कहाँ छन् विप्लव? प्रहरी भन्छ- लोकेसन ट्रयाक हुन सकेको छैन

नेत्रबिक्रम चन्द 'विप्लव'

काठमाडौं- पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा- प्रकान्डलाई गिरफ्तारी गरिएको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले चरणबद्ध आन्दोलन गरिरहेको छ। आन्दोलनका कार्यक्रमअनुसार उक्त पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ।

भूमिगत राजनीति गरिरहेको पार्टीले अवैध क्रियाकलाप गरेको,चन्दा आतङ्क मच्चाएको, विभिन्न ठाउँमा विस्फोटन गराएको भन्दै सरकार कडा रुपमा प्रस्तुत भएको छ। प्रहरीले पार्टीको आर्थिक विभाग प्रमुखसमेत रहेका प्रकान्डलाई ८ करोडभन्दा बढी चन्दा असुलीको आरोपमा गत साता पक्राउ गरेको थियो।

पार्टीको १३ सदस्यीय पोलिटब्युरो समितिका पाँच जना अहिले हिरासतमा छन्। तीमध्ये रणवीर भनिने भरत बम भर्खरै छुटेका छन्। पार्टी प्रमुख विप्लवसहित करिब आधा दर्जन माथिल्लोस्तरका नेता भने भूमिगत छन्।

‘हामी सबैलाई नियन्त्रणमा लिने प्रयासमा छौं। उहाँहरुविरुद्ध विभिन्न जिल्लामा मुद्धा पनि दर्ता छन्’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। विप्लवलगायतका पार्टीका भुमिगत नेताहरुको ‘लोकेसन ट्रयाक’ नभएको ती प्रहरी अधिकारी बताउँछन्।  फरकफरक ठाउँमा फरक फरक मोबाइल प्रयोग गर्ने गरेका कारण उनीहरु कहाँ छन् भन्नेबारे थाहा पाउन नसकिएको प्रहरीको भनाइ छ।

प्रदेश तथा केन्द्रीय निर्वाचनताका विभिन्न स्थानमा आगजनी र श्रृंखलाबद्धरुपमा विस्फोट गराएको यो पार्टीका कारण अहिले चन्दा आतङ्क रहेको  प्रहरी स्रोतको दावी छ।

पार्टीका पोलिटब्युरो सदस्यहरु ओमप्रकाश पुन, पदम राई, महेन्द्र कार्की, कृष्ण धमला लगायत नेता प्रहरी हिरासतमा छन्। तत्कालीन नेकपा माओवादीबाट टुक्रिएको विप्लव नेतृत्वको माओवादीविरुद्ध गृहमन्त्री तथा तत्कालिन माओवादी नेता रामबहादुर थापा ‘बादल’ कडारुपमा प्रस्तुत भएका छन्।

 

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्