प्रदेश-२ का सांसदलाई ल्यापटप दिने तयारी

जनकपुरधाम- प्रदेश नम्बर-२ का सांसदहरुलाई ल्यापटप वितरण गर्ने तयारी गरिएको छ।१०७ सांसद रहेको यो प्रदेशमा ल्यापटप वितरण गर्नेबारे छलफल सुरु भएको प्रदेश सचिवालयलले जनाएको छ ।

बिजनेस अभावमा सुस्त गतिमा चलिरहेको प्रदेशसभालाई पेपरलेस बनाउन थालिएको प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिए। ‘यहाँका सबै माननीयज्यूहरुलाई ल्यापटप वितरण गर्नेबारे छलफल शुरु भएको छ,’ उपसचिव यादवले भने, ‘योजनाको सफलता बजेटमा निर्भर छ।आवश्यक बजेट आयो भने उहाँहरुलाई ल्यापटप वितरण गर्ने योजना छ।’

ल्यापटप वितरण गरेर प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने तयारी भएपनि अधिकांश सांसदहरु इन्टरनेट र ल्यापटपको प्रयोगबारे जानकार नरहेको भन्दै यसको प्रयोग बारे स्वकीय सचिवले सहयोग गर्ने बताइएको छ। कम्युटर र इन्टरनेट चलाउन नजान्ने सांसदहरुलाई उनका स्वकीय सचिवले सहयोग गर्ने यादवले बताएका छन्।

प्रथम र दोस्रो अधिवेशन गरी प्रदेश -२ को प्रदेशसभामा हालसम्म जम्मा ५० बैठक भएको छ। ३ माघदेखि ३ जेठसम्म चलेको पहिलो अधिवेशनमा २६ र जारी दोस्रो अधिवेशनमा अहिलेसम्म २४ वटा बैठक बसेको छ।

२०७४ माघ ३ गतेबाट सुरु भएको प्रदेशसभाको अहिले सम्म बसेको बैठक संख्या अनुसार एक तिहाई विधेयकसमेत पारित हुन सकेको छैन। प्रदेश २ का प्रदेशसभाले अहिले सम्म जम्मा ११ वटा विधेयक मात्र पारित गर्न सकेको छ।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्