बलात्कारको ‘रुट कज’

बलात्कारी जन्माउन को दोषी ?

एकपछि अर्को गर्दै बलात्कारका घटनामा भएको अनियन्त्रित वृद्धिले आम सुरक्षासँगै मुलुकको नकारात्मक छवि सर्वत्र स्थापित हुन पुगेको छ। कलिला बालिकादेखि वृद्धा र मानसिकरुपमा असक्तताबाट पीडितहरु समेत बलात्कारको सिकार हुने गरेको तथ्यले सञ्चार र सामाजिक सञ्जालमा व्यापक बहस निम्ताएको छ।

तर जनप्रतिनिधि थलो संसदमा त्यसमाथि गम्भिर बहस अझै हुन सकेको छैन। प्रतिदिन सरदर तीन बलात्कार हुने गरेको मुलुकमा विगत चार वर्षमा ४ हजार ४ सय ४५ बलात्कारका घटनाहरु प्रहरी समक्षदर्ता भएका छन्।

बलात्कारपछि जीवन समेत गुमेका दानवीय घटना समेत अव सामान्य जस्तो लाग्न थालेका छन्। बलात्कारका घटनापछाडिको मनोविज्ञान, राज्यको उदासीनता र आम नागरिकमा देखा परेको आक्रोशको चेपमा मुलुक परेकाे  छ । आखिर बलत्कारी जन्माउनु काे दोषी?

अभिभावकको गल्ती


बलात्कारको सोच कसरी र कहिले कुनै व्यक्तिमा ? त्यो सोचको विजारोपण कतिपयको घरबाटै सुरु हुन्छ। अनि सामाजिक परिवेश अनि विद्यालय र क्याम्पसको वातावरण बलात्कारको मानसिकता हुर्काउन सहायक बनिदिन्छ।

गरिब र अशिक्षित मात्र होइन शिक्षित परिवारमा समेत हुर्कदै गर्दा छोरीका लागि दैलोमा काँडेबार लागिरहन्छ र छोरालाई बरालिने प्रशस्त छुट प्राप्त हुन्छ। निर्वाध बाहिरिने छोराको दैनिकी कसरी बित्दै छ र उसको संगत कति कस्तो छ भन्ने प्रश्न कमै अभिभावकले गर्छन्।

बाध्यता वा बेवास्ताले हुर्केका या कलिला छोरोछारीकै अघिल्तिर बुवाले अत्याधिक रक्सी पिएर आमासँग झगडा गर्ने, अश्लिल शब्द प्रयोग गरी कुटपिट गर्छन् । छाप कस्तो पर्ला ती

छोरा-छोरीको मस्तिष्कमा ?


मनोविद् जमुना संग्रौलाको अनुभवमा अभिभावकबाट सबैखाले छुट मिल्यो भने छोराहरुमा बाल्यकालदेखि नै छोरीलाई कुनै न कुनै तरिकाबाट आक्रमण गर्ने बानी विकास हुन्छ। त्यही बानीको नियन्त्रण नहुँदा विषम परिस्थितिमा बलात्कारीको रुप धारणा गर्छन्।

किशोर वयमा प्रवेश गर्दै गरेकी छोरीकालागि छोटो कपडा नलगाउने, नक्कल नपार्ने, एक्लै नहिँड्ने, शिर झुकाउने, खित्का छोडेर नहाँस्ने, अपरिचितसँग नबोल्ने र चाडै घर आउने जस्ता नियमका साङ्ला बनाउने अभिभावकले छोराबाट केटीको सम्मान गर्ने, अनुशासित बन्ने र सज्जनसँग मात्रै संगतगर्ने जस्ता प्रतिवद्धता खोज्न भ्याउँदैन।

छोरालाई प्रश्न गर्दा उसको पुरुषोत्व गुम्ने ठान्छन् कतिपय अभिभावक। परिणाममा छोराहरुमा लुकीलुकी छोरीहरुलाई ढुंगा हान्ने, बाटो छेकेर जिस्काउने जस्ता गलत चरित्रको विकास हुन्छ। समाजशास्त्री मिना उप्रेती समाजले छोरालाई मात्रै प्राथमिकतामा राख्ने र उसले नराम्रो काम ग¥यो भने पनि ढाकछोप गर्ने अभिभावको गल्तीले बलात्कार जस्तो घटना समेत हुने गरेको बताउँछिन्।

पुलपुल्याएका र उचित तथा अनुचित व्यवहारले नसिकाइएका छोराहरुले घरमा जस्तै समाजकाबाट पनि ढाकछोपको अपेक्षा गर्छन आफ्ना गल्तीहरुमा।

गलत सामाजिक मूल्‍य/मान्यता


छोरा बलियो हुनुपर्छ । छोरी जस्तो भएर हुन्न कतिपय परिवार। ‘जन्मेदेखि नै छोराको मर्दपन प्रस्तुतहोस भन्ने चाहन्छन् । छोरीले कमजोरको संज्ञा पाउँछन्। छोरीलाई छोरा जस्तो बनाउनु पर्छ भन्ने भावना कमैमा छ ’, उप्रेती भन्छिन्।

उप्रेतीका अनुसार छोरीलाई छोरा जस्तै बन्न सिकाए संभवत बलात्कार जस्ता घटनाको सिकार हुनु पर्दैनथ्‍यो छोरीहरु। राम्रा उदाहरण पनि छन् हाम्रो समाजमा जसले छोरीलाई छोरा सरह हुर्काए, अब्बल बनाए । प्रसिद्ध आख्यानकार गीता केशरीले सुरक्षाका लागि आत्मविश्वास बढाउन आफ्ना तीन छोरीलाई बाल्यकालमै तेकन्दो सिकाइन्।

समानताबारे पछिल्लो समय चेतनाको विकास हुँदै गर्दा आर्र्थिक अवस्था बलियो हुने परिवारमा शिक्षा र स्वास्थ्यमा छोराछोरीबीच भेदभाव छोटिदो छ। तर छोरीलाई आइलाग्ने कुनै पनि किसिमको आक्रमणको प्रतिकार गर्न सिकाउन सकेका छैनन् उनीहरुले पनि।

शरीरका अंगको संवेदनशीलता


किशोरीहरुमा उमेर बढ्‍दै गएपछि उनीहरुको आफ्नो जनेन्द्रियसहितका अंगको संवदनशिलताबारे बुझ्ने कमै मौका पाउँछन्।  धेरैले बाल्यकालमा ती अंगमा कसैले स्पर्स गर्‍यो भने के गर्ने बारेमा उनीहरुलाई सिकाइएको हुँदैन ।  साथै किशोरीहरुलाई विद्यालयमा पनि आफूमाथि आक्रमण हुँदा डिफेन्स कसरी गर्ने भन्‍नेबारेमा पनि कुनै प्रशिक्षण दिइएको हुँदैन/ गराउँदैन।

नेपाल ल क्याम्सकी सहायक डिन, प्राध्यापक एवं अधिवक्ता डा. शशी कुमार्य अधिकारी रावत भन्छिन्’, निजी अंगबारे समयमै जानकारी नपाउँदा बालिका यौन शोषण र बलात्कारको सिकार हुने गरेका छन्। ढिलोगरी थाहा पाउँदा पीडक उम्कने मौका मिल्छ।

नैतिक शिक्षाको कमी


समाज परिवर्तनका लागि अनेक विषय पढाई हुने विद्यालयमा विगत केही वर्षदेखि नैतिक शिक्षा हटाइएको छ। पछिल्लो समयम विकास गरिएका ‘मोरल साइन्स’ र नागरिक शिक्षा बालबालिकाका लागि त्यति प्रभावकारी बन्न सकेका छैनन्।

केटीको कपाल तान्ने, कापीमा जथाभावी लेख्‍ने, कुनामा बसेर कागजको डल्ला बनाएर हान्ने, हल्ला गर्ने, कुरा काट्ने वाव्यं गर्ने छात्रहरुको व्यवहार उचित नभए पनि निरुत्साहितमा दण्डित गर्ने संयन्त्रको अभाव छ।

अर्कोतिर पटकपटक कुटाई मात्रै खाने केटाहरु झनै हिंस्रक बन्ने गरेका छन्। उनीहरुका लागि अति आवश्यक यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषय पढाउँदा झारा टार्ने प्रवृति शिक्षकमा व्याप्त छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं सांसद विन्दा पाण्डे बलात्कारका घटना कम गर्न उचित पाठ्यक्रमको विकास गरी अनिवार्य अध्ययन÷अध्यायपन गराउनु पर्ने धारणा राख्छिन्।

त्यही उद्देश्यका साथ संसदमा संकल्प प्रस्ताव दर्ता गरेकी छन्। बालत्कार रोक्न छोराछोरीलाई सानैबाट सचेत गराउन पाठ्यक्रमको विकास गर्नुपर्छ’, पाण्डे भन्छिन्।

कमजोरकाे संरक्षण


बलात्कारको सिकारमा प्रायः गरी सामाजिक–आर्थिकरुपमा केही कमजोर देखिएका महिला, किशोरी, बालिका, वृद्धा र सुस्तमनस्थितिका समेत पर्ने गरेका छन् । यसले यो देखाउँछ कि, दुष्कर्म गर्न चाहने यस्तैलाई बढी निशाना बनाउने गरेका छन् ।
त्यसैले उनीहरुको रेखदेखमा अभिभावक या आफन्त थप सक्रिय हुनुपर्छ। साउनमा १० वर्षमुनिका ६ जना बालिका बलात्कारको सिकार भए।

कञ्चनपुर भीमदत्त नगरपालिका २ की एक १३ वर्षीया र काभ्रे तेमाल गाउँपालिकाकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरियो । त्यस्तै कञ्चनपुर भीमदत्त नगरपालिका १० मा ५ वर्षिया, पुनर्वास नगरपालिका ३ मा ९ वर्षीया र झापा अर्जुनधारा नगरपालिका २ मा चार वर्षिया बालिका समेत बलात्कारको सिकार भए ।

तेह्थुम आठराई गाउँपालिकाकी ९ वर्षीया र अछामको साँफेबगर नगरपालिका ११ की ८ वर्षीय बालिका बलात्कृत भइन्। गत साता मात्रै राजधानीको जोरपाटीकी सुस्त मनस्थितिकी १४ वर्षीया बालिका बलात्कृत भइन्।

 यौन कुण्ठा


किशोरवस्थामा यौन कौतुहलता बढ्नु स्वभाविक हो । तर त्यसबारे अभिभावक वा शिक्षकसँग खुलेर छलफल गर्ने परिपार्टी अझै बनेको छैन व्यवहारमा । निषेधले कौतुहलता बढाउँछ । यौनलाई गोप्य या रहस्यमय बनाइन्छ ।

‘सेक्स’ भनेको के हो भन्‍ने प्रश्‍ने छोराले सोधे भने धेरैजसो आमालाई रिस उठ्छ’, यस्तो नचाहिँदो कुरा किन चाहियो तँलाई? विद्यालयको वातावरण पनि त्यति नै हतोत्साहितपूर्ण हुन्छ । सर, प्रजनन् भनेको के हो ? विद्यार्थीबाट कहिले काँही यस्तो प्रश्न आयो भने शिक्षकले टार्छन्’, पछि बुझाउँला। त्यति मात्र कहाँ होर ? प्रश्न सोध्ने विद्यार्थी हासोको पात्र बन्छ कक्षाकोठामै।

विद्यालयसँगै कलेजमा पनि यौन जिज्ञासाबारे प्रष्ट हुने मौका मिल्दैन उनीहरुलाई । साथीबाट जिज्ञासा मेटाउन खोज्नेहरुबारे पनि धेरैको गलत बुझाइ छ।

त्यस्तै कौतुहलता मेटाउन खोज्दा १५ वर्षका ठिटो समेत बलात्कारी बनेका छन्। समाजशास्त्री उप्रेती बलात्कार कम गर्न यौन बहसलाई उदार बनाउनु पर्नेमा जोड दिन्छिन् । ‘ १२/१३ वर्ष उमेरदेखिनै यौन कौतुहलता जाग्छ । तर त्यसबारे उचित जवाफ उनीहरु पाउँदैन हाम्रो समाजको संकीर्ण सोचका कारण । विवाहअघि यौनसम्पर्क बर्जित हुँदा त्यसले बलात्कारका लागि प्रेरित गर्छ कतिपयलाई’, उप्रेति भन्छिन्।

महानगरीय प्रहरी परिसर ललितपुरको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकले १६ देखि १८ वर्षका ६ जना, १८ देखि २० वर्षका ५ जना, २० देखि ३० वर्षका चार जना युवा बलात्कारको आरोपमा पक्राउ परे। शिक्षाविद् विद्यानाथ कोइराला यौन शिक्षा वा प्रजनन् स्वास्थ्यबारे छलफल गर्न हुन्‍न भन्‍ने मान्यताले खासगरी केटाहरुमा विकृतिको भाव पैदा हुने बताउँछन् ।

‘परिवार र विद्यालयले यौन लगायत स्वास्थ्यका मामिलामा जति अन्तरक्रिया गर्छन् त्यति नै बालबालिका गलत गर्नबाट जोगिन्छन्’, कोइराला भन्छन्। छलफलको निषेधले कतपियको मस्तिष्कमा यौनसम्बन्धी डर लाग्दो कुण्ठा भरिने उनको भनाई छ।

 सामाजिक सञ्‍जालको दुरुपयोग


यौनसम्बन्धि कौतुहलता मेटाउन इन्टरनेट तथा सोसल मिडियामा पोर्न साइट(अश्लिल सामग्री ) हेर्नेको संख्या उल्लेख्य रुपमा बढेको प्रहरी अनुसन्धानले देखाएको छ।

चलचित्रल लगायत श्रव्यदृश्य सामग्रीमा बलात्कारका दृश्यहरु अनिवार्य जस्तै ठानिन्छ। ‘हिरो इमेज’ बनाउन कतिपयले ती परिदृश्य नक्कल गर्ने कोशिस पनि गर्छन्।

चलचित्रमा महिलालाई बलात्कार गरेको दृश्य देखाइँदा हलमा सिट्टी फुक्ने र तालि बजाउनेहरु धेरै भेटिन्छन अहिले पनि। पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल भन्छन्’, पोर्न साइटबाट युवा विकृति बढेको तर यसको नियन्त्रणमा सरकारको ध्यान गएको छैन।’ अन्य मुलुकमा त्यसको नियन्त्रणमा सरकार लागि परेका छन्।

मल्ल अन्य मुलुकमा ‘डिप प्याकेट इस्पेक्सन टुल’को माध्यमबाट सोसल मिडिया नियन्त्रणमा राखेको बताउँछन्। अश्लिल सामग्री निरन्तर हेर्दा यौनकुण्ठा विकसित भई कतिपयले यौन प्यास मेटाउने साधनका रुपमा मात्र महिलालाई लिन थाल्छन् ।

परिणामस्वरुप बलात्कारका घटना बढेका छन्। गत वर्ष राजधानीमै एक युवाको समूहले छिमेकीको घरमा काम गर्ने १८ वर्षीया युवतीको धापासीमा बन्दै गरेको एउटा घरमा अश्लिल भिडियो हेर्दै बलात्कार गरे । त्यो समूहको ‘एजगु्रप’ १५, र २२ वर्षबीचको थियो।

यस्तो अपरोधमा युवासँगै बृद्धहरु समेत संलग्न हुन थालेका छन्। केही अघि काठमाडौँ प्रहरी परिसरमा एक बालिकाका अभिभावकले दर्ता गरेको बलात्कार सम्बन्धी उजुरीको अनुसन्धानका क्रममा एक सन्यासीले आफ्नो मन्दिरको गोप्य कोठामा नियमित अश्लिल भिडियो हेर्ने र बालिकाहरुलाई फकाएर यौन शोषण गर्ने घरेको खुल्यो ।

आर्थिक प्रलोभन


गरिब, आर्थिक अवस्था कमजोर हुनेले मात्रै धनाड्यहरु र शिक्षित पनि यस्तो अपराधनमा संलग्न हुने गरेका छन्। अधिवक्ता रावतका अनुसार धनी वर्गका पुरुषहरुले धनको आडमा गरिब परिवारकी केटीलाई जागिरको प्रलोभनमा पारेर बलात्कार गर्ने गरेका छन्।

केही अघि सिन्धुलीकी एक किशोरीलाई भारतमा जागिर खोजिदिएको भन्दै सर्लाही पुर्‍याएर त्यहाँका एक होटल सञ्चालकले बलत्कार गरेका थिए। त्यस्तै यही जेठ २९ गते स्याङ्जाका एक शिक्षकलाई आफ्नै विद्यालमा कक्षा ७ की १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

रक्सी खाएका बेला पटकपटक आफ्नी १३ वर्षीया नातिनीलाई बलात्कार गरेपछि कैलाली टीकापुरका ७२ वर्षीय एक वृद्ध ११ वर्षका लागि जेल पुगे।

नातिनीलाई गर्भवती समेत बनाएका चौधरीले रक्सी खाएका बेला जबर्जस्ती उनीसँग यौन सम्पर्क गरेको बयान दिएका थिए। पूर्व प्रहरी नायव महानिरीक्षक मल्ल भन्छन्,’ रक्सी पिएपछि दबिएको यौन चाहान प्रकट हुने संभावना रहन्छ । त्यसैले कतिपय बलात्कार गर्न पुग्छन्।

रिस–इबी साँध्दा


‘मेल इगो’ले केटीबाट कुनै पनि किसिमको ‘अस्वीकृति’ स्वीकार्देन। त्यसकोपरिणाममा बलात्कार या चरित्र हत्यासम्म पुग्न सक्छ। आफ्नो प्रेम प्रस्ताव केटीले अस्वीकार गरेमा आफ्नो पुरुषोत्व (म्यानहुट) लाई लल्कार गरेको ठान्छन् कतिपय पुरुष।

आफूसँग विवाह गर्न या ‘गर्ल फ्रेण्ड’ बन्न नमानेमा केटीलाई जुक्काएर, फकाएर या जर्वजस्ती यौन प्यास मेटाउन खोज्छन् । प्राध्यापक शिशिर सुब्बा बदला लिने उद्देश्ले पनि कतिपय बलात्कारका घटना भएको बताउँछन्।

जातीय भेदभावले पनि बलात्कार बढाएको उनको भनाई छ। त्यस्तै भारत र नेपालकै पनि तराई भेगका कतिपय स्थानमा बदला लिन सामूहिक बलात्कार भएका घटना सार्वजनिक भएका छन्। कसैले आफ्नी बहिनी बलात्कार ग¥यो भने उसको बहिनीलाई पनि बलात्कार गर्ने घटना समेत भएका छन्। कानुन कार्यान्वय राज्यबाट नहुँदाको परिणीति हो यो।

 विस्थापित हुँदा/सहयोगको नाममा झुक्काएर


प्राकृतिक प्रकोप, युद्ध या अन्य कारणले घरबारबिहीन भएका छोरीहरु बढी असुरक्षित मानिन्छन्। आपत विपद्का बेला सहयोगको नाममा झुक्काएर बलात्कार गरेका घटना पनि छन्। माओवादीको १० वर्षीय सशस्त्र युद्ध र २०७२ सालको भूकम्पपछिको अवस्थामा धेरै महिला बलात्कारमा परेका छन्। ‘मुलुक संकटमा परेका बेला छोरीहरु असुरक्षित हुने गर्छन्’, मल्ल भन्छन्’, त्यो बेला बलात्कारका घटनामा पनि वृद्धि हुन्छ।

उदासीन सरकार


कानुनले माफी दिन नसक्ने घटना मानेपनि सरकारले अनुसन्धान र पीडितलाई न्यायँ र क्षतिपूर्ति दिन सकेको छैन। जनप्रतिनिधि थलो समेत बलात्कारको विषयमा गम्भीर बन्न सकेको छैन। बरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शशी श्रेष्ठले बलात्कारका घटना सरकारलाई फेल गराउने खेल त हैन? भन्ने प्रश्न गरेर पीडितहरुको घाउमा नुन चुक लगाएकी छन्।

अनुसन्धान फितलो


बलात्कारका घटनामा प्रहरी अनुसन्धान निकै फितलो छ। प्रहरी अनुसन्धान तथ्यांकमा घनाबारे समेत एकरुपता छैन। पूर्व प्रहरी नायव महानिरीक्षक मल्ल विशेषज्ञताको अभावमा प्रहरीको अनुसन्धान फितलो हुने गरेको स्वीकार्छन्।

‘अनुसन्धान राम्ररी नबुझ्ने प्रहरी अनुसन्धानमा संलग्न हुनासाथ त्यसको ट्याक अन्यत्र मोडिने खतरा रहन्छ। त्यसैले सम्बन्धी विषय बुझेको प्रहरीलाई घटनास्थलमा पठाउनुपर्छ तर त्यसो गर्न हाम्रो सरकार सक्षम छैन’, उनी भन्छन्।

बलात्कारको प्रमाण जुटेपनि त्यसको जाँचमा लापरवाही हुने गरेको मल्लको भनाई छ। डर या प्रलोभनमा परेर पनि कतिपय पीडितले बीचमै बयान परिवर्तन गर्छन् । त्यसले प्रहरीको अनुसन्धानलाई नै प्रभाव पार्छ। प्रहरी आफै पनि प्रलोभनमा पर्ने गरेको तथ्य छन्।

प्रहरी तथा अनुसन्धान र मुद्धा चलाउने निकाय (प्रोजिक्युसन) दुवै सरकारी या राजनीतिक नियन्त्रणमा रहेकोले पनि अधिकांश मुद्धाहरु राजनीतिक दवावबाट प्रभावित हुने गरेका छन्।

 न्याय प्रणाली नै महङ्गो


भनिन्छ, ढिलो न्याय पाउनु न्याय नपाउनु सरह हो। लामो र मंहगो न्याय प्रणालीका कारण बलात्कारका कतिपय मुद्दा प्रहरी र अदालतमा दर्ता नै हुँदैनन्। कतिपय सामाजिक मान्यतानका कारण हतोत्साहित हुन्छन्। त्यस्तै न्यायँ प्रणाली मंहगो र लामो हुँदा पीडितहरुको पीडा चुलिन जान्छ।

अधिवक्ता रावत न्याय प्रक्रिया अति लामो हुँदा पीडित झनै पीडित हुने गरेको बताउँछिन्। न्याय प्रणाली अति मंहगो समेत हुँदैछ। धेरै पैसा हुनेहरुले राम्रा वकिल ‘हायर’ गरेर आफू अनकुल फैसला गराउने प्रवृति बढेको छ। बलात्कारको अभियोगमा प्रायः गरिब मात्रै जेल जाने गरेको रावतको भनाई छ। ‘जुनसुकै अदालतमा पनि कार्यबोज देखाएर बलात्कारको मुद्धालाई धकेलिन्छ’, अधिवक्ता रावत भन्छिन्।

केही समयअघि ललितपुरमा आफ्नी सौतेनी छोरीलाई बलात्कार गरेका एक व्यक्ति जेल गए। तर मुद्दाको टुंगो वर्षौसम्म लागेन । अदालत धाउँदा भोकै बस्नु पर्ने बाध्यता पीडित पक्षलाई आयो र एक दिन आमाले भनिन्’, बरु मुद्दा नहालेर मरेको भए हुन्थ्यो। कम्तिमा छोरीहरुलाई भोकै राखेर पाप गर्नु त पर्थेन।

त्यसको केही समय अघि राजधानीमै उच्चवर्गका युवाका समूहले साथीहरु समेत लगाई आफ्नै काकाकी १८ वर्षीया छोरीलाई बलात्कार गरे। कोकाकोलामा नसालु पदार्थ मिसाई खुवाए। तर ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिन वर्षौँ लाग्यो ।

बैतडीकी एक युवतीले बलात्कार भएको सात वर्षसम्म पनि न्याय पाएकी छैनन्। उनलाई पनि नसालु पदार्थ खुवाएर दुईजनाले बलात्कार गरेका थिए । जिल्ला अदालतले पीडकलाई जेल सजायको फैसाल सुनायो तर पुनराबेदन अदालतले उल्ट्यायो । हाल यो मुद्धा सर्वोच्च दालतमा विचाराधिन छ तर २१ पटक पेसी चढिसक्यो ।

बलात्कारलाई घरपरिवारले सकेसम्म लुकाउने प्रयास गर्छन्। समाजले बलात्कारमा परेकी महिलालाई स्वीकार्दैन। पीडकबाट अनेक किसिमका डर धम्की आउँदा पनि पीडित प्रहरी वा अदालत पुग्‍न सक्दैनन्।