फेसबुकको लभले झण्डै…

नेपालगञ्ज – काठमाडौंमा बस्ने ओखलढुंगाकी युवती। सुर्खेतका केटासँग फेसबुकमा जोडिइन्। केटाले पटक–पटक अनुरोध गरेपछि युवतीले साथी बनाइन्।

कुराकानी हुँदै गयो। मायाप्रेम झाँगियो। भारतमा दुई लाख रुपैया मासिक कमाउने, हुनेखानेको छोरा भएको केटाले गफ दिन्थ्यो। केटाले केटीलाई भेट्ने कुरा गर्‍यो। काठमाडौंमै आउँछु भन्यो। केटीले नभेट्नका लागि विभिन्न बहाना बनाएपनि केटा काठमाडौं पुग्यो। होटलमा भेट्न बोलायो। भेट्न नआए त्यहीँ आउने केटाको जिद्दीले गर्दा केटी होटलमा भेट्न आइन्।

केटाले केटीलाई केही दिन होटलमा राख्यो। होटलमा उनीहरु मानसिक र शारीरिक रुपमा नजिकिए। केटीलाई बाहिर निस्किन दिएन। काठमाडौंको दोस्रो भेटमा केटाले केटीलाई विवाह गर्न दबाब दियो। गोरखाको मनकामना हुँदै घर जाने बताएर काठमाडौंबाट ल्यायो।

उसले केटीलाई मनकामना लगेन। सिधै आफ्नो घर बताएर सुर्खेतमा पुर्‍यायो। एक दिन सुर्खेतमा राख्यो। त्यो घर उसकै हो कि होइन केटीलाई थाहा छैन। काठमाडौंबाट हिँड्दा नै केटाले केटीको मोबाइल फुटाइदिएको थियो। सिम भाँचिदिएको थियो। घरपरिवारलाई सम्पर्क गर्न दिएन। एक दिन सुर्खेतमा बसेपछि केटी खुब रोई। घर पुर्‍याइदे भन्न थाली। भोलिपल्ट नै केटाले ओखलढुंगा पुर्‍याइदिने भन्दै केटीलाई नेपालगञ्ज पुर्‍यायो। नेपालगञ्ज हुँदै भारत लैजाने क्रममा नाकामा मानव बेचबिखन गर्ने संस्थाले नियन्त्रणमा लिए। प्रहरीको सहयोगमा केआई नेपालले केटीलाई केरकार गर्दा वास्तविकता खुल्यो। फेसबुकबाट लभ परेको केटाले उनलाई भारततिर जोखिमपूर्ण यात्रा गराइरहेको थियो।

प्रहरी र केआई नेपालले केही दिन दुवैलाई केरकार गरे। केटाको नियत ठिक देखिएन। केटीलाई उसले गरेको व्यवहार र भारततिर लैजान थालेको घटनाले उसले बेचबिखन गर्न थालेको प्रहरीले आशंका गरेको छ।

केटाको विरुद्धमा काठमाडौं जिल्ला अदालतमा बिहीबार नै जबरजस्ती करणी तथा मानव बेचबिखिनविरुद्धमा मुद्दा दायर गरिएको छ। केआई नेपाल, नेपालगञ्जकी इन्चार्ज अपना भट्टले केटीलाई लिएर काठमाडौं गएकी छन्। केटीलाई अभिभावकको जिम्मा लगाइएको छ।

‘फेसबुकबाट लभ’ गर्दा झण्डै बेचिनु परेको केटीलाई महसुस भएको केआई नेपाल, नेपालगञ्जकी इन्चार्ज भट्टले बताइन्।

भदौ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्