काठमाडौँ – भगवान शिवको प्रिय महिनाका रुपमा लिइने साउन, त्यसमा पनि उनको विशेष दिन सोमबार शिवभक्तका लागि झनै विशेष बन्छ । देशभरका शिव मन्दिरमा विशेष गरी साउनका सोमबार श्रद्धालुको घुइँचो लाग्छ ।

आज (साउन २८ गते) यो महिनाको अन्तिम सोमबार । अघिल्ला जस्तै यो सोमबार पनि शिव मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । विशेषगरी महिलाहरु यो महिनाभर शुद्ध खाएर तथा सोमबार शिवको नामा ब्रत बसेर आफ्नो श्रद्धा तथा भक्ति दर्शाउँछन् ।

काठमाडौँको पशुपतिनाथ मन्दिरमा सोमबार बिहानैदेखि दर्शन गर्न जानेको भिड छ । साउनको अन्तिम सोमबार भएकाले पनि विशेष चहलपहल रहेको छ । देश सञ्चारकी बर्षा शाहले बिहानै पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थीको विभिन्न भाव तस्बिरमा समेटेकी छन् ।