बार्सिलोना बन्यो च्याम्पियन, कप्तानका रुपमा मेस्सीको पहिलो उपाधि

लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । मोरक्कोमा आइतबार राति भएको खेलमा सेभिल्लालाई २–१ ले हराउँदै ला लिगा तथा कोपा डेल रे च्याम्पियन बार्सिलोनाले सुपर कपको उपाधि पनि उचालेको हो ।

खेलमा सुरुवाति अग्रता भने सेभिल्लाले लिएको थियो । ९ औँ मिनेटमा पाब्लो साराबिएले गोल गरे । सुरुमा अफसाइड भएको भन्दै रेफ्रीले यो गोललाई मान्यता दिएनन् तर भिडियो एसिस्टेन्ट रेफ्री, भिएआरले अफसाइड देखाएन र गोलले मान्यता पायो । ४२ औँ मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७८ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर खेलको अन्तिम समयमा सेभिल्लाले पेनाल्टी पायो ।

यसले बार्सिलोनामाथि दबाब परेको थियो । तर गोलरक्षक मार्क–आन्द्रे टेर स्टिगनले सुन्दर बचाउ गरे र बार्सिलोनाको जित निश्चित गरे । स्टिगनले एलेक्स भिडाललाई फउल गरेपछि सेभिल्लाले पेनाल्टी पाएको थियो ।

तर बेन यड्डरले प्रहार गरेको पेनाल्टी स्टिगनले सुन्दर बचाउ गरे । बार्सिलोनाले सुपर कपका पछिल्ला १० सिजनमा ९ पटक खेलेको छ । तर एक लेग र विदेशी भूमिमा भएको यो पहिलो खेल हो ।

केही दिनअघि मात्रै बार्सिलोनाले मेस्सीलाई क्लबको कप्तानीको जिम्मा दिएको थियो ।

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्