पढाई हुँदै थियो, बम पड्कियोः ४८ जनाको मृत्यु, ६७ घाइते

अफगानिस्तानको राजधानी काबुलको एक ट्युसन सेन्टरमा आत्मघाती बम बिस्फोट हुँदा ४८ जनाको ज्यान गएको छ । घटनामा अरु ६७ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
काबुलमा रहेको ट्युसन सेन्टरमा पठाई भइरहेका बेला आत्मघाती आक्रमणकारी आएर आफैलाई बिस्फोट गराएको प्रहरीले जनाएको छ ।
बिस्फोटमा ज्यान गुमाउनेमा विश्व विद्यालयको प्रवेश परीक्षाको तयारीका अतिरिक्त कक्षा (ट्युसन) लिइरहेका किशोर किशोरी रहेका छन् ।
यस्तै देशको उत्तरी प्रान्त बाग्हलानमा भएको एक आक्रमणमा कम्तिमा ९ प्रहरीको ज्यान गएको छ भने ३५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

काबुलमा भएको घटनामा आफ्नो संलग्नता नरहेको तालिबान बिद्रोहीले बताएको छ । अधिकांश शिया मुसलमानको बसोबास रहेको क्षेत्रमा आक्रमण भएको हो । शिया समुदायलाई इस्लामिक स्टेट, आइएसका सुन्नी मुसलमान अतिवादीले निशाना बनाउने गरेका छन् ।
बुधबार नै तालिबानले अफगानिस्तानमा काम गरिरहेका रेड क्रसका कर्मचारीको सुरक्षा तथा सुरक्षित आवतजावतको ग्यारेन्टी गर्न नसक्ने बताएको छ ।