२७ वर्षमै नाइजेरियाका भिक्टरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

रुसमा भएको विश्वकप फुटबलमा समूह चरणको खेलमा अर्जेन्टिनासँगको खेलमा गोल गरेका नाइजेरियका भिक्टर मोसेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

चेल्सीका विङ्गर भिक्टरले २७ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उननले ३७ खेलमा १२ गोल गरेका छन् ।

भिक्टरले २१ वर्षमुनिको टिममा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका थिए । तर त्यसपछि उनी नाइजेरियाको टिममा गएका हुन् । उनले रुसमा भएको विश्वकप फुटबल अन्तर्गत समूह डी को खेलमा अर्जेन्टिनासँग २–१ ले पराजित हुने क्रममा नाइजेरियाका लागि पेनाल्टी मार्फत गोल गरेका थिए ।

भिक्टरले सन्यासको घोषणा गर्दै नाइजेरियाको जर्सीमा आफूले जीवनको उत्कृष्ट समय बिताएको र यो जीवनभर याद हुने बताएका छन् । क्लब फुटबलमा पूर्ण ध्यान केन्द्रित गर्नका लागि राष्ट्रिय टिमबाट बिदा हुने निर्णय लिएको उनले उल्लेख गरेका छन् ।

नयाँ पुस्तालाई अवसर दिनका लागि पनि आफूले सन्यासको घोषणा गरेको उनले बताएका छन् । भिक्टरले नाइजेरियाको टिमबाट सन् २०१३ मा अफ्रिका कप अफ नेशन्सको उपाधि जिते ।

यस्तै उनले सन् २०१४ र २०१८ को विश्वकपमा देशको प्रतिनिधित्व गरे । नाइजेरिया रुस विश्वकपमा आइसल्याण्डलाई हरायो तर क्रोएसिया र अर्जेन्टिनासँग पराजित भएर समूह चरणबाटै घर फर्किएको थियो ।

साउन ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्