फाइल तस्बिर

नेपालगञ्ज – नेपालमा धेरै समान त भारतबाटै आउँछ । नेपालगञ्ज नाकाबाट खरानीमात्रै वर्षमा ३५ करोडको आएको तथ्यांकले पनि हामीकहाँ धेरै सामान भारतबाट आउने देखाउँछ ।

नेपालबाट भारततर्फ केही सामान जादै नजाने भने होइन । नेपालगञ्ज नाकाबाट जडीबुटी भारत निकासी हुन्छ । प्रमुखमध्येकै नाका भएकाले यहाँबाट भारत जाने तथा आउने सामानमा तस्करको चलखेल बढी नै हुने गर्दछ ।

यतिबेला नेपालगञ्ज नाकामा मरिचको चर्चा छ । अलिअलि सुपारीले त्यसमा साथ दिएको छ । नेपालगञ्जबाट तस्करीमार्फत दैनिक ठूलो मात्रामा मरिच भारततर्फ गइरहेको छ । प्रहरीले अलिकति मात्रै निगरानी गर्दा ठूलो मात्रामा मरिच बरामद भइरहेका छन् ।

प्रहरीमा पनि ५ नम्बर ब्यूरोले निगरानी गरेपछि मरिच तस्करीको कथा बाहिर आएको छ । ब्यूरोले हात हालेपछि सीमामा रहेको सशस्त्र प्रहरीले पनि निगरानी बढाएको छ ।

चार दिनमा छुट्टाछुट्टै ठाउँबाट साढे तीन क्वीन्टल मरिच बरामद हुनुले तस्करीको भयावह देखाएको छ । यसले अहिलेसम्म नाकामा रहेको सशस्त्र र नेपाल प्रहरीले के हेरेर बसेको थियो भन्ने प्रश्न उब्जाएको छ ।

ब्यूरोको टोलीले २४ गते ११ बजे ४५ किलो मरिच समात्यो । रा १ ह १५१९ नम्बरको अटोरिक्सामा राखेर मरिच भारततर्फ लगिदै थियो । नेपालगञ्जको न्यूरोडबाट मरिच लोड गरेर अटोरिक्सा खाली भारततर्फ हुइकिएको थियो ।

भारत मनिकापुरका पण्डित भन्ने राजुबाबु पाण्डेले अटोरिक्साको ब्याट्रीमा फिट गरेर मरिच तस्करी गर्दै थिए । जमुनाहामा उनी समातिए । उनी भोलीपल्ट १२ हजार धरौटी तिरेर छुटे ।

त्यही दिन ५ बजे ब्यूरोले जमुनाहाबाट नै एक क्वीन्टल मरिच बरामद गर्‍यो । भे ९ ह २०९१ नम्बरको अटोरिक्सामा २५/२५ किलोका चार वटा पोका बनाएर नेपालगञ्जका गुड्डु खानले मरिच पास गर्दै थिए ।

२५ गते सीमामा रहेको सशस्त्र प्रहरीले दुई सय ४० किलो मरिच बरामद गर्‍यो । ना २ ख ७२६ नम्बरको अटोरिक्सामा राखेर मरिच भारततर्फ लगिदै थियो । २७ गते फेरि ब्यूरोको टोलीले ६० किलो मरिच समात्यो । भारत नानपारा निवासी रिजवाना मुसलमानले ना ५ च ६५७३ नम्बरको अटोमा राखेर मरिच लैजादै थिइन् । अटोरिक्सा नेपालगञ्जका नसिद राइले चलाएका थिए ।

नेपालगञ्जमा सात/आठ सय रुपैयामा एक किलो मरिच पाइन्छ । भारतमा जति टाढा पुर्‍याए उति फाइदा हुन्छ । नाका कटाएमात्रै प्रतिकिलोमा २० रुपैयादेखि टाढा पुर्‍याउदा एक सयसम्म फाइदा हुने पक्राउ परेकाहरु बताउँछन् ।

मरिचसँगै नेपालगञ्जबाट सुपारी पनि भारततर्फ जाने गर्दछ । तेस्रो मुलुकबाट नेपालमा आउने सुपारी भारततर्फ लैजाने गरिन्छ । सुपारी तस्करीका लागि नेपालगञ्ज नाका पनि परिचित नै मानिन्छ । साइकलमा १०/२० देखि ४०/५० किलोका पोका बनाएर भारततफै लैजाने गरिन्छ । ब्यूरोले २५ किलो सुपारी समातेर भन्सारमा पठाएको छ ।

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्