अलबिदा

अरिथा फ्र्यांकलिन : अस्ताइन् द क्वीन अफ सोल

द क्वीन अफ सोलको रुपमा परिचित अमेरिकी गायिका अरिथा फ्र्यांकलिनको निधन भएको छ । ७६ वर्षको उमेरमा अरिथाको डिट्रोइटमा निधन भएको सिएनएनले जनाएको छ ।

४४ पटक ग्रामी अवार्डमा मनोनयनमा परेकी अरिथाले १८ पटक अवार्ड जितेकी थिइन् । बुवाको चर्चबाट गाउन सुरु गरेकी अरिथाका गीतले राष्ट्रिय एकताका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । उनले सन् १९६७ मा पहिलोपटक ग्रामी अवार्ड जितेकी थिइन् ।

उनले तीन अमेरिकी राष्ट्रपतिको शपथग्रहण समारोहमा गायकी थिइन् । उनले जिम्मी कार्टर, बिल क्लिन्टन र बाराक ओबामाको शपथग्रहण समारोहमा गीत गायकी थिइन् ।

उनी नागरिक अधिकारको वकालतका कारण चर्चित थिइन् । उनलाई इतिहासकै सर्वोत्कृष्ट गायिका मध्ये एकको रुपमा लिने गरिएको छ ।

उनको निधनमा विश्वभरबाट समावेदना र श्रद्धाञ्जली समर्पण भएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व प्रथम महिला हिलारी क्लिन्टनले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । यस्तै पूर्व राष्ट्रपति ओबामाले पनि श्रद्धाञ्जली अर्पण गर्दै अरिथाले अमेरिकी अनुभवलाई परिभाषित गरेको बताएका छन् ।

अरिथाका रेस्पेक्छट, आई से लिटल प्रेयरसहितका धेरै गीत लोकप्रिय छन् । उनले सात दशकको सांगीतिक जीवनमा धेरै हिट गीत दिइन् ।

अरिथालाई सन् २०१० मा क्यान्सरको उपचार गरिएको थियो । उनले गएको वर्ष संगीतबाट बिदा लिएको घोषणा गरेकी थिइन् ।

भदौ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्