पोखरामा भदौ एक गतेबाट ‘बीच भलिबल प्रतियोगिता’ हुने

पोखरा- पोखराको बैदामस्थित बाराहीघाट कोर्टमा भदौको १ देखि ३ गतेसम्म अन्तर खुल्ला पुरुषबीच भलिबल प्रतियोगिता हुने भएको छ। बीच भलिबल प्रतियोगिताको तयारी पूरा भएको कास्की जिल्ला भलिबल संघले जनाएको छ।

यस्तै बालुवामा दुई-दुई जनाले खेल्ने बीच भलिबल कोर्टमा बालुवा राख्ने, मैदान सजावट, ब्यानर प्रायोजन, रेफ्री व्यवस्थापन लगायतका कार्यहरु पूरा गरिएको प्रतियोगिता संयोजक तारानाथ पहारीले जानकारी दिए। विकसित मुलकहरुको प्राय समुन्द्री किनारको बालुवामा खेलिने बीच भलिबललाई पोखराको फेवाताल किनारमा आयोजना गर्न लागिएको पहारीले बताए।

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले प्रतियोगिताका लागि आयोजक, सहभागि, सबै उत्साहित रहेको जानाकारी दिए। प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रबद्र्धन गर्न सहयोग पु¥याउने विश्वास पराजुलीको छ।

बीच भलिबलले पोखरालाई खेलकुद शहरको रुपमा विकास गराउन भूमिका खेल्ने छ पराजुलीले भने ‘बीच भलिबल खेलमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुन्छ,’ .उनले थपे ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा सफल बनाउन पनि खेलकुदको फरक विधा बीच भलिबलको अवधारणा ल्याएका हौं।’

अध्यक्ष पराजुलीले प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने बताए। ‘भलिबलको पनि फरक विधा बीच भलिबल नेपालमै सुस्ताएको बेला पोखराबाट बिउँताउने प्रयास गरेका छौं,’ अध्यक्ष पराजुलीले भने, ‘आगामी दिनमा यसलाई अझ व्यवस्थित र निरन्तरता दिनेछौं ।’

प्रतियोगितामा २२ टिमसम्म हुने अनुमान गरिएकोमा मंगलबारसम्म २२ भन्दा बढि टिम सम्पर्कमा आइसकेको संघका सचिव कुमार गुरुङले जानाकारी दिए । सचिव गुरुङले विहिबार बेलुकी ५ बजेपछि मात्रै टाइसिट निकालिने बताए । विहीबार ४ बजेसम्म टिम दर्ताका लागि अन्तिम समय तोकिएको छ।

प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ। प्रतियोगिताको लागि नेपाल भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल भलिबल संघ र नेपाल पर्यटन बोर्ड पोखराको सहयोग रहने संघले जनाएको छ।

कास्की जिल्ला भलिबल संघका अनुसार पोखरामा बीच भलिबल प्रतियोगिता भएको यो चौथो पटक हो। यसभन्दा अघि, पोखरा बैदामको बाराहीघाटस्थित फेवाताल किनारको भलिबल कोर्टमा दुई पटक र बाटुलेचौरमा राष्ट्रियस्तरको खुल्ला बीच भलिबल प्रतियोगिता सम्पन्‍न भइसकेको छन्।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्