए पनि यो सम्मानले खेलप्रति नयाँ पुस्ताको रुचि अझै बढाउनेछ। यसले थप ऊर्जा दिनेछ।’

गण्डकी प्रदेशको खेलकुदको बिकासका लागि सामाजिक बिकास मन्त्रालयले खेलकुदका पाँच वटा छुट्टा–छट्टै विषयमा प्रतिवेदन तयार गरि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको उनको भनाई थियो। यसका लागि मुस्ताङको लोप्साङ खर्कमा हाइ अल्टिच्युड् खेल मैदान निर्माण भएपछि त्यसले प्रदेशको खेल बिकास संगै पर्यटन बिकासमा ठूलो सहयोग पुग्ने विश्वास व्‍यक्ति गरे।

उनले भने-‘यस बारेमा प्रधान मन्त्रि केपी ओलीलाई समेत यसबारे सबै ब्रिफिङ्ग गरेको छु।” उनले प्रदेशका ८५ वटै स्थानिय निकायमा एक स्थानिय तह एक खेल मैदानको अवधाराणा संगै अन्य खेलकुदका पूर्वाधार बिकासका लागि प्रदेश सरकारलागि परेको समेत बताए।

सम्‍मानपछि कार्यक्रममा बोल्‍दै क्रिकेटर करण केसीले नेपाललाई अब विश्वमा क्रिकेटरको देश भनेर चिनिन थालेको बताए। उनले भने-‘अब नेपाल विश्वमा सरमाथा सँगै क्रिकेटको देश भनेर चिनाउने छौ।’ प्रदेश क्रिकेटलाईमाथि उठाउन सबैको सहयोग र पहल हुनु पर्ने उनको जोड थियो।

यस्तो गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेबी पुनले आफ्नो मन्त्रालयको मुख्य जिम्मेबारी स्वस्थ्य, दक्ष र अनुशासित नागरिक उत्पादन गर्ने लक्ष्य बताइन्। मन्त्रालयले खेलकुदका माध्यमद्वारा प्रदेशलाई पर्यटनको हब बनाउने योजनाका साथ अगाडी बढेको बताउँदै प्रदेशको खस्कदो खेलकुदलाई माथि उठाउन खेलाडीलाई बन्द प्रशिक्षणमा राखेरै प्रशिक्षण दिने व्यवस्थाका लागि स्रोतको खोजी भइरहको उनको भनाई थियो।

कार्यक्रममा गण्डकी प्रदेश सांसद एवम नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी, पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिशी, नेपाल ओालम्पिक कमिटीका सदस्य एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ लगायतले गण्डकी प्रदेशको खेलकुदलाई माथी उठाउन र खेलाडीहरुको जीवनवृत्ती संगै रोजगारका बारेमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरेका थिए।

साउन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्