श्रीमतीको पेट दुखेर जब म राति नै टिचिङ गएँ…

संयोगबश राति श्रीमतीजीको पेट दुखेकाले कता जाने भन्दै गर्दा राम्रै होला भन्ने ठानेर टिचिङ हस्पिटलको गेट हुँदै आकस्मिक कक्षमा छिरियो। त्यहाँ कोही आफ्नो ठाउँमा थिएनन्। बिरामी पालो गनेर बसिरहेका थिए। आकस्मिक कक्षमा डाक्टर, नर्स पालैपालो मजाले सुत्ने गरेको देखियो। पहिले मैले यहाँ तपाईहरुको दरबन्दी कति हो भनी सोधेँ। कतिलाई त मैले भित्र गएर उठाएर उहाँहरुको जिम्मेवारी र भर्खरैको बिशाल अनशन सम्झाएँ। उहाँहरुको व्यबहार, बोलचालीको त कुरै गर्नु परेन।

इमरजेन्सी ड्युटीमा रहेका अल्टासाउण्डका डाक्टर राति तीन बजेदेखि नआएर ६:४५ सम्म पर्खिबसेको छु । अब कति पर्खनु पर्ने हो?

भर्खरै र बारम्बार सत्ता नै डग्मगाउने ठूलाठूला माग गर्दै गरिएको ऐतिहासिक अनशनको केन्द्र भएको मुलुकको राजधानीको हस्पिटल हो यो। हामी ठुलाठुला आदर्श र सपनाका कुरा गर्छौ। युरोप र अमेरिकाको उदाहरण दिन्छौं। स्विजरल्यान्डका मिठामिठा कुरा गर्दछौं तर यहाँ ससाना आधारभूत कुराहरू र धेरै स्वास्थ्यकर्मीहरुको व्यबहारले जनता साँच्चै पीडित छन् र कतिपयको बिकल्प पनि छैन।

यो ५-६ घन्टाको बसाइ र व्यबहारबाट म स्वयंले सरकारी अस्पतालमा उपचारमा पहुँच र सहजता नभएको निष्कर्ष निकाल्न बाध्य हुनुपर्‍यो। 

तर, मनमा भने एउटा अनुत्तरित प्रश्न बारम्बार खेलिरहन्छ, त्यही डाक्टर, नर्स र तिनै मान्छे निजी अस्पताल र क्लिनिकमा किन भद्र, नम्र, शिष्ट र सहयोगी हुन्छन्? तर यहाँ किन हुन सक्दैनन्?

धन्यवाद!

-सोमनाथ घिमिरे (फेसबुकबाट)

साउन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्