श्रद्धाञ्जली

ओ, अनन्त यात्रामा प्रस्थान गरिसक्नुभएका मनुज दाइ!

मनुजबाबु मिश्र।

साँझपख बौद्धनाथमा परिक्रमारत रहँदा एक जना ‘रशियन’ युवतीलाई हेर्दा अतीतको सम्झनाले ग्रसित बनें। मनले मानेन, उनीसँग संवाद गर्न अग्रसर भएँ।

‘हेल्लो आर यु नट द्याट डान्सिङ गर्ल अफ रासबेल गेस्ट हाउस?’

‘एग्जेक्टली डियर! एण्ड इफ आई नट कन्फ्युजड, यू आर द्याट टाईब्वाइ हु लिब्ड विसाइड माई रुम।’

हो, उनीसँग जम्मा यति नै परिचय थियो। उनी गेस्ट हाउसको एउटा कोठामा रहेर चर्या नृत्य सिक्दै थिइन्। उनलाई सिकाउन आउने राष्ट्रिय नाचघरका प्रशिक्षक मेरा परिचित थिए। उनै प्रशिक्षकबाट थाहा पाएको थिएँ, युवती निकै अध्यात्मिक थिइन्। अध्यात्म मार्गमा मेरो कुनै गन्तव्य निर्दिष्ट नभइसकेको अनिर्णित, स्वच्छन्द समययात्री थिएँ म त्यस बेला।

आफ्नो जर्मन महिला मित्र हेलिनाको संगतले नितान्त अपरिचित यात्राको पूर्व तयारीको पूर्व अभ्यासका लागि रासबेल गेस्ट हाउस (अहिलेको सेचेन गेष्ट हाउस) मेरो लागि ‘लन्चिङ स्टेसन’ सरह बनेको थियो।

कुन दिन म अनन्त यात्रामा प्रक्षेपित भएँ? यसको लेखाजोखा भए समयसँग होला, मसँग यसको कुनै स्मृति शेष छैन।

त्यसको झण्डै तीन वर्ष पछि सन्यासी पहिरनमा हेर्दा ती रशियन युवतीले मलाई अंगालो हाल्दै भनिन्, ‘यू आर अन राइट ट्रयाक माइ अवलोकितेश्वर।’

वार्तालापमा उनले आफू मंहाकालमा डेरा लिएर बसेको भनिन् र ‘ल्यान्ड लाइन’ फोन नम्बर’  दिँदै कुनै दिन बस्न आउने गरी निमन्त्रणा दिइन्।

सानो चिटमा लेखेको फोन नम्बर पढेँ, स्मृति सलबलायो, हठात मुखबाट निस्क्यिो, ‘दिस इज योर फोन नम्बर! बट आई थिंक, आई न्यू दिस नम्बर, दिस नम्बर इज भेरी फेमिलिएर फर मी। दिस इज एनी आफ माई फ्रेण्डस फोन नम्बर।

‘हाउ इट क्यान वी? दिस इज हाउस ओनर नम्बर, एण्ड ही इज एन ओल्ड म्यान,’ ताराले भनिन्।

‘प्लीज से मी हिज नेम’,  मैले भनेँ।

ओह, (हि इज अ फेमस आर्टिस्ट (युवतीले यति भनिनसक्दा नै मैले मेरो प्यारो दाइको नाम सम्झिसकेको थिएँ) ही नट लाइक टू गो आउटसाइड, यु क्यान से ही क्लोज्ड हिमसेल्फ इन हिज रुम।’

सेचेन मोनस्ट्रीको भर्‍याङ उक्लिँदै मैले भनेँ, ‘यस डियर ही इज माई फ्रेण्ड, नाट ओन्ली फ्रेण्ड, माई मोटिभेटर, माई मेन्टर, वान एण्ड ओन्ली मनुज बाबु मिश्र।’

‘ओह द्याट ग्रेटम्यान इज योर फ्रेण्ड’, उनले विस्मय मान्दै भनिन्।

मनुज दाइको भौतिक अवसानको खबर पाएँ। अब मृत्यु मेरो लागि चिन्तन, मनन्, दुःख, अबसाद वा कुनै किसिमको भाव उद्दीपन गराउने विषयवस्तु रहेन। सबै किसिमका मृत्यु, सबै मानिसको मृत्यु ब्रहमाण्डीय संरचनाको चक्रीय प्रक्रिया हो मेरो लागि।

मनुज दाइको स्मृतिमा केही लेखौँ भन्ने भाव उठ्यो। कहाँबाट प्रारम्भ गरौँ भन्ने विचारमा तीन दिन बिते। उहाँले ‘स्वप्न सम्मेलन’ लेख्दा ताका ‘अरिस्टोटल बारे गरिएको परिचर्चाबाट सुरु गरौँ कि, ‘एैजेरुको मृत्यु कविता प्रसंङ्गबाट’ शुरु गरौँ, वा एउटा प्राज्ञले उहाँको कृतिमाथि गरेको समीक्षा (जसले उहाँलाई व्यथित बनाएको थियो) बाट, वा स्वर्गीय गोविन्द भट्टसँग भेट्न जाँदा उहाँले तत्कालै बनाएको भट्टजी ‘स्केच’ बाट प्रारम्भ गरौँ आदि आदि विकल्प मस्तिष्कमा आइरहेका थिए। तर मैले ‘रशियन’ मित्र तारालाई लेख प्रारम्भ गर्ने हेतु रोजेँ।

सन्यासी बनेर हिँडेपछि मैले आफ्ना पूर्व परिचितहरुसँग सम्बन्ध, भेटघाट पूर्णतया: निषेध गरेको थिएँ। यो प्रवाह पुनः ताराले जोडिन्। उनले त्यही साँझ मनुजदाइ भेटेर मेरा बारेमा भनिदिइन्। भोलिपल्ट नै मलाई मनुज दाइले फोन गरेर भेट्ने निमन्त्रणा दिनुभयो।

ओ, अनन्त यात्रामा प्रस्थान गरिसक्नु भएका मनुज दाइ! तपाईँले त ताराको त्यति गुन पनि (हामी दुवैको पुनर्भेट गराएको) तिरेर जानुभयो। तारासँग विगत पाँच वर्षदेखि मेरो सम्पर्क छैन, तपाईँको प्रस्थानले उनीसँगको मेरा सबै याद ताजा गराइदियो।

मलाई सन्यासीको रुपमा देख्नासाथ मनुज दाइले भन्नुभयो, ‘मलाई कुनै अचम्म लागेन अच्युत भाइ! तपाईँले आफ्नो आचारविचार अनुसारको जीवनशैली रोज्नु भयो।’ कति सहज शब्दमा उहाँले मेरो नयाँ रुपलाई सहमतिको मोहर लगाइदिनुभयो।

लेखन र पत्रकारिता एवम् दर्शन मिमांसाको प्रारम्भिक रुचिताका नै उहाँसँग भेट भएको थियो। उनी दर्शनका ठेली थिएनन् मेरा लागि, उनको नै जीवन पद्धति र आचरण नै जीवन्त दर्शन थियो। एउटा व्यक्ति आफ्नो स्वेच्छाले (दुनियाँको नजरमा) एउटा सानो परिधिमा कैद हुन्छ। सामान्य आँखा र चेतनाले यति मात्र दृष्टिगोचर हुन्छ। तर त्यो कोठामा ब्रह्मान्ड आफ्नो सम्पूर्णताले त्यस अजेय कला र जीवन साधकको पाद प्रक्षालन हेतु हाजिर हुन आएको प्रमाण त ‘ड्रिम एसेम्बली’ (स्वप्न सम्मेलनको अंग्रेजी अनुवाद) नै हो।

मनुज दाइको संगत नभएको भए शायद मैले जीवनमा लामालामा उपवास एवम् एकान्तबास गर्ने आँट गर्ने थिइन। ताराले तीन वर्ष साइबेरियाको हिउँमा बिताउने साहस गर्ने थिइनन्। साँच्चै भन्ने हो भने मेरो काव्य अनुभूति त्यति व्यापक छैन। म सबै कविता न त बुझ्छु, न त मन नै पराउँछु। मेरा लागि केही व्यक्तिको सहचर्य नै कवितामयी हुन्छ। मनुजदाइ तीमध्ये एक हुनुहुन्थ्यो। बिहान ११ बजे उहाँलाई भेट्न पुग्यो, बेलुकीको सात बज्दा ‘होइन आज पृथ्वी आफ्नो अक्षमा कति छिट्टै घुमेको जस्तो भान हुन्थ्यो।’ र, औसतमा प्रत्येक एक घण्टाको फरकमा उहाँको अर्धाङ्गिनी तथा रविन्द्र मिश्रको आमा चिया र खाने कुरा लिएर आइ पुग्नु हुन्थ्यो। (मनुजदाइका छोरा रवीन्द्र कुनै समय पत्रकार थिए भने अहिले नेता बनेका छन्)।

एउटा झेन दृष्टान्तको सम्झना आउँछ। कुनै एउटा मोनास्ट्रीका गुरुले एउटा प्रश्न सोधे शिष्यहरुसँग, ‘मन के हो?’ यसको जवाफ ‘ग्यालरी’को ‘ब्ल्याकबोर्ड’ मा जसले जुनबेला पनि लेख्न सक्ने स्वतन्त्रता थियो। गुरु प्रत्येक दिन ‘ग्यालरी’ मा पुगेर हेर्थे तर कुनै शिष्यले उत्तर लेख्ने चेष्टा गरेनन् र गुरु निराश भएर फर्किन्थे, उनले अब शिष्यहरुबाट उत्तर आउने आशा परित्याग गरिदिए। केही दिन पश्चात् एउटा शिष्यले उनलाई ‘ब्ल्याक बोर्ड’मा उत्तर लेखिएको सूचना दिए। उनी उत्साह र उमंगसाथ ‘ब्ल्याक बोर्ड’ तिर दौडिए। उत्तर पढेर उनी सोझै ‘किचेन’ मा गए र त्यहाँ काम गर्ने केटालाई बाटो खर्च दिँदै अविलम्व ‘मोनास्ट्री’ बाट भाग्ने निर्देशन दिँदै भने, ‘मलाई थाहा छ, त्यो उत्तर तिमीले लेखेको हो र म यसले चिन्तित छु। अब यस ‘मोनास्ट्री’ मा तिम्रो जीवन सुरक्षित छैन, मेरो ज्ञानी शिष्यहरुबाट तिम्रो हत्या हुन सक्छ। तिमी यहाँबाट गइहाल।’ मनुजदाइसँग पनि त्यो भान्से केटोले लेखेको जस्तै उत्तर थियो, उहाँले भागेर जाने ठाउँ थिएन, उहाँले आफूलाई कैद गर्नु भयो।

केही पाठक निश्चय पनि भान्से केटोको उत्तर के थियो, जान्ने उत्कन्ठामा हुनुहुन्छ होला। मैले जानेर झेन कथाको उत्तर उल्लेख गरिन। किनकि अब त्यो उत्तर पनि परम्परागत र ‘बुकिस नलेज’ मा परिणत भइसक्यो। परम्परागत ज्ञानले तपाईँको तृष्णा र क्षुधा शान्त हुने भए वेद सर्वोच्च नै थिए, पुराण किन लेखिए? पुराण समग्र र सर्वमान्य थिए, उपनिषद किन पल्लवित भए? उपनिषद, वेदान्त, अद्वैत, द्वैत, द्धैताद्धैत हुँदै चिन्तनको अजस्र प्रवाह किन सतत भइरह्यो? ज्ञानाग्निको प्रकृति नै यस्तो छ, उत्पन्न भएको बेला समस्त तिमिरलाई भस्मीभूत, गरेर स्वयं पनि भस्मीभूत हुन्छ। र, तत्पश्चात् बाँकी खरानी मात्रै रहन्छ। त्यो खरानीमा ज्ञानाग्निको केही अवशेष पनि शेष हुन्नन्। टैगारले ‘एकला चलो, एकला चलो, एकला चलो रे’ कवि हुने रहरले होइन, जीवन भोगाइको परिणाम स्वरुप गाएका हुन्।

मनुज दाइ! तपाईँको यस भाइसँग ‘मुक्ति’, ‘मोक्ष,’ ‘बैकुण्ठबास’, ‘कैवल्य’ ‘निर्वाण’,‘स्वर्ग’, ‘जन्नत’, ‘कयामतको दिन’ प्रति फिटिक्कै विश्वास छैन । ‘साइनो– ब्याक्टेरिया’ बाट प्रारम्भ भएको अक्सिजनमयी जीवन संरचना वा प्रणालीभन्दा पहिला पनि तपाईँ र म थियौँ। सूर्यको २० औं फन्को .(ग्यालेक्टिक इयर) मा भएको हाम्रो भेटको ‘दास्तान’ नै त सम्झिरहेछु म! सूर्यले अझै २०–२१ पटक ‘मिल्की वे को ग्यालेक्टिकल सेन्टर’ घुम्न बाँकी नै छ। तपाईँ र म भएनौँ भने सूर्यले न्यास्रो अनुभव गर्नुपर्छ।

मनुजबाबु मिश्रले बनाएको आफ्नै पोट्रेट।

सूर्यलाई एक्लै छाड्ने प्रावधान छैन र हामीलाई यो स्वतन्त्रता पनि छैन। आउनुस्, आफूलाई मन पर्ने रुप, आकार, देश, परिवेश रोजेर आउनुस्, कुनै न कुनै रुपमा यो भाइसँग भेट हुने नै छ। हो हाम्रो यस योनीको सम्बन्ध र भेटघाट यति नै रहेछन्। विगत एक वर्षको आफ्नो नालायकीपनप्रति भने खेद छ, काठमाण्डूमा हुँदाहुँदै पनि तपाईँलाई भेट्न आइन।

पुनश्चः एक दिन ताराले फोन गरेर बोलाइन् र मलाई केही रुपैयाँ दिँदै भनिन्, ‘प्लिज व्रिंग हाफ बोतल अफ एनी गुड व्हिस्की एण्ड सम स्नैक्स।’ म दोधारमा परेँ, सन्यासी पहिरनमा रक्सी किन्न कसरी जाउँ?

आलटाल गर्ने हेतुले सोधे, ‘व्हाई अल्कोहल? डिड् यू फिनिश चरेश?’ उनी चरेशको राम्रो उपभोक्ता थिइन्। यदाकदा म पनि उनलाई साथ दिन्थें।

‘ओह डियर ट्राइ टू अन्डरस्ट्यान्ड, दिस इज नट फर अस। टुडे इज फादर्स डे, आइ वान्ट टू गिफ्ट इट टु माइ नियरेस्ट फादर, टु मनुजबाबु टुनाइट।’

रक्सी पसल गएर जीवनमा अन्तिमपटक रक्सी मनुजदाइलाई ‘गिफ्ट’ गर्न किनेको स्मरण आज पुनः ताजा भयो। साँझमा तारा र म उहाँ बस्ने कोठामा गयौँ। ताराले दाइलाई अंगालो हाल्दै ‘ह्याप्पी फादर्स डे’ भनेर ‘गिफ्ट’ दिइन्।

ताराले ‘मार्क’ गरिन् कि गरिनन्, ती कलाकारले बग्न लागेको अश्रुलाई कुनै नयाँ ‘पेटिंग’ श्रृजना गर्न हेतु निपुणतासाथ नयनमै संचित गरें।

(मनुजदाइले मलाई कहिल्यै ‘ज्ञान मित्र’ सम्बोधन गर्नु भएन। म उहाँको लागि सधैँ अच्युतभाइ नै रहेँ।)

साउन ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्