चाहियो एउटा जिउँदो सांसद

एउटा बालक या बालिकाको अकाल मृत्यु सिंगो राष्ट्रको क्षति मानिन्छ। मुलुकका भविष्यका पर्याय मानिने एउटा बालकको अपहरण र हत्या भएको छ।

विभिन्न उमेरका बालिका र महिलाहरुको बलात्कार र केहीको हत्या भएको छ। विगत ४ वर्षमा ४ हजार ५ सय जति बलात्कारका घटना भएका छन्।

मुलुकको शीर झुकेको छ। नेपाल असुरक्षित राष्ट्रको दर्जामा अंकित हुन हुन थालेको छ, अन्तर्राष्ट्रिय जगतमा।

जनताको सर्वोच्च प्रतिनिधि थलो संसद मौन छ। मौन मात्रै हैन, ऊ संवेदनहीन या निर्जीव नै देखिन्छ। मुलुकको भविष्य हाम्रो हातबाट खोसिँदा उनीहरुको अस्मिता लुटिँदा बोल्न नसक्ने, सरकारबाट सुरक्षाको प्रत्याभूतिको आश्वासन लिन नसक्ने र मुलुक शोकमा डुब्दा एक थोपा आँसु चुहाउन नसक्ने सांसदलाई नेपालीका सांसद कसरी भन्ने?

काख रित्तिएका या बलात्कृत एउटा छोरीको आमा या बासमक्ष पुगेर सहानुभूति दिन नसक्ने सांसद के सांसद ? धिक्कार भन्नु असंसदीय या अमर्यादित होला। तर नेपाल आमाका हरेक पीडित सन्तान र परिवार आज सांसदबारे अरु कुनै शब्द प्रयोग गर्न तयार छैनन्।

जघन्य अपराधबारे सदनमा सरकारलाई जवाफदेही नबनाएर अापराधिक प्रवृत्ति राजनीतिक नेतृत्वभन्दा शक्तिशाली भएको सन्देश गइरहेको छ। होसियार माननीयहरु ! संसद भत्ता र विशेषाधिकारका लागि मात्र हैन।

बलात्कारका घटनाले सिंगो नेपाललाई आक्रोशित बनाए पनि संसदका महिला र पुरुष सदस्यको मौनताको कारण सडकमा केही ‘फेमिनिस्ट’हरु ‘बलात्कारी’लाई फाँसीको सजाय माग गरिरहेका छन्।

अरु केहीको अभिव्यक्तिले सिंगो पुरुष समाजलाई ‘बलात्कारी’ का रुपमा चित्रण गर्न थालेको छ। तर मौनताबाट समग्र संसद अपराधीको मनोबल बढाइरहेको छ।

महिला र पुरुषबीच विभाजन या फरक मान्यताको विषय नै यो हैन। तर, दुवै लिंगका सांसदहरु (तेस्रो लिंगीको उपस्थिति छैन यो संसदमा) ले मुलुकलाई पराजित बनाएका छन्।

जघन्य अपराधबारे सदनमा सरकारलाई जवाफदेही नबनाएर अापराधिक प्रवृत्ति राजनीतिक नेतृत्वभन्दा शक्तिशाली भएको सन्देश गइरहेको छ। होसियार माननीयहरु ! संसद भत्ता र विशेषाधिकारका लागि मात्र हैन।

साउन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्