छुटाउनै नहुने यी छ हिन्दी फिल्म

मदर इन्डिया।

के तपाईंलाई आफूले हेरेको पहिलो फिल्मको नाम सम्झना छ? निश्चय पनि धेरै जनालाई पहिलो प्रेम, पुरस्कारलगायत जीवनमा भएका धेरै पहिलो घटनाबारे सम्झना हुन्छ। फिल्मबारे पनि होला। मलाई भने न पहिलो फिल्मको सम्झना, न मैले लेखेको वा प्रकाशित पहिलो लेखकै सम्झना छ।

हो, तपाईंंहरुले झैँ विद्यार्थी जीवनमा फिल्म चाहिँ भरपूर हेरियो। अहिले फिल्मप्रति आफ्नो त्यो युवा जोश सम्झेर हाँसो उठ्छ। अब त यो सब सम्झेर ‘जाने कहाँ गए वो दिन कहते थें तेरी राह मे नजरोँ को हम बिछायेगें’ गीत गुन्गुनाउन नै श्रेयस्कर लाग्छ। स्मृति पनि अचम्मकै क्षमता हो मनुष्य जातिसँग। एकपटक संज्ञानमा आएको कुरा बिर्सने उपाय नै कहाँ छ?

भर्खरैको प्रसंग हो, टीभीको ‘रिमोट’ थिच्दै जाँदा कुनै ‘च्यानल’मा ‘आनन्द’ सिनेमा चलिरहेको थियो  मलाई मन पर्ने फिल्ममध्येको एक ‘मास्टर पीस’ नै थियो यो। बस्, के थियो स्मृति आफूले हेरेमध्येका आफूलाई सर्वोकृष्ट लाग्ने सिनेमाको नाम सम्झिन थाल्यो। यस्तो पो बन्न गयो यो ‘लिष्ट’!

१. मदर इण्डियाः सन् १९५७ मा ‘रिलिज’ भएको यो पिक्चर महबुब खानले निर्देशित गरेका थिए। राजकुमार, राजेन्द्र कुमार, सुनील दत्त र नरगिसको मुख्य भूमिका थियो र फिल्म स्त्रीप्रधान कथावस्तुमा आधारित थियो। तात्कालिक भारतीय परिवेशमा गाउँ, घर समाजमा स्त्रीको भूमिका, अंग्रेजको दासताबाट मुक्त तर आफ्नै वर्ग, समाज र धर्मको ठेकेदारीको चंगुलमा जकडिएको भारतीय ग्रामीण परिवेशको यथार्थ चित्रण गरेको थियो यो फिल्मले। नारी उन्मुक्ति र नारी सशक्तीकरण विषयलाई लिएर भारतमा अनेकौँ फिल्म बने, तर ‘मदर इण्डिया’ ले आर्जन गरेको ख्यातिको छेउछाउ पनि पुग्न सकेनन्।

हिन्दी सिनेमाको त्यो कालखण्ड गीत संगीत प्रधान रहेको थियो। र, नौशादको सुमधुर संगीत रहेको ‘मदर इण्डिया’ का गीतमा रफी, लता, मन्नाडे, शमशाद बेगमले आवाज दिएका थिए। भारतका नामूद शायर शकील बदायूनीले यस फिल्मका गीत लेखेका थिए। यदि मेरो स्मृति दुरुस्त छ भने ‘ओस्कर’का लागि नामांकित हुने यो नै पहिलो भारतीय फिल्म थियो।

जिस देशमेँ गंगा बहती है।

२. जिस देश मे गंगा बहती है: भारतीय संस्कृतिमा डाँकाको पेशा कति पुरानो होला? केही अनुमान गर्न सक्नु हुन्छ?? धार्मिक साहित्यले त रामायणका पुरोवक्ता वाल्मिकीलाई डाँका भएको नै उल्लेख गरेको पाइन्छ। अंगुलिमालबारे बौद्ध साहित्यमा डाँका भएको सहजै पढ्न पाइन्छ। भारतीय जनजीवनको जुनसुकै कालखण्डमा पनि डाँकाको उपस्थिति रहेको सत्य तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन।

स्वतन्त्रतापछिको भारतमा पनि यो विकराल समस्या चारैतिर व्याप्त थियो। विनोवा भावेदेखि जयप्रकाश आदिले डाँकाहरुलाई आत्मसमर्पण गर्न प्रेरित गरेको पाइन्छ। देशमा भएको समस्याबारे ‘फिल्म इण्डस्ट्री’ ले मौन बस्ने कुरै हुन्न थियो। यस विषय वस्तुलाई लिएर हिन्दी फिल्म उद्योगले अनेकौं फिल्म बनायो, जस्तै ‘मुझे जीने दो’, ‘शोले’, ‘चम्बल की कसम’, ‘हिमालयकी गोद मेँ,’ ‘कच्चे धागे’ आदि।

यस विषय वस्तुमा बनेको सर्वश्रेष्ठ फिल्म भने ‘जिस देश मे गङ्गा बहती है’ नै रहिरह्यो। सन् १९६० मा निर्माता राज कपुरले आरके फिल्मसको ब्यानरमा यो फिल्म बनाएका थिए। निर्देशक थिए, रघु कर्माकर। मुख्य भूमिकामा राज कपुर स्वयं थिए भने डाँकाको सशक्त अभिनय अभिनेता प्राणले गरेका थिए। गाइने राजु (राजकपुर) ले घाइते डाँका सरदारलाई जोगाउछन्, यत्तिकैमा डाँकाको गिरोह आइपुग्छ, आफ्नो सरदारसहित राजुलाई पनि गिरोहले लिएर जान्छ। सरदारकी छोरी कम्मो (पद्मिनी) सँग राजु प्रेम गर्न थाल्छ। राका (प्राण)ले सरदारलाई गोली हानी आफैँ गिरोह प्रमुख बन्छ। डाँकाहरु नराम्रो हुन् भन्ने बुझेपछि राजुको उद्देश्य उनीहरुलाई आत्मसमर्पण गराउने हुन्छ। र, अन्ततः राजु सफल हुन्छ।

फिल्मको सशक्त पक्ष राजु, कम्मो र राकाको जीवन्त अभिनय थियो। निर्दोष अभिनय गर्नमा राज कपुरले यस फिल्ममा जुन उचाइ छोए, त्यो उनको पछिसम्म पहिचान नै बनिरह्यो।

राजकपुर भन्ने गर्थे, ‘मुकेश इज माइ भ्वाइस।’ साँच्चै नै मुकेशको आवाज जति राजकपुरलाई मेल खान्थ्यो त्यति शायद अरुलाई मेल हुन्न थियो। उनका फिल्मका अधिकांश गीत, शैलेन्द्रले लेख्थे, जुन ‘मेरा नाम जोकर’ फिल्मसम्म चलिरह्यो। ‘तीसरी कसम’ को प्रारम्भिक असफलताले शैलेन्द्रलाई चिरनिद्रामा लग्यो र पछि गएर फिल्म ‘हिट’ भयो। ‘चल त मुसाफिर मोही लियो रे,’ ‘पान खाए सैया हमार,’ ‘दुनियाँ बनाने वाले क्या तेरे मन मे’ र ‘सजन रे झुठ मत बोलो’ गाउँदै शैलेन्द्र खुदा के पास पुगें।

राजकपुरका प्रिय संगीतकार थिए, शंकर जयकिशन। जिस देश मे गंगा बहती है फिल्ममा सो चौकडीले धमाल नै गरेको थियो। ‘बेगानी शादी मे अबदुल्ला दीवाना’ भन्ने वाक्यांश तपाईंहरुले पनि सुनेको/प्रयोग गरेको हुनुहुन्छ भने यो यसै फिल्मको लोकप्रिय गीत थियो।

तीसरी कसम।

३. तीसरी कसम: २००७ को नेपाली राजनीतिक क्रान्तिमा संलग्न भारतीय सहयोद्धा तथा हिन्दी साहित्यमा प्रेमचन्द्रको ‘गोदान’ पछि दोस्रो सर्वश्रेष्ठ उपन्यास ‘मैला आँचल’ का लेखक फणीश्वर नाथ ‘रेणु’ को चर्चित कथा थियो, ‘मारे गए गुलफाम’।

१९६६ मा गीतकार शैलेन्द्रले यस कथामा फिल्म बनाए- ‘तीसरी कसम’। शैलेन्द्रको आँखामा हीरामनको निश्चल, निर्दोष, निर्विकार भूमिका निर्वाह गर्न सक्ने राज कपुरबाहेक को नै हुन सक्थ्यो। निर्देशक बासु भट्टाचार्यले भारतको बिहार राज्यको आञ्चलिक परिवेशमा लेखिएको कथालाई अलिकति पनि चमकधमक र तडकभडकको फिल्मी शैलीमा ढालेनन्। कथाको आत्मलाई मुम्बइया रंग दिने दुष्चेष्टा गरेनन्। फिल्माकंनका लागि ‘लोकेशन’ बिहार राज्यकै अररिया जिलाको ग्रामीण परिवेश रोजे। हीरामन (राजकपुर) गोरुगाडा चालक हो। गोरुगाडामा सामान दुवानी गर्नु, यात्री ओसारपसार गर्नु नै उसको आजीविका हो। हीरावाई (वहीदा रहमान) नृत्यांगना हुन्। हीरामनले आफ्नो गोरुगाडामा हीरावाईलाई सवारीका रुपमा बसाएर निर्दिष्ट स्थलतिर जाँदै हुन्छ। उसले बाटोभरि हीरबाईलाई कथा र लोकगीत सुनाउँदै जान्छ। ऊ मनमनै हीरावाईलाई प्रेम गर्न थाल्छ।

यो प्रेम कथा हो र होइन पनि। धेरै समीक्षकहरुले यसलाई वियोगान्त प्रेमकथा भनी उल्लेख नगरेका होइनन्। कृष्ण र राधाको प्रेमलाई विरह वियोगको कथा भन्नेहरुसँग चर्चा गर्नु नै व्यर्थ हुन्छ। कृष्ण राधाको कथामा विरह र वियोग नै प्रेमको पराकाष्ठा हो।

यो फिल्मको कथा, मूल कथा नै रेणुको र नवेन्दु घोषको पटकथा एवं कथाकार ‘रेणु’ स्वयंले लेखेका संवाद, राजकपुर र वहीदाको अभिनय, वासु भट्टाचार्यको निर्देशन एवं शंकर जयकिशनको सुमधुर संगीतले यस फिल्मलाई हिन्दी सिनेमाको ‘माइल स्टोन’ मै दर्ज गरायो। प्रसिद्ध निर्देशक ख्वाजा अहमद अब्बासले भनेका थिए, ‘तीसरी कसम’ सेलुलाइडमा लेखिएको कविता हो।’ फिल्मका अधिकांश गीत निर्माता शैलेन्द्र स्वयंले लेखेका थिए। सिनेमा प्रेमीहरुले यस फिल्मलाई खोजेर हेर्नुपर्ने सुझाव वाञ्छनीय छ। वरिष्ठ पत्रकार किशोर नेपालज्यूका अनुसार यो फिल्म कला र भावनाको बबण्डर हो।

गाइड।

४. गाइडः प्रेमको स्वरुप एकनास कहाँ रहन सक्छ। प्रेम हो त मानवीय भाव उत्प्रेरणा नै। मानिस प्रगतिशील, मानिसको प्रगतिसँगै समाज प्रगतिशील, सोच प्रगतिशील, संस्कृति प्रगतिशील, उठबस, चालचलन रहनसहन सबै नै प्रगतिशील हुँदै अत्याधुनिक भइसकेको अवस्थामा मानवीय भाववृत्ति प्रेम पनि ‘मोर्डन’ नभई कसरी रहन सक्थ्यो र? २१ औं शताब्दीमा प्रेम ‘लिभिङ टुगेदर’ को चरणमा प्रवेश गरिसकेको कालखण्डका युवायुवतीलाई राजु गाइडको प्रेमकथामा कुनै रस नहुन सक्छ। तर १९६५ मा ‘रिलिज’ भएको यस फिल्मले तहल्का मच्चाएको थियो। ‘बेस्ट एक्टर,’ ‘बेस्ट एक्ट्रेस’, ‘बेस्ट राइटर,’ ‘बेस्ट सिनेमा,’ ‘बेस्ट डाइरेक्टर,’ ‘बेस्ट डायलग,’ ‘बेस्ट फोटोग्राफीको पुरस्कार गाइडले पाएको थियो।

राजु (देवानन्द) गाइड हुन्छ। एउटा बुढो पुरातत्ववेत्ता आफ्नी युवा पत्नी रोजी (वहीदा रहमान) लाई लिएर घुम्न आउँछन्। उनका गाइड हुन्छन् राजु।

बुढो पुरातत्वविद् आफ्नो काममा तल्लीन हुन्छन्। पत्नीलाई समय दिन सक्दैनन्। रोजीलाई नृत्य गर्न औधी रहर हुन्छ। राजु उनलाई नृत्य गर्न प्रेरित गर्छन्। राजुको साथ पाई रोजीको जीवन परिवर्तन हुन्छ। तर राजुले प्रेमको ठूलो मूल्य चुकाउनुपर्छ।

फिल्मको गीत संगीतलाई त संगीत प्रेमीहरुले ५० वर्षपछि पनि बिर्सन सकेका छैनन्। निर्देशक विजय आनन्दले फिल्मको अन्तमा प्रेमलाई दर्शनमा रुपान्तरण गर्ने कार्य कुशलतापूर्वक देखाएका छन्। आज पनि यो फिल्म हेर्दा राजुको चरित्रले दर्शकका मनमा प्रेमदेखि त्याग र वैराग्यको भाव सम्प्रेषण गर्छ।

प्यासा।

५. प्यासाः लेखक निर्देशक अबरार अल्बीको एउटा वेश्या (गुलाबो) सँग जम्काभेट हुन्छ। भेट चिनजान र बिस्तारै मित्रतामा परिणत हुन्छ। अबरारको आर्थिक अवस्था कमजोर हुँदा तिनले मद्दत पनि गरिन्। पछि फिल्म निर्देशनमा व्यस्त भएपछि अबरारले उनलाई भेट्न पाएनन्। एकदिन अबरार उनीसँग भेट गर्न भनी बस चढेर जाँदा बाटोमा शव यात्रा देखे। उनले बसको झ्यालबाट त्यो लाशको अनुहार देखे, त्यो गुलाबोकै मृत शरीर थियो।

एक दिन कुरा कुरैमा अवरारले आफ्नो मनको यो वेदना आफ्ना साथी गुरुदत्तलाई सुनाए। गुरुदत्तले यही घटनाको सेरोफेरोमा फिल्म बनाउने निर्णय गरे। अवरारलाई कथा, पटकथा लेख्ने जिम्मा दिइयो।

भारतले ब्रिटिश दासताबाट मुक्ति पाएको १० वर्ष नहुँदै समाजमा नयाँ मालिकहरुको प्रभुत्व देखा परिसकेको थियो। देश आजाद हुँदा पनि अधिसंख्य आममानिस निराशा, अवसाद र कुण्ठाले सन्त्रस्त बनेका थिए। गुरुदत्तको ‘प्यासा’ तात्कालीन भारतीय समाजको चरम नैराश्यताको सजीव प्रतिविम्ब बन्यो।

प्यासा जस्तो कृति कसैले चाहेर/बनाएर बन्ने होइनन्। बस्, बनाउने क्रममा बन्न पुग्छन्। सबै खाले संयोग आफ्नो चरममा घटित हुन पुगे गुरुदत्तको प्यासामा। गीतकार साहिर लुधियानवीलाई गीत लेख्दा युवा हृदयको अवगुंठन, हताशा, समाजको हृदयहीनताप्रति आक्रोशको पराकाष्ठा कहिले समर्पण र पराजय अनुभूति त कहिले विद्रोह आदि आदि ज्वलन्त भाव काव्यात्मक रुपमा लेख्ने चुनौती थियो भने सचिनदेव वर्मनलाई ती गीतलाई चिरकर्णप्रिय बनाउने चुनौती थियो– जला दो इसे फुँक डालो यह दुनिया, मेरे सामने से हटा लो यह दुनिया, तुम्हारी है तुम्ही संभालो यह दुनिया। फिल्मको ‘क्लाइमेक्स’ दृश्यमा फिल्मांकन गरिएको गीत थियो यो। सबै दृष्टिकोणले प्यासाको ‘क्लाइमेक्स’ अद्वितीय थियो भन्नुमा अत्युक्ति हुन्न।

तपाईं फिल्म प्रेमी हुनुहुन्छ र यदि तपाईंले प्यासा हेर्नु भएको छैन भने मान्नुस् तपाईंले केही महत्वपूर्ण कुरा छुटाउनु भएको छ।

टाइम म्याग्जिनको ‘आल द टाइम टप’ सय फिल्ममा तीनवटा भारतीय सिनेमाले स्थान पाए, त्यसमा एउटा प्यासा हो। त्यसैगरी टाइम म्याग्जिनकै ‘टप टेन रोमाण्टिक फिल्म’मा पनि प्यासाले स्थान पायो।

आनन्द।

६. आनन्दः ‘जिन्दगी बडी होनी चाहिए लम्बी नही बाबू मोशाय।’
हर हमेशा बकबक गरी आफ्नो ‘बडी’ जिन्दगीलाई सानो समयमा बढीभन्दा बढी बाँच्न चाहने आनन्द सहगल (राजेश खन्ना), डाक्टर भएर पनि आफ्नो बिरामीलाई विस्तारै मृत्युको मुखमा जानबाट रोक्न असफल डा. भाष्कर बनर्जीको (अभिताभ बच्चन) हताशा, निराशा, मृत्युको प्रतिछायामा डाक्टर र रोगी बीच हुर्किएको मित्रता डाक्टरको निरीहता र मृत्यु नजिकिँदै आउँदा रोगीको पलपलमा युगयुग बाँच्ने उन्मुक्त जीवन दृष्टिकोण नै ‘आनन्द’ फिल्मको कथानक हो।

यो फिल्मलाई राजेश खन्नाको फिल्मी जीवनको सर्वोत्कृष्ट फिल्म मान्नुमा शायदै कसैले असहमति व्यक्त गर्ला?

समुद्र किनारमा ‘बैलुन’ सँग खेल्दै छायांकन गरिएको गीत ‘जिन्दगी कैसी है पहेली हाय, कभी तो हँसाय कभी यह रुलाय’ मा ‘आनन्द’का आनन्दको जुन घनीभूत पीडा व्यक्त हुन्छ, त्यसले जुनसुकै दर्शकलाई अवचेतनमा त्यसको अनुभूति गराइ छाड्छ।

२०१७
ज्ञान मित्र।

अभिनयमा जसलाई ‘डायलग डिलीभरी’ भनिन्छ, कलाकारले ‘डायलग’ बोल्दा आवाजको स्तर र स्केल, उसो मुखाकृति र भावाकृतिको बेजोड संगम राजेश खन्नाले प्रस्तुत गरे यस फिल्ममा, पीडालाई हाँसोमा व्यक्त गरेर र हरेक हाँसोमा मनमुटुभित्र रहेको पीडा ओठदेखि अनुहारसम्म व्यक्त गरेर। हृदयस्पर्शी, मर्मस्पर्शी, भाव उद्धेलित एवं संवेदनशीलताको अतल नै छोएको अभिनय हेर्न आनन्द फिल्म हेर्नै पर्छ।

ऋषिकेश मुखर्जी निर्देशित, गुलजार लिखित, एवं सलिल चौधरीको सुमधुर संगीत रहेको यस फिल्मले कैयन पुरस्कार पाएको थियो।

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्