एउटै खेलमा ९ गोल, ऐतिहासिक पुनरागमन

युरोपा लिग फुटबलको इतिहासमा जेनिट सेन्ट पिटर्सबर्गले पछिल्लो ३३ वर्षमा सबैभन्दा उत्कृष्ट पुनरागमन गरेको छ । पहिलो लेगमा ४-० ले पराजित भएर पनि जेनिटले दोस्रो लेगमा प्रभावशाली पुनरागमन गरेको हो ।

उसले बिहीबार राति भएको दोस्रो लेगमा डिनामो मिन्स्कलाई ८-१ ले हराउँदै अघिल्लो चरणमा समग्रमा ८-५ को जितसहित स्थान पक्का गरेको छ ।

रुसी क्लबलाई बेलारुसको क्लबले पहिलो लेगमा निराश पारेको थियो । तर दोस्रो लेगमा १८ मिनेट १० खेलाडीमा सीमित भएर पनि जेनिटले जित निकाल्यो ।

७२ औँ मिनेटमा लिएनड्रो पारिडेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि जेनिट १० खेलाडीमा सीमित भयो । उनले टिमका लागि २२ औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै नोबोएले ६६ औँ मिनेटमा गोल गरेका थिए । थप ६ गोल त्यसपछि भयो ।

घरेलु मैदानमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नायक बनेका रुसका अर्तेम डिज्युबाले यो खेलमा ह्याट्रिक गरे । उनले ७५ र ७८ औँ मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो । डिनामोका लागि ९९ औँ मिनेटमा याहायाले एक गोल फर्काए ।

त्यसपछि जेनिटका लागि १०९ औँ मिनेटमा ड्रिउसीले गोल गरे भने ११५ औँ मिनेटमा डिज्युबाले गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै माकले अतिरिक्त समयको इन्जुरी समयमा दुई गोल गरे ।

इन्जुरी समयमा डिनामोका श्भेट्सोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टिम १० खेलाडीमा सीमित भएको थिए । यो जितसँगै जेनिट युरोपा लिग छनौटको चौथो चरणमा प्रवेश गरेको छ ।

यसअघि सन् १९८५ मा युइएफए कप अन्तर्गत पहिलो लेगमा बोरुसिया मोनचेंग्लाड्बाचसँग ५-१ ले पछि परेर पनि रियल मड्रिले दोस्रो लेगमा बराबरी गर्दै अवे गोलका आधारमा अन्तिम १६ मा पुगेको थियो ।

भदौ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्