बिजेता हुने टिमले २५ लाख भन्दा धेरै पुरस्कार पाउने

कात्तिक ९ देखि ‘पोखरा प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता हुने

कास्की- पोखरामा सर्वाधिक राशिको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। आयोजक क्विन्स इभेन्टले पोखरामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।

यो प्रतियोगिता बिजेता हुने टिमले २५ लाख भन्दा धेरै पुरस्कार पाउने आयोजकले दावी गरेका छन्। कात्तिक ९ देखि २० गते सम्म हुने पोखरा प्रिमियर लिग (पिपिएल) काठमाडौको एक निजी संस्था क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालीले आयोजना गर्न लागेको हो।

पोखरा रंगशाला भित्र आयोजना हुने पिपिएलमा ६ वटा फ्रेन्चाइज टिम हुने बताइ्रएको छ । ती फ्रेन्चाइज टिम पोखरा, विराटनगर, काठमाडौ, बुटबल, नेपालगन्ज र धनगढी हुने बताइए पनि हालसम्म ती टिमका कम्पनीहरुको हुन भन्ने बारे स्पष्ट भइसकेको छैन न त खेलाडीहरुको अक्सन गरिएको छ।

प्रत्येक फ्रेन्चाइज टिममा दुइजना विदेशी खेलाडी राख्न पाउने प्रावधान सहित प्रत्येक टिमले अण्डर सिक्सटिन टिम समेत तयार गर्नु पर्ने आयोजकले जनाएको छ। आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले भविष्यका लागि खेलाडी तयार गर्न पनि अण्डर सिक्सटीन खेलाडी उत्पादन हुनुपर्ने बताए।

२ करोड भन्दा वढी खर्च लाग्ने यस प्रतियोगिताको आधिकारिकताका लागि अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलमा आइसिसीमा पत्रचार भएको आयोजकले बताएको छ। करिब २ करोडभन्दा वढी खर्च हुने तथा ६ वटा फ्रेन्चाइज टिम रहने पिपिएलमा पोखरा क्रिकेट रंगशालामा ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट समेत निर्माण गरिने आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।

उनले एक प्रश्नको जवाफमा भने–“हाम्रो नितान्त उद्धेश्य भनेको नै क्रिकेटको बिकास संगै भौतिक पूर्वाधार विकासका लागि हो ।”

पोखरा प्रिमियर लिग तयारीका लागि अहिले मैदानको सुधार र पिच निर्माणको कार्यलाई तिव्रता दिइएको बताउँदै प्रवन्ध निर्देशक लामाले पिच भारतिय क्युरेटरको अनुगमनमा भइरहेको समेत बताए । उनले पोखरालाई क्रिकेटको न्युट्रल भेन्यूको रुपमा बिकास गर्न सके खेल पर्यटन मार्फत नेपालले ठूलो लाभ लिन सक्ने समेत बताए । गण्डकी प्रदेशको क्रिकेट खेल बिकासका लागि महत्वपूर्ण रहने आयोजकले दावी छ।

सम्मेलनमा गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्रि नरदेबी पुनले समेत यस क्षेत्रको क्रिकेट बिकासमा पिपिएलको आयोजना महत्वपूर्ण रहने बताइन् ।
कार्यक्रममा नेपाली क्रिकेट राष्ट्रिय टिमका टिम कप्तान पारस खडकाले न्युजिल्याण्ड पछि पोखराको क्रिकेट मैदान विश्वकै खेलाडीलाई आर्क्षित गर्ने क्षमता रहेको बताए।

उनले भने –‘हामी सबैको इमान्दार प्रयासले क्रिकेटको बिकास सम्भव छ , जसरी ५ वर्षमा नै नेपाललाई एक दिवसीय मान्यता दिलाउन सफल भयौं,’ उनले आगामी दश वर्षमा नेपालललाई टेष्ट क्रिकेट मान्यता पाउने गरि पिपिएलले थप उर्जा थप्ने विश्वास व्‍यक्त गरे।

गण्डकी प्रदेश सांसद एवम नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष दिपक कोइरालाले प्रदेश सरकार प्रदेशलाई स्र्पोट्स हब बनाउने तयारी गरिरहेकै अवस्थामा यसमा नयाँ तरङ र उत्साह थप्न पिपिएलले सहयोग पुग्ने बताए। उनले खेलकुदले आर्थिक समृद्धीसंगै आउने रुपान्तरणले समाज, राष्ट्र र जनजीवनमा समेत राम्रो प्रभाव पार्ने बताए।

सो अवसरमा नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले १० वर्षमा नेपाललाई टेष्ट मान्यता राष्ट्रको मान्यता दिने वताइए पनि सो अनुसार पूर्वाधार बिकास हुन नसकेको बताए। उनले घरेलु क्रिकेटलाई माथी उठाउन पिपिएलले ठूलो सहयोग पुग्ने बताए।

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्