टिकापुर हत्याकाण्डको सुनुवाई सुरु

धनगढी – झण्डै तीन वर्षपछि टिकापुर हत्याकाण्ड घटनाको मुद्धा सुनुवाईको प्रक्रिया सुरु भएको छ। २०७२ भदौ ७ गते भएको घटनाको बुधबार पहिलो पेशी जारी छ ।
पेशीका लागि टिकापुर घटनाको आरोपमा पक्राउ कैलाली कारागारमा रहेका २४ थुनुवालाई अदालतमा ल्याईएको श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए ।
‘यसअघि म्याद तामेली हुन नसक्दा मुद्धाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन ।’ कठायतले भने, ‘अब प्रक्रिया सुरु भएको छ । अहिले घटनाका बादी प्रतिवादीसँग बुझ्ने काम भइरहेको छ । ’
उनले बादी तथा प्रतिबादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्ने बताए ।
थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडपमा १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो ।
घटनामा संलग्न रहेको अभियोगमा रेशम चौधरीसहित २६ जना पुर्पक्षको लागि थुनामा छन् ।
एक नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र अन्यलाई कैलाली कारागारमा राखिएको छ ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।
घटनाको मुख्य योजनाकारको आरोप लागेको रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ । चौधरीको बिहीबारका लागि सर्वोच्च अदालतले पेशी तोकेको हो ।