पोल्याण्ड पठाउने भन्दै नेपाली युवालाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ

काठमाडौँ – पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक बुधबार पक्राउ परेका छन् ।

टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको विषयमा श्रम मन्त्रालयमै सूचना आएपछि वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको थियो ।

पुतलीसडक स्थित शंकरदेव क्याम्पस अघि अफिस नै खोली उनीहरुले ठगि धन्दा चलाइरहेका थिए । पिपल फर वर्क नामको कम्पनी नै दर्ता गरि काम गरिरहेको पाइएको छ ।

उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए । आफ्नो सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिषा उपलब्ध गराउने भन्दै शुरुमै २ लाख माग्ने गरेका थिए ।

अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाख सम्म खर्च लाग्ने बताउने गरेको पिडितहरुले बताएका छन्। उनीहरुले कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सूचना प्रविधीमा काम गर्ने उद्देश्य राखेको भेटिएको छ ।

उनीहरुको पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरि थप अनुसन्धान सुरु गरेकोे छ ।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्